काठमाडौं । आन्तरिक राजश्व विभागका महानिर्देशक मदन दाहालले आयुर्वेदिक औषधिको करको दरमा कुनै परिवर्तन नगरिएको स्पष्ट पारेका छन् ।
बुधवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै महानिर्देशक दाहालले आयुर्वेदिक औषधिमा नयाँ कर लगाइएको नभई अघिल्लो वर्षहरुदेखि लाग्दै आएको कर दरलाई मात्र निरन्तरता दिइएको बताएका हुन् ।
उनले स्थानीय उत्पादनको प्रवद्र्धन र संरक्षण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै अत्यावश्यक वस्तुमा कर छुट दिने नीति लिएको समेत बताए । उनले अत्यावश्यक वस्तुमा कर छुट दिने राज्यको नीति नै रहेको बताए । आगामी आर्थिक वर्षको बजेटमा स्थानीय उत्पादनलाई प्रवद्र्धन र संरक्षण गर्ने हिसावले छुर्पी, रुद्राक्ष लगायतमा लाग्ने करसमेत खारेज गरेको बताए ।
उनले भने, ‘अहिले आयुर्वेदिक औषधिमा भ्याट लगाएको भन्ने कुरामा कुनै सत्यता छैन । आयुर्वेदिक औषधिको करका दरमा कुनै परिवर्तन गरिएको छैन । विगतदेखि लागेको कुरालाई निरन्तरता मात्र दिएको हो । अत्यावश्यक वस्तुमा कर छुट दिने राज्यको नीति नै छ । त्यहीअनुरुप हामीले आन्तरिक उत्पादनलाई बढावा दिन र यस्ता औषधीजन्य र अन्य अत्यावश्यक वस्तुमा कर छुट दिने नीतिअनुरुप नै दरका रेटमा केही परिवर्तनहरु भएका छन् । यस वर्ष हामीले स्थानीय उत्पादनलाई प्रवद्र्धन र संरक्षण गर्ने हिसाबले छुर्पी, रुद्राक्ष लगायतमा लाग्ने भ्याट समेत खारेज गरेका छौँ ।’
अगामी आर्थिक वर्षको लागि बजेट निर्माणका क्रममा करका सम्बन्धमा सरकारको घोषित नीतिभन्दा बाहिर नगएको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्