म्याग्दी । म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन करिब २५ प्रतिशतले वृद्धि भएको छ । सुन्तला म्याग्दीमा बिक्री हुने प्रमुख कृषि उपज हो ।
गत वर्षको तुलनामा यसपाली सुन्तला उत्पादन २४.७० प्रतिशतले वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सञ्जिव बाँस्तोलाले नयाँ बगैँचा विस्तार, अनुकूल मौसम र रोग कीराको समस्या नियन्त्रण भएकाले सुन्तलाको उत्पादन बढेको बताए । ‘गतवर्ष तीन हजार ६०० मेट्रिकटन सुन्तला उत्पादन भएको म्याग्दीमा यो वर्ष चार हजार ७ सय ८१ मेट्रिकटन उत्पादन भएको छ’, उनले भने ‘म्याग्दीका कृषकले यसवर्ष ३३ करोड ४६ लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका छन् ।’
सरदर प्रतिकिलो ७० का दरले सुन्तला बिक्री भएको छ । यसवर्ष प्रतिहेक्टर ११.२५ मेट्रिकटनका दरले सुन्तला उत्पादन भएको केन्द्रका प्रमुख बाँस्तोलाले बताए । गत वर्ष प्रतिहेक्टर आठ दशमलव छ मेट्रिकटनका दरले सुन्तला उत्पादन भएको थियो ।
जिल्लाभर ८ सय १० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएकामा ४२५ हेक्टरमा फल लाग्ने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । गतवर्ष २४ करोड मूल्य बराबरको सुन्तला बिक्री भएको थियो । कृषि ज्ञान केन्द्रका प्राविधिकहरुले ‘क्रप कटिङ’ विधिबाट सुन्तलाको उत्पादनको अवस्थाको बारेमा उत्पादनको अवस्था पहिचान गरेका हुन् । उत्पादन दिने बोट थपिएको र मौसमले साथ दिएकाले सुन्तला उत्पादन बढेको मङ्गला गाउँपालिका–३ दहका कृष्णलाल सापकोटाले बताए ।
राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा २०० भन्दा बढी सुन्तला बगैँचा छन् । जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिन लगायतका बजारमा सुन्तला बिक्री हुने गरेको छ । यातायात सुविधा भएकाले व्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै आउने गरेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय तहको कृषि शाखाले सुन्तलाका बिरुवा वितरण, प्राविधिक तालिम, बगैँचा व्यवस्थापन, साना सिँचाइ र बजारीकरणमा सहयोग गर्दै आएका छन् । यसवर्ष ४०० रोपनीमा सुन्तला बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन र थप ४० रोपनीमा खेती विस्तार गर्ने कार्यक्रम रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्