काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले जारी आन्दोलन भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि भएको दाबी गरेका छन् । राजसंस्था र हिन्दुराज्य पुर्नस्थापनाको मागसहित आन्दोलनरत राजावादीहरुद्वारा सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो दाबी गरेका हुन् ।
उनले सुशासन र राजसंस्था पुन: स्थापना निमित्त सुशासनकै माध्यमबाट आर्थिक समृद्धिका लागि जनआन्दोलन भइरहेको दावी गरे । अध्यक्ष थापाले जनआन्दोलनमा देखिएको उत्साह, समर्थन र सहभागिताबाट भ्रष्ट सरकार आत्तिएको र विचलित भएको बताए ।
उनले प्रजातान्त्रिक नेपालको इतिहासमा पहिलोपटक सिंगो काठमाडौं महानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गर्न सरकार बाध्य भएको दाबीसमेत गरे । उनले निषेधित क्षेत्र घोषणा गर्दैमा आन्दोलन समाप्त हुन्छ भनेर सोचेको हो भने त्यो भ्रमबाट मुक्त हुन सरकारलाई आग्रह गरे ।
उनले भने, ‘भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि । सुशासन र राजसंस्था पुर्नस्थापना निमित्त सुशासनको माध्यमबाट आर्थिक समृद्धिका निमित्त भइरहेको यो जनआन्दोलनमा देखिएको जनताको उत्साह, समर्थन र सहभागिताबाट भ्रष्ट सरकार आत्तिएको छ । विचलित भएको छ । त्यही कारणले गर्दा प्रजातान्त्रिक नेपालको इतिहासमा पहिलोपटक सिंगो काठमाडौं महानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गर्न बाध्य भएको छ ।’
‘निषेधित क्षेत्र घोषणा गर्दैमा आन्दोलन समाप्त हुनेछ भनेर यदि भ्रष्ट शासकहरुले सोचेका छन् भने त्यो भ्रमबाट मुक्त हुन आग्रह गर्न चाहन्छु । जुन ढंगबाट दमन गर्ने दु:शाहस गर्यो त्यसको म घोर भत्र्सना र निन्दा गर्न चाहन्छु । म आम सञ्चारमाध्यमका साथीहरुलाई, मानवअधिकारका साथीहरुलाई आग्रह गर्न चाहन्छु कि हामीले त्यो दिन निषेधाज्ञा तोडेका थिएनौं । निषेधित क्षेत्र तोडेका थिएनौं । कानुनको उल्लंघन गरेका थिएनौं । अघिल्लो दिन गरेकै स्थानमा आफूहरुले कार्यक्रम गरेका थियौं । तर यो भ्रष्ट सरकारले प्रतिबन्ध लगाउने दुष्प्रयास गर्यो’ उनले बताए ।
उनले जनआन्दोलनका क्रममा सरकारले लिएको दमनको नीतिको निन्दा गर्दै आफूहरुले निषेधित क्षेत्र नतोडेको र कानुनको समेत उल्लंघन नगरेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्