काठमाडौं । नेपाली दूरसञ्चार कम्पनीमा निजी क्षेत्रबाट सञ्चालित एनसेलले पछिल्लो समय आफ्नो बजार हिस्सा बढाउँदै लगेको छ । नियामक निकाय दूरसञ्चार प्राधिकरणले उपलव्ध गराएको तथ्यांकअनुसार एनसेलले पछिल्लो समय प्रयोगकर्ताको संख्या बढाउँदै लैजाँदा सरकारी स्तरबाट संचालित नेपाल टेलिकम भने पछि पर्ने सम्भावना देखिएको हो ।
प्राधिकरणको तथ्यांकअनुसार गत वर्षको पुषको तुलनामा यसवर्षको पुषसम्ममा प्रयोगकर्ता ठूलो मात्रमा नेपाल टेलिकमले गुमाएको छ भने एनसेलले बढाएको छ । ग्राहक संख्या हेर्ने हो भने अघिल्लो वर्षको पुषमा एनसेलका १ करोड २९ लाख प्रयोगकर्ता रहेकोमा यो वर्षको पुषसम्म १ करोड ४७ लाख पुगेका छन् ।
सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का ग्राहक अघिल्लो वर्षको पुषमा २ करोड २० लाख प्रयोगकर्ता रहेकोमा यो वर्षको पुषसम्म १ करोड ५२ लाख पुगेका छन् । तथ्यअनुसार नेपाल टेलिकमका प्रयोगकर्ता घट्दा एनसेलले बजार हिस्सा बढाउँदै लगेको हो । नेपाल टेलिकमजस्ता सरकारी स्वामित्वमा रहेका कम्पनीहरूमा सर्वसाधारणको २५ प्रतिशत स्वामित्व वृद्धि गर्ने सरकारले तयारी गर्दा पनि उल्लेख्य रुपमा प्रयोगकर्ता बढ्न सकिरहेका छैनन् ।
हाल टेलिकमको ९२ प्रतिशत सेयर सरकारको र ८ प्रतिशत मात्रै सर्वसाधारणको छ । नेपाल टेलिकमको अघिल्लो महिना सम्पन्न वार्षिकोत्सव कार्यक्रममा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले अब कम्तीमा पनि २५ प्रतिशत सर्वसाधारणको सेयर पुर्याउने घोषणा गरेका थिए ।
प्रयोगकर्ता घटिरहेकै बेला नेपाल टेलिकमले हालै टपअपसम्बन्धि लिएको निर्णय विवादित समेत बन्यो । साना तिना धेरै कारोबार देखिएको निस्कर्ष निकाल्दै रिचार्ज टपअपमा ५० भन्दा कम रोक्न खोजेको टेलिकमको निर्णय विरोधपछि धेरै समय टिक्न सकेन ।
टेलिकमका प्रवक्ता हरि ढकाल समायनुसार परिस्कृत हुँदै टेलिकम अघि बढिरहेको बताए । उनले भने ‘साना कारोबारहरु रोक्ने नै भन्ने छ तर पनि ग्राहकको माग कम पनि चाहियो भन्ने आएकाले पुन: पुरानै टपअपको सीमालाई निरन्तरता दिएका छौं ।’ उनकाअनुसार टेलिकमले प्रयोगकर्ता बढाउन भन्दा पनि गुणस्तरीयतामा ध्यान दिइरहेको छ । समयानुसार टेलिकम परिस्कृत हुँदै टेलिकम अघि बढिरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्