काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले एउटा कर्मचारीलाई अख्तियारले बोलायो भन्दैमा गृहमन्त्रीको राजीनामा मागेर संसद अबरुद्ध गर्नु लोकतन्त्रविरुद्ध भएको बताएका छन् ।
बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक घिमिरेले अख्तियारले कर्मचारीलाई किन बोलायो भन्नेसम्म पनि ज्ञात नभएको अवस्थामा गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको बताएका हुन् ।
उनले पुष्पकमल दाहाल नेतृत्वको सरकारका मुख्यसचिवमाथि अनुसन्धान र निलम्वन गर्दा दाहालले राजीनामा दिनुभएको थियो भन्दै प्रश्न गरे । बोलाइएका कर्मचारीलाई न थुनामा राखेको न कुनै मुद्दा अभियोजन गरेको न त बयान लिएको भन्दै यत्तिकैमा गृहमन्त्रीको राजीनामा माग्नु सरकारलाई असफल पार्ने षडयन्त्र भएको बताए ।
उनले भने, ‘गृहमन्त्रीको राजीनमा नआएसम्म संसद चल्न सक्दैन भनेर उहाँहरुको एकोहोरो ढिपी रह्यो । हामीले के भन्यौं भने जब कसैमाथि प्रश्न उठ्छ भने प्रश्नको बारेमा जवाफ दिन सफाई दिन जतिसुकै अपराधी भएपनि पाउँछ । त्यसमाथि पनि गृहमन्त्री खासमा प्रश्न पनि उठेको छैन अहिलेसम्म । न कुनै इन्स्टिट्युसनले प्रश्न उठाएको छ । अहिले एउटा कर्मचारीलाई अख्तियारले बोलायो, त्यो पनि किन बोलायो भन्ने पनि थाहा छैन । न हिरासतमा राखेको छ, किन बोलाएको भनेर अख्तियारले प्रष्ट्याएको छ । र, १० दिनपछि फेरि आउनुस् भनेर पठाएको छ । त्यो अवस्थामा गृहमन्त्रीको एक्कासी राजीनामा मागेर संसद अबरुद्ध गर्ने काम जुन ढंगले भइरहेको छ । यो विल्कुलै संसदीय अभ्यासको खिलाफमा छ । यो संसदीय लोकतन्त्रकै खिलाफमा छ भन्ने हाम्रो बुझाइ छ ।’
उनले अख्तियारले अनुसन्धानको प्रक्रियामा कसैलाई सोधपुछ गर्दैमा मन्त्रीले राजीनामा र जवाफ दिने हो भने हरेक दिन जवाफमात्र दिइरहनुपर्ने अवस्था रहने स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्