काठमाडौं । अहिले देशमा काँग्रेस–एमाले गठबन्धनको विकल्पको खोजीले राजनीति तातिरहेको छ । काँग्रेस–माओवादीसहितको २०७९ को चुनावी गठबन्धन ब्युँताउने प्रयास जारी छ भने एमालेले अहिलेको गठबन्धनको निरन्तरताका लागि प्रयास गरिरहेको छ । आफु इतरको गठबन्धन बन्ने अवस्थामा प्रधानमन्त्री ओलीले काँग्रेस बाहेकको गठबन्धनका लागि समेत प्रयास गरिरहेको स्रोतहरु बताउँछन् ।
यतिबेला प्रधानमन्त्री केपी ओली आफ्नै पार्टी भित्र पनि संकटमा पर्दै गएका छन् । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी महाधिवेशनबाट अध्यक्ष बन्ने घोषणासहित एमाले राजनीतिमा फर्किएको बताईसकेकी छिन् । त्यसो त अहिले नै ओली एमाले पदाधिकारीमै पनि अल्पमतमा परिसकेका छन् । आफू नेतृत्वको सरकार र पार्टीभित्रै पनि आफ्नो विकल्पको खोजी सुरुभएपछि प्रधानमन्त्री ओली यतिबेला निकै रक्षात्मक अवस्थामा पुगेका छन् ।
एमालेको आगामी महाधिवेशन अघि नै आफु नेतृत्वको सरकार ढाल्ने कसरत सुरुभएपछि ओलीले काउन्टर प्लान बनाउन थालेको स्रोतहरुको दावी छ । ‘ओली सकेसम्म महाधिवेशनसम्म प्रधानमन्त्री नै कायम रहन चाहान्छन्, त्यो सम्भव नभए प्रमुख सत्ता साँझेदारका रुपमा रहने उनको योजना देखिन्छ’, एमाले संस्थापन इतरका एक नेताले सिंहदरबारसँग भने ।
ओलीले महाधिवेशन अघि नै आफुलाई सरकारबाट हटाएर विद्या भण्डारी लगायतले पार्टी कब्जा गर्न खोजेको निष्कर्षसहित सत्तामा कायम रहने योजना बनाएको उनी इतर पक्षका नेताहरुको दावी छ ।
ओलीको पहिलो प्रयास भने आफैं प्रधानमन्त्री कायम रहने हो, त्यो सम्भव नभएमा सत्ताको प्रमुख साँझेदारका रुपमा अडिने हो । त्यसका लागि ओलीले काँग्रेससँग नै अहिलेको गठबन्धन कायम राख्ने, माओवादी लगायतसँग मिलेर फेरि बामपन्थी झुकावको नयाँ गठबन्धन बनाउने र अन्तिम विकल्पका रुपमा अहिले नै देउवालाई कुर्सी छाडेर आफु प्रमुख सत्ता साँझेदारका रुपमा रहनेबारे आफु निकटस्थहरुसँग बिमर्श गरिरहेको स्रोतहरुको दावी छ ।
स्रोतहरुका अनुसार ओलीले युरोप उड्नु अघि चुनावी सरकारको नेतृत्व पाउने गरि अहिले नै देउवालाई प्रधानमन्त्री छाड्न तयार रहेको सन्देश पठाएका थिए ।
‘अहिले नै शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने, देउवाले ढेड बर्ष चलाएपछि चुनावी सरकारको नेतृत्व आफुलाई दिनुपर्ने सन्देश पठाउनु भएको बुझेका छौं ।’, एमाले उच्च स्रोतले सिंहदरबारसँग भन्यो । ओली युरोपबाट फर्कने वित्तिकै राजनीतिमा नयाँ अध्याय सुरु हुने आंकलनहरु भैरहेका छन् ।
सबै मन्त्री फिर्ता बोलाउने उपायले कामै गरेन
ओलीले बजेट ल्याउने वित्तिकै मन्त्रीमण्डल पुनर्गठनको प्रस्ताव गरेको स्रोतहरु बताउँछन् । अहिलेका सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरु नियुक्ती गरेर तत्कालका लागि सरकारमाथिको संकट हटाउने ओलीको योजनालाई देउवाले नै अस्विकार गरेका थिए ।
दबावमा देउवा
काँग्रेस सभापति शेर बहादुर देउवामाथि पनि एमालेसँगको गठबन्धन तोड्न तिब्र दबाव छ । प्रमुख राजनीतिक प्रतिष्पर्धी दल एमालेसँग मिलेर सरकार चलाउँदा पार्टी कार्यकर्ताको मनोविज्ञान कमजोर भैरहेको भन्दै देउवामाथि उनी निकट नेताहरुले नै गठबन्धन तोड्न दबाव बढाईरहेका छन् । त्यसो त अहिलेको सरकारले गरेका अधिकांश अलोकप्रिय निर्णयहरुको भारी काँग्रेसले बोक्नु परिरहेको भन्दै काँग्रेसभित्र उकुसमुस बढिरहेको देखिन्छ । ओलीले गठबन्धनप्रति इमानदारिता देखाउँदै एक बर्षपछि देउवालाई सत्ता नछाड्ने निष्कर्षमा पनि देउवाको कोर टिम पुगिसकेको बताइन्छ । नयाँ दलहरु जसरी नै काँग्रेस–एमाले नै मिसन ८४ को तयारीमा छन् । अहिलेको गठबन्धन कायम राखेर जाँदा ८४ सालमा पनि बामपन्थीहरुको गठबन्धन बन्न सक्ने भयले पनि काँग्रेस नेतृत्वलाई सताईरहेको छ । काँग्रेस नेताहरु कम्तिमा पनि माओवादीलाई एमालेको नजिक जानबाट रोक्नुपर्ने बुझाईमा छन् ।
प्रतिक्रिया दिनुहोस्