Skip to content
Shikhar Insurance
National Life

८ प्रतिशत खराब कर्जा रहेको तथ्य राष्ट्र बैंकद्धारा स्वीकार, ‘बैंकर उत्साहित’

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुको खराब कर्जा ८ प्रतिशत पुगेको स्वीकार गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुका लागि निक्षेप आव्हान गर्दा खराब कर्जाको अनुपात ८ प्रतिशत पुगेको स्वीकार गरेको हो ।

अब ८ प्रतिशतसम्म ग्रस एनपीएल पुगेका बैंक तथा वित्तिय संस्थाहरुले पनि सरकारी कारोबार गर्न पाउनेछन् । अर्थात नेपाल सरकार, सार्वजनिक संस्थान र नेपाल राष्ट्र बैंकको निक्षेप लिन पनि पाउनेछन् । यस अघिसम्म राष्ट्र बैंक र अन्य सरकारी संस्थाहरुको निक्षेप स्वीकार गर्न तथा अन्य वित्तिय कारोबार गर्नका लागि ५ प्रतिशत भन्दा न्युन एनपीएल हुनुपर्ने व्यवस्था थियो ।

राष्ट्र बैंकले आइतबार आफुुसँग रहेको ४ अर्ब ७९ लाख रुपैयाँ निक्षेप राख्नका लागि बैंक तथा वित्तिय संस्थाहरुलाई आव्हान गरेको थियो । जसका सर्तहरुमध्येमा एउटा महत्त्वपूर्ण बुँदामा भनिएको छ–‘निष्क्रय कर्जा(एनपीएल) अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा(खुद एनपीएल) अनुपात ३ प्रतिशत ननाघेको ।’

यस अघि राष्ट्र बैंकले आफुसँग वित्तिय कारोबार गर्ने बैंकहरुका लागि एनपीएल अनुपात ५ प्रतिशत भन्दा कम भएको हुनुपर्ने सर्त राख्दै आएको थियो । राष्ट्र बैंकले ग्रस एनपीएल र नेट एनपीएलको व्यवस्था भने छुट्याएको थिएन् ।

बैंक तथा वित्तिय संस्थाहरु खराब कर्जा(एनपीएल)को भारले थिचिँदै गएको चर्चाका बिच राष्ट्र बैंकले घुमारो बाटोबाट त्यसलाई स्वीकार गरेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले भने एनपीएललाई निकै ठूलो इण्डिकेटरका रुपमा लिन छाडेको बताए । उनले अघि भने– ‘राष्ट्र बैंकले एनपीएललाई कुनै पनि कुराको इण्डिकेटर मानेका छैनौं, आफ्ना कर्मचारीहरुको पैसा निक्षेपका रुपमा राख्न लागेका हौं, यस अघि पाँच प्रतिशत भन्दा बढी एनपीएल भएकाहरुले राम्रो ब्याज दिन्छौं भन्दा पनि हामीले स्वकार गर्न सकेनौं । हामी आफैंले लाइसेन्स दिने, नियमन गर्ने भएपछि तिनै संस्थाहरुलाई कारोबार गर्न किन नपत्याउने भन्ने कुरा आयो । हामीले पैसा नराख्ने अनि नागरिकलाई पैसा राख्नुस भन्न मिलेन, त्यसकारण अहिले हामीले ग्रस एनपीएल ८ प्रतिशत भन्दा कम भएका संस्थाहरुमा निक्षेप राख्ने भनेका हौं ।’

ति कार्यकारी निर्देशकले भने बैंक तथा वित्तिय संस्थाहरुलाई आफ्नो एनपीएल खुला रुपमा सार्वजनिक गर्न प्रेरित गरिरहेको पनि बताए । उनले ७–८ प्रतिशत एनपीएललाई खासै ठूलो बिषयमा लिन नहुने पनि बताए ।

पुस मसान्तसम्मको तथ्यांक अनुसार बाणिज्य बैंकहरुको एनपीएल औषतमा ४.४९ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले अब भने ग्रस एनपीएल र खुद एनपीएल पनि छुट्याएर रिपोर्टिङ गर्नुपर्ने व्यवस्था पनि गरेको देखिन्छ ।

राष्ट्र बैंकले घुमारो बाटोबाट ८ प्रतिशत एनपीएलको आँकडालाई स्वीकार गरेपछि एक बाणिज्य बैंकका सीईओले सिंहदरबारसँग भने–‘राष्ट्र बैंकले नै ८ प्रतिशतको एनपीएललाई स्वीकार गरेपछि अब हामीलाई सजिलो भयो । यसले बैंकिङ क्षेत्रमा सत्यलाई स्वीकार गरेर सुधारको बाटोमा अघि बढ्न मदत गर्छ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्