काठमाडौं । नेपाल राष्ट बैंकले ५०० दरका २३ करोड थान नयाँ नोट छाप्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) एक सूचना जारी गर्दै ५०० दरका नयाँ नोट छाप्ने अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो ।
राष्ट्र बैंकले ५०० दरका नयाँ नोट प्रचलनमा ल्याउन छाप्न लागिएको जनाएको छ । नयाँ नोट छाप्न इच्छुक आपूर्तिकर्ताबाट राष्ट्र बैंकले गोप्य शिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको छ । इच्छुक आपूर्तिकर्ताले आउँदो मे ३ तारिखसम्म कार्यालय समयभित्र बोलपत्र पेस गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिबोलपत्र २० हजार रुपैयाँ अथवा १४४ अमेरिकी डलर, १३३ युरो वा ११२ पाउन्ट स्टेर्लिङ लाग्ने राष्ट्र बैंकले जनाएको छ ।
नोट छाप्न राष्ट्र बैंकले प्रिक्वालिफिकेसनअन्तर्गत ६ वटा विदेशी कम्पनीलाई छनौट गरिसकेको छ । यिनै प्रिक्वालिफिकेसनमा परेका ६ वटा कम्पनीहरुले बैंक नोट छाप्न राष्ट्र बैंकमा बोलपत्र पेस गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । यिनैमध्ये कम लागतमा बैंक नोट छाप्ने प्रस्ताव पेस गर्ने कम्पनीलाई राष्ट्र बैंकले बैंक नोट छाप्ने ठेक्का दिनेछ।
प्रतिक्रिया दिनुहोस्