काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै गर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले केही समय लाग्नसक्ने तर अन्तत: नेतृत्व नयाँ पुस्तामै जाने बताउँदै मुलुकमा थुप्रै कामहरु गर्न बाँकी रहेको जनाए । उनले धेरै गर्नुपर्नेछ सकिँदैन भन्ने सोच राखेर पलायन हुनु भन्दा अरुले गरेनन् म गर्छु भन्ने भावनासहित अघि बढ्न आवश्यक रहेको बताए ।
उनले समस्या सबैलाई थाहा भएपनि त्यसको समाधान पहिचान गर्न नसकेको जनाउँदै त्यसैले अबको युवा पुस्ताले समस्या र त्यसको समाधानसहित राजनीतिमा आउनुपर्ने उल्लेख गरे ।
मन्त्री पौडेलले भने, ‘यो मुलुकमा थुप्रै विषयहरु छन् । धेरै गर्नुपर्नेछ, यो गर्न सकिँदैन भनेर पलायन हुने हो की,अरुले गर्न सकेनन्, म गर्दछु भनेर अग्रसरता देखाउने हो ? त्यसैले समस्या हामी सबैलाई थाहा छ । तर समाधान कसैलाई पनि थाहा छैन की जस्तो छ । त्यसैले समाधान दिनेगरी नेतृत्वमा आउने कोशिस गर्नुस् । जति नचाए पनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिन्छ । अफ्ठ्याराहरु हुनसक्छन् । अन्तत: नेतृत्व नयाँ विषयहरु ल्याउनेहरुकै पक्षमा जान्छ । नयाँ विषय ल्याउनेहरुकै आकर्षण बढेर जान्छ । तर म उमेरले कान्छो हुँ, मैले नेतृत्व पाउनुपर्छ भनेर प्राप्त हुँदैन ।’
मन्त्री पौडेलले विद्यार्थी संगठनहरुबीचमा एकता कायम गरेर अघि बढ्न सक्नुपर्ने भन्दै साझा मुद्दा पहिचान गरेर त्यस आधारमा अघि अघि बढ्नसक्ने स्थिति भए विद्यार्थी आन्दोलनले अहिले पनि राज्यमाथि हस्तक्षेप गर्नसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस्