काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुप्रति भ्रम छर्ने काम भइरहेको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुप्रति वास्तविक कुराहरु नभइ भ्रम छर्ने कामहरु भइरहेको गभर्नर अधिकारीको भनाई छ ।
साना कर्जाहरु बिस्तार गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै कुनैपनि वित्तीय संस्थाहरु समस्यामा भए त्यसको तथ्यांक राष्ट्र बैंकसँग हुने र सोहीअनुसारको कामहरुबाट संस्थालाई सुझाव दिने काम गरिरहेको बताए । गभर्नर अधिकारीले राष्ट्र बैंकले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई कुनै हालतमा पनि समस्यामा पर्न नदिने प्रतिवद्धता जनाए । कर्जा बिस्तारमा लाग्न बैंकहरुलाई आग्रह समेत गरे ।
उनले भने, ‘बैंकिङ आफैँमा कति चुनौतिपूर्ण छ यहाँहरु सबैलाई थाहा छ । कतिले अहिले बैंकहरु कुनै वित्तीय संस्थाहरु समस्यामा छन् की भनेर हल्ला फैल्याउने, अफवाह फैल्याउने, चाहिँदो-नचाहिँदो कुराहरु सोसल मिडियामा राख्ने । छोटो कुराहरु राख्यो, मिडियामा । वास्तविक कुराहरु आउँदैन । अनि मान्छेहरुलाई भ्रम छर्दिने काम खुब भइरहेको हामी देख्छौँ । कुनै संस्थामा समस्या भयो भने त्यसको डेटाहरु राष्ट्र बैंकमा हुन्छ । त्यसलाई कसरी व्यवस्थापन गर्न कुनैपनि वित्तीय संस्थालाई । हाम्रो कुनैपनि डिपोजिटरलाई राष्ट्र बैंकले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई हामी कुनै हालतमा पनि समस्यामा पर्न दिँदैनौँ । डिपोजिट समस्यामा पर्न दिँदैनौँ, त्यो हाम्रो एक खालको प्रत्याभुति नै हो ।’
गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थामा आउने उत्तारचढावलाई स्वभाविक रुपमा लिनुपर्ने बताए । नेपाल राष्ट्र बैंक कुनैपनि निक्षेपकर्तालाई घाटामा पर्न नदिने बताए ।
प्रतिक्रिया दिनुहोस्