काठमाडौं । राष्ट्रिय सभामा नेपाली काँग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले गैरआवासीय नेपाली (एनआरएन) लाई वंशजको आधारमा नागरिकता दिनुपर्ने बताएकी छन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले एनआरएन पनि नेपाली नै भएकाले वंशजको नागरिकता दिनुपर्ने माग गरिन् । उनले एनआरएन विदेशमा काम गर्न गएका र नेपालमा आउँदा भिसा लाग्ने प्रणाली हटाउनुपर्ने बताउँदै सरकारले अध्यादेशमार्फत ल्याएको आमाको नामबाट नागरिकता पाउने कुरा स्वागतयोग्य रहेको बताइन् ।
उनले आर्थिक स्थिति वृद्धि गर्नका लागि धेरै कानूनहरु निर्माण गर्न जरुरी रहेको बताउँदै भनिन्, ‘आमाको नामबाट नागरिकता बन्ने जुन अध्यादेश आएको छ । यो एकदमै राम्रो छ । एनआरएनका साथीहरुलाई पनि वंशजको नागरिकता दिनुपर्छ । किनभने उनीहरु नेपाली हुन् । विदेशमा काम गर्नको निम्ति गएका हुन् । उनीहरुलाई वंशजको नामबाट नागरिकता दिनुपर्छ र नेपालमा आउँदाखेरी आफ्नो देशमा भिसा लाग्ने सिस्टम हटाउन आग्रह गर्दछु । आर्थिक स्थिति वृद्धि गर्नका लागि हामीले धेरै कानूनहरु निर्माण गर्नुछ । ४० वटा जति विधेयक, त्यत्तिकै अल्झिएर रहेका छन् । विधेयक पास गर्नु मात्रै ठूलो कुरा होइन, कार्यान्वयन गर्नुपर्छ ।’
उनले दुई दलले मात्रै संविधान संशोधन हुन नसकेपनि सबै राजनीतिक दलहरुसँग छलफल गरेर संविधान संशोधन गर्नुपर्ने बताइन् । संविधान संशोधनमार्फत नागरिकलाई सहज सेवा दिनु सबै राजनीतिक दलहरुको भुमिका महत्त्वपूर्ण हुने बताइन् ।
प्रतिक्रिया दिनुहोस्