काठमाडौं । ‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ यस वर्ष काठमाडौंमा हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मलेन गरेर बाह्रखरी मिडियाले वार्षिकरूपमा आयोजना गर्दै आएको कर्पोरेट गल्फ प्रतियोगिताबारे जानकारी गराएको हो ।
प्रतियोगिता यही चैत २३ ९अप्रिल ५०मा काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा आयोजना गरिनेछ । एनसेल बाह्रखरी गल्फको आठौँ संस्करणका रूपमा रहेको यस प्रतियोगितामा यस वर्ष करिब १२० जना कर्पोरेट खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन बिहान ८ बजे हुनेछ ।
प्रतियोगिता १८ होलमा स्टेबल फोर्ड फर्म्याटमा हुनेछ । यसको अर्थ कुनै पनि होलमा तोकिएको भन्दा बढी स्ट्रोक हान्न पाइने छैन । यस नियमले ठूलो प्रतियोगितामा समयको बचत गर्नेछ । प्रतियोगितामा भारत, अमेरिका, चीन, सिंगापुर, श्रीलंकाका गल्फरले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् । नेपालस्थित विदेशी नियोगका प्रतिनिधि पनि गल्फ प्रतियोगितामा सहभागी हुनेछन् ।
यसैगरी, प्रतियोगितामा काठमाडौंसहित पोखरा, धरान, चितवन, बुटवल, नेपालगन्जलगायत क्षेत्रका कर्पोरेट गल्फर, न्यायाधीश र केही सरकारी उच्च अधिकारीले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
कर्पोरेट क्षेत्रका खेलाडीबीच हुने प्रतियोगिता देशकै प्रतिष्ठित प्रतियोगिता भएको यसका ‘अल–राउन्ड’ विजेताले २४ क्यारेट सुनले बनेको गल्फ बल तथा अन्य पुरस्कार प्राप्त गर्नेछन् । साथै, अन्य विभिन्न विधामा विजेताले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
कुनै प्रतियोगीले तोकिएको होलमा एकै सटमा लक्ष्य प्राप्त गरे भने ‘होल इन–वन’ पुरस्कारका रूपमा बीवाईडीको ‘एट्टो थ्री’ गाडी प्राप्त गर्नेछन् । सोमबार कार्यक्रममा बाह्रखरी गल्फको मुख्य प्रायोजक एनसेल फर बिजनेसका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले बाह्रखरीसँगको सहकार्यलाई निरन्तरता दिएकोप्रति खुसी व्यक्त गरे ।
‘यहाँ उपस्थित हुन पाउँदा खुसी छु । यस अवसरका निम्ति बाह्रखरी मिडियालाई धन्यवाद । खेलसँगै इकोनोमिक सिम्पोजियम सँगै लैजानु एनसेलको मुख्य लक्ष्यसँग मेल खान्छ’ चिफ कमर्सियल अफिसर मोहसिनले भने ।
उनले अगाडि भने, ‘खेलमात्र नभई इकोनोमिक सिम्पोजियममार्फत देशको आर्थिक स्थितिबारे बहस चलाउँदै देशको अर्थतन्त्रलाई चलायमान बनाउन बाह्रखरीको यो कार्यक्रम महत्त्वपूर्ण छ । पछिल्लो केही वर्षयता बाह्रखरीसँग भइरहेको सम्झौतालाई फेरि निरन्तरता दिन पाउँदा एनसेल धन्यवाद व्यक्त गर्न चाहन्छ ।’
यस्तै, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले बाह्रखरीले गल्फमार्फत खेल पयर्टनलाई पनि प्रवर्धन गर्ने प्रयास गरेको बताए । उनले यसमा सरकारले पनि गल्फमार्फत पयर्टन प्रवर्धन गर्न आवश्यक कदम चाल्नुपर्ने मत राखे ।
‘सुरुआतमा बाह्रखरी गल्फको कुरा आउँदा यो कार्यक्रमले यसरी निरन्तरता पाउछ भन्ने सोचेको थिइनँ । गल्फ र आर्थिक परिसंवादलाई अघि बढाउनुभएको छ । यसलाई निरन्तर कायम राख्नुहोला । विश्वमा गल्फ कोर्सबाट पयर्टन भित्र्याउने देशहरू धेरै छन् । तर, नेपालमा १८ होलको गल्फ कोर्स एउटामात्रै देखिएको छ’ घिमिरेले भने ।
उनले अगाडि थपे, ‘गल्फमा प्रोमोट गर्नुभन्दा सरकारले भएका गल्फ कोर्सलाई पनि विभिन्न कारणले किचलोमा ल्याइरहेको देखिन्छ । सरकारले पयर्टन बढाउने हो भने लामो समय जग्गा लिजमा लिएर गल्फ कोर्सलाई बढावा दिन आवश्यक छ । तपाईंहरूले देखाउनुभएको माया निरन्तरता रहोस् । बाह्रखरी गल्फ र इकोनोमिक सिम्पोजियमको अत्यधिक सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ।’
साइमेक्स इंककी प्रवन्ध निर्देशक यमुना श्रेष्ठले बाह्रखरीले गल्फ खेल र अर्थतन्त्रलाई जोडेको बताइन् । ‘बाह्रखरीसँग सहकार्य गर्न पाउँदा साइमेक्स एकदम खुसी छ । बीवाईडी आफैँमा एउटा इनोभेसन हो । नेपाली खेलजगतमा निराशाको भावना बढ्दै जाँदा बाह्रखरीले मिडिया भएर पनि ठूलो खेल कार्यक्रम आयोजना गर्न सक्छ भन्ने सन्देश दिएको छ’ उनले भनिन् ।
उनले अगाडि थपिन्, ‘यस कार्यक्रममा सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौँ । मिडिया भएर पनि खेलमार्फत आर्थिक उन्नतिमा अग्रसर गर्न सकिन्छ भन्ने सन्देश दिँदै यो कार्यक्रम गर्नु ठूलो महाकुम्भ हो जस्तो लाग्छ । यस महाकुम्भमा हामीलाई स्थान दिनुभएकोमा धेरै धन्यवाद । यो इभेन्ट अझै धेरै अघि बढोस् भन्ने शुभकामना दिन चाहान्छु ।’
नेपाल डिस्टिलरिज प्रालिकी मार्केटिङ हेड सुदीक्षा अधिकारीले गल्फ र खुकुरी रम स्वभावले मेल खाने जनाउँदै बाह्रखरीसँग सहकार्य गर्न पाउँदा गौरवान्वित महसुस भएको बताइन् । ‘ँयहाँ उपस्थित हुन पाउँदा गौरवान्वित महसुस भएको छ । हामी बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियमसँग सहकार्य गर्दै छौँ । गल्फ र खुकुरी स्वाभाविकरूपमा नै मेल राख्छन् । गल्फका मान्यतालाई खुकुरी रमले पनि आत्मसात् गरेको छ’ उनले भनिन् ।
‘हामी स्वदेशी उद्योग भएकाले नेपाली अर्थतन्त्रमा केही टेवा पुर्याएका छौँ । इकोनोमिक सिम्पोजियमजस्तो महत्त्वपूर्ण कार्यक्रममा हामीले योगदान पुर्याउने हाम्रो कर्तव्य पनि हो । आगामी दिनमा खेल र अर्थतन्त्रमा दुवैमा यसरी नै सहकार्य जारी राख्नेछौँ । गल्फ र इकोनोमिक सिम्पोजियमका निम्ति बाह्रखरीलाई शुभकामना’ उनले अगाडि भनिन् ।
गोकर्ण गल्फ क्लबका निर्देशक दीपक आचार्यले नेपालमा थुप्रै प्रतियोगिता हुने भए पनि बाह्रखरी गल्फले खेलाडीहरूमा छुट्टै उत्साह थप्ने बताए ।
‘नेपालमा गल्फका धेरै प्रतियोगिता हुन्छन् । तर, पनि बाह्रखरी गल्फ हुँदै गर्दा खेलाडीहरूमा म यस प्रतियोगितामा छुट्छु कि भन्ने पर्न जान्छ । खेलाडीहरू यस प्रतियोगितामा सहभागिता हुन उत्सुक रहन्छन् । यसले पनि यस प्रतियोगिताको स्तर प्रस्ट हुन्छ । विकसित राष्ट्रहरूले पयर्टन बढाउन गल्फमा विशेष ध्यान दिइरहेको पाइन्छ’ आचार्यले भने ।
‘देशको आर्थिक विकासका निम्ति गल्फमार्फत पयर्टनमा वृद्धि गर्न सकिने कुरामा सरकारले पनि ध्यान दिन आवश्यक छ । गल्फसँग जोड्नुभएकोमा बाह्रखरी परिवारलाई धन्यवाद व्यक्त गर्न चाहन्छु’ उनले थपे ।
यसैगरी, बाह्रखरी मिडिया प्रालिका अध्यक्ष तथा प्रधानसम्पादक प्रतीक प्रधानले गल्फमा अन्तर्राष्ट्रिय खेलाडी आफ्नै खर्चले प्रतियोगितामा सहभागी हुने बताए । उनीहरू प्रतियोगितामा सहभागी भएर फर्कने बताए । ‘गल्फमा नेपालमै बस्दै आएका विदेशी खेलाडीदेखि विदेशी खेलाडी पनि सहभागी हुनुहुन्छ । उहाँहरूलाई हामीले खर्च गरेर ल्याउँदैनौँ, आफैँ आउनुहुन्छ’ प्रधानले भने ।
पत्रकार सम्मेलनमा आर्थिक परिसंवाद खेलसँग पनि जोड्नुपर्ने आवाज उठेको थियो । जवाफमा प्रधानसम्पादक प्रधानले आर्थिक क्षेत्रमा समस्या निम्तिने र यही क्षेत्रका समस्यालाई जनमानससम्म पुर्याउनुपर्ने भएकाले आर्थिक संवादलाई नै जोड दिएको बताए ।
आगामी दिनमा छुट्टै खेलसँग सम्बन्धित भएर पनि यस्ता संवाद गर्न सकिने प्रधानसम्पादक प्रधानको भनाइ छ । बाह्रखरी मिडियाले कर्पोरेट गल्फ प्रतियोगितासँगै नेपालको आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यले वार्षिकरूपमा आयोजना गर्दै आएको ‘आर्थिक परिसंवाद’ पनि सोही दिन गोकर्ण फरेस्ट रिसोर्टको ‘कोर्ट यार्ड’मा सम्पन्न हुँदै छ ।
यस वर्ष ‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा गल्फ खेलाडीसहित करिब १५ सय पाहुना उपस्थित हुनेछन् । गल्फ प्रतियोगितालगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आर्थिक परिसंवाद’मा विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
आर्थिक परिसंवादमा नेपालको आर्थिक अवस्था, व्यापारिक क्षेत्रमा भइरहेका अवरोध, नेपालमा प्रविधि क्षेत्रको अवसर र चुनौती, दोस्रो चरणको आर्थिक सुधारको आवश्यकतालगायत विषयमा छलफल हुनेछ । ‘अर्को चरणको आर्थिक सुधार’मा जानैपर्ने मुलुकको आवश्यकता भएकाले त्यसमा सहयोग पुगोस् भन्ने उद्देश्यले ‘आर्थिक परिसंवाद’ आयोजना गरिएको बाह्रखरी मिडियाले जनाएको छ ।
आर्थिक परिसंवाद कार्यक्रममा नेपालका नीति निर्माण तहमा रहेका उच्च अधिकारी, अर्थमन्त्री, विभिन्न मन्त्रीहरू, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख तथा पदाधिकारी, कर्पोरेट क्षेत्रका व्यक्तित्व, प्राध्यापक, बुद्धिजीवी, अर्थविद्, बैंकर, उद्यमी, संघीय सांसद, प्रदेशसभा सदस्य, ‘कन्टेन्ट क्रियटर’लगायतको उपस्थिति रहनेछ ।
यस वर्ष कर्पोरेट गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रमको प्रमुख प्रायोजक विगतका वर्षहरूमा जस्तै एनसेल छ । यो वर्ष एनसेलको एनसेल फर बिजनेसले प्रमुख प्रायोजकको भूमिका गर्नेछ । एनसेल फर बिजनेसले नेपालको बिजनेस कम्युनिटीलाई उच्तस्तरको विश्वस्तरीय सेवाहरू र कनेक्टिभिटीलगायत डिजिटलाइजेसनका लागि विभिन्न सुविधाहरू प्रदान गर्दै आएको छ ।
त्यसैगरी, विद्युतीय गाडी बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इंक र खुकुरी रम उत्पादक कम्पनी द नेपाल डिस्टिलरिज प्रालि कार्यक्रममा ‘इन एसोसिएसन विथ’ अर्थात् प्रमुख सहकार्य कम्पनी छन् ।साइमेक्स इंक बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रममा अघिल्लो वर्ष पनि प्रमुख साझेदार कम्पनी थियो ।
त्यसैगरी, जोनी वाकर (आधिकारिक बिक्रेता ग्लोबल ट्रेडिङ कन्सर्न), नबिल बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंक, भाटभटेनी सुपर स्टोर्स, हिमालयन बैंक, नेपाल पर्यटन बोर्ड, शिखर इन्स्योरेन्स, माटो नेपाल र अजया डाइमन्डले यसपल्टको कार्यक्रम सफल बनाउन सहकार्य गरेका छन् ।
ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, प्रभु बैंक, भाटभटेनी सुपर स्टोर्स, नेपाल पर्यटन बोर्ड, शिखर इन्स्योरेन्स र अजया डाइमन्डले विगतका वर्षमा पनि सहकार्य गर्दै आएका छन् । यस वर्षदेखि खुकुरी रम, जोनी वाकर, नबिल बैंक, माटो नेपालसँग सहकार्य बढाइएको बाह्रखरीले जनाएको छ ।
यसअघि प्रतियोगिताको गत संस्करण पोखरास्थित हिमालयन गल्फ कोर्समा भएको थियो । यस्तै, त्यसअघिको संस्करण काठमाडौंको गोकर्ण गल्फ कोर्समा सम्पन्न भएको थियो । ०७८ कोसी प्रदेशको आर्थिक उत्थानमा केन्द्रित भई विराटनगरमा आर्थिक सम्मेलन, इटहरीमा युवा उद्यमी सम्मेलन तथा धरानमा गल्फ प्रतियोगिताको आयोजना गरिएको थियो ।
०७७ सालमा कोरोनाले आहत पारेको पोखराको पर्यटनको विकासका लागि गल्फ तथा पर्यटन थिम अन्तर्गत पोखरामा कार्यक्रम आयोजना गरिएको थियो । त्यसअघिको वर्ष नेपालको नाम विश्वको पर्यटन नक्सामा प्रचार र प्रसार गर्ने उद्देश्यसहित सर्वोच्च शिखर सगरमाथासँगै रहेको कोङ्दे हिमालको ‘कोङ्दे री’ मा ४,२५० मिटरको उचाइँमा गल्फ आयोजना गरिएको थियो ।
विश्व रेकर्ड राख्ने उद्देश्यसहित गरिएको यस गल्फ प्रतियोगितालाई विश्वभरका मिडियाले ठूलो महत्त्वका साथ समाचार बनाएका थिए । त्यसअघि पहिलो र दोस्रो संस्करण पनि गोकर्ण गल्फ क्लबमै आयोजना भएको थियो ।
प्रतिक्रिया दिनुहोस्