Skip to content
Shikhar Insurance
National Life

राष्ट्र बैंकले स्थापना गर्यो ‘डिजिटल फाइनान्स इन्नोभेसन हब’, ‘नयाँ व्यापारको विषय राष्ट्र बैंकसँग छलफल गर्न सकिने’

Hyundai
NCELL
NIMB

 

काठमाडौं । राष्ट्र बैंकले ‘डिजिटल फाइनान्स इन्नोभेसन हब’ स्थापना गरेको छ । बैंकले नवप्रवर्तनकारी उपायहरुलाई वास्तविकतामा उतार्न हबको स्थापना गरेको हो ।

हब राष्ट्र बैंक अन्तर्गतको पेमेन्ट डिपार्टमेन्ट अन्तर्गत रहेको बैंकका सूचना अधिकारी सुमन न्यौपानेले जानकारी दिए । उनका अनुसनर पेमेन्ट डिपार्टमेन्ट अहिले स्थापना मात्रै भएको छ । अब यसको राष्ट्र बैंकले विस्तृत विकास गर्नेछ ।

प्रविधिको युगमा आइरहने नयाँ-नयाँ विषयलाई सम्बोधन गर्न बैंकले हब स्थापना गरेको हो । सुचना अधिकारी न्यौपानेले भने, “राष्ट्र बैंकको रेगुलेसनले सबै विषयलाई समेट्न सक्दैन, नयाँ-नयाँ विषय वस्तु आइरहेको हुन्छ फरक किसिमका प्रोडक्टहरु आइरहेका हुन्छन् । त्यसका लागि कमन खालको फोरम बनाउने भन्ने योजना हो । विशेषगरी नयाँ उपाय लिएर आउने व्यक्ति तथा संस्थालाई समेट्छ । डिजिटल फाइनान्सलाई नै सबैभन्दा धेरै महत्व दिएको छ । जसमा पोलिसीमेकर, निजी क्षेत्र, स्टार्ट अप बिजनेस गर्न चाहाने एकै ठाउँमा हुने गर्दछ ।”

नयाँ विषयमा आउने कानुनी अलझनको विषयमा पनि हबले छलफल गर्नेछ । उदाहरणका लागि कुनै एक व्यक्तिले नयाँ उपायकासाथ डिजिटल व्यापार वा उपायहरुको विषयमा काम गर्न लागेको छ भने उसलाई वर्तमान कानुनले सम्बोधन गर्दैन भने त्यस्तो कानुनको विषयमा हबले समाधानको उपाय खोज्नेछ । यसका लागि निजी क्षेत्र, अर्थ मन्त्रालय, राष्ट्र बैंकलाई एकै स्थानमा ल्याउने काम गर्छ ।

कुनैपनि देशको विकासका लागि इन्नोभेसन नै आवश्यक पर्ने अर्थविद डा.विश्वनाथ पौडेल बताउँछन् । सबै स्टार्टअप व्यवसाय सफल नै हुने भन्ने हुँदैन तर कुनै इन्नोभेसनले समग्र देशकै अर्थतन्त्रमा सकारात्मक प्रभाव ल्याउन सक्ने उनी बताउँछन् । उनले सिंहदरबारसँगको कुराकानीमा भने, “जुनसुकै देशका लागि इन्नोभेसन विकासको ठूलो औजार बन्न सक्छ, आविस्कारको सानो झिल्कोले पनि देशको अर्थतन्त्रमा महत्वपुर्ण प्रभाव पार्न सक्छ ।”

राष्ट्र बैंकले एक सूचना जारी गर्दै भनेको छ, ‘बैंकिङ तथा भुक्तानी प्रणालीका क्षेत्रमा आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्ने सन्दर्भमा यस क्षेत्रमा कार्य गर्ने वित्तीय नवप्रवर्तकहरुलाई विद्यमान नीतिगत एवम् नियामकीय व्यवस्थाबारे जानकारी गराउने, सरोकारवालाबाट प्राप्त हुने वित्तीय क्षेत्रका नवप्रवर्तनकारी प्रस्ताव र तिनले ल्याउन सक्ने अवसर एवम् चुनौतीको विश्लेषण गर्दै नियामकीय दृष्टिकोण, Non- binding Guidance, परामर्श एवम् सुझाव प्रदान गर्ने र नियामकसँगको सहज पहुँच विस्तार गरी नवप्रवर्तनलाई थप उत्प्रेरित गर्ने उद्देश्यले अन्य नियामक तथा सरोकारवाला निकाय र निजी क्षेत्रको समेत सहभागिता हुन सक्ने व्यवस्थासहित यस बैंकमा Digital Finance Innovation Hub स्थापना भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

 

GBIME

प्रतिक्रिया दिनुहोस्