काठमाडौं । २५ करोड विदेशी मुद्रा अनुसन्धान प्रभावित बनेको छ । राजस्व अनुसन्धान विभाग र नेपाल प्रहरीबिच कुरा नमिल्दा अनुसन्धान नै प्रभावित बनेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले चैत ४ गते राती टोखाबाट अवैध विदेशी मुद्रा, ट्रक र चालक पक्राउ गरेको थियो । टेकु प्रहरीले सो अवैध विदेशी मुद्रा र ट्रक चालक कुसाङ लामालाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो । विभागले अनुसन्धानका क्रममा नेपाल प्रहरीसँग सहकार्य गर्न नसक्दा अनुसन्धान प्रभावित बनेको हो ।
विभाग स्रोतका अनुसार अनुसन्धानका लागि विभागले सशस्त्र प्रहरीको सहयोग लिएपछि नेपाल प्रहरीमा असन्तुष्टि बढेको हो । विभाग स्रोतले सिंहदरबारसँग भन्यो, “आफैंले समातेर बुझाएको अनुसन्धानमा प्रतिनिधि राख्न समेत विभागले नमानेपछि प्रहरीले विभागलाई अपेक्षित सहयोग गरेको छैन, २५ करोडका मालिक भनिएका नारायण पौडेल भारत पुगेको भन्ने स्पष्ट सूचना छ तर पक्राउ गर्न सकेको छैन ।”
रकम समातिएपछि पौडेल मोबाइल छाडेर भारत पुगेको अनुसन्धानमा खुलेको छ । अब पौडेल पक्राउ गर्नका लागि नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोग लिनुपर्छ ।
अनुसन्धानमा खटिएका अधिकृतका अनुसार बराबद गरिएको रकम भारतमा सुन बिक्री गरी ल्याएको रकम चीन लैजान लागेको खुलेको छ ।
विभाग र प्रहरीको विवाद बढेपछि विभागले प्रहरीमाथी दबाब सृजना गर्न अनुसन्धानकै क्रममा नारायण पौडेलको नाम सार्वजनिक गरेको स्रोतको दाबी छ । अनुसन्धान कै क्रममा नाम सार्वजनिक गर्ने प्रचलन हुँदैन । तर विभागका महानिर्देशक चण्डी घिमिरेले आफूमाथि दबाब बढेको भन्दै नाम सार्वजनिक गरेका हुन् । यसरी नाम सार्वजनिक गर्दा आरोपित व्यक्तिले भाग्ने र प्रमाण नष्ट गर्ने मौका प्राप्त गर्छन् ।
यो अनुसन्धानको दोस्रो चरणमा पुगेको विभाग तेस्रो चरणमा भने प्रवेश गर्न सकेको छैन । विभागले प्राप्त गरेको जानकारी अनुसार नारायण पौडेलले गाडीमा पैसा लोड गर्दै गरेको भिडियो प्राप्त गरेको छ । २५ करोड अनुसन्धानमा सहभागी एक अनुसन्धान अधिकृतले भने, “विभागले अनुसन्धान सुरु गरेको पहिलो दिनबाट नै टसल सुरु भएको हो, सशस्त्र प्रहरीको प्रविधि प्रयोग गरेर संभावित क्षेत्रमा अनुसन्धान सुरु गर्दा सिभिल ड्रेसका प्रहरी नै भेटेका थियौं, प्रहरीसँग यो अनुसन्धानको धेरै सूचना छ तर हामीले प्राप्त गर्न सकिरहेका छैनौं ।”
यसो त अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको मातहतमा राजस्व अनुसन्धान विभाग छ । गृहमन्त्रालय नेपाली काँग्रेस अर्थात रमेश लेखकको मातहतमा छ । दुई फरक पार्टीको अन्तर्गतका यी संस्थाबिच तालमेल नमिल्दा ठूलो अनुसन्धानमै असर परेको छ ।
यसअघि ६० किलो सुन तस्करी प्रकरणमा विभाग आफैंले सुन समातेको भएपनि नेपाल प्रहरीलाई संगठित अपराधमा अनुसन्धान गर्न जिम्मा दिएको थियो । त्यतिबेला प्रधानमन्त्री र गृहमन्त्री एकै पार्टी भएको कारणले पनि सहज भएको थियो । ६० किलो सुन अनुसन्धानमा पनि प्रहरीले तस्करीको मुख्य अभियुक्त दावा छिरिङलाई पक्राउ गर्न अस्वीकार गरेको थियो । यसपछि सशस्त्र प्रहरीको टोलीले ठमेलको एक होटलबाट छिरिङलाई पक्राउ गरेको थियो ।
जीर्ण बन्दै विभागको अनुसन्धान क्षमता
प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको राजस्व अनुसन्धान विभागको अनुसन्धान गर्ने क्षमता निकै कमजोर बन्दै गएको छ । शक्तिशाली निकायको रुपमा विकास गरेको यो संस्था व्यापारीलाई तर्साउने निकायको रुपमा मात्रै परिचित बन्दै आएको छ । पछिल्लो समय कर्मचारीहरुको ‘गरिबी निवारण’ गर्ने थलो रुपमा यो निकाय परिचित भएको एक पुर्व महानिर्देशकले बताए ।
ती महानिर्देशकले भने, “यो अड्डाको उदेश्य निकै ठूलो छ, तर अहिले सो अड्डालाई कमाइ खाने भाडोको रुपमा विकास गर्दा समस्या बढेको छ, म कर्मचारीलाई मात्रै दोष दिन्न, महानिर्देशक पठाउनलाई प्रधानमन्त्रीकै आसेपासेले निश्चित रकमको कमिटमेन्ट गर्ने प्रचलन छ यसरी गएका महानिर्देशकले कसरी काम गर्छ प्रष्ट नै छ।”
विभागसँग आफ्नै फरेन्सिक ल्याब छैन । सुन चाँदी छुट्याउने मेसिन समेत छैन । प्राविधिक रुपमा कुनैपनि उपकरण छैन् । सूचना आदान प्रदानको बलियो संयत्र छैन । कुनै सूचना वा अनुसन्धानको लागि अन्य निकायसँग सहकार्य गर्नुपर्ने बाध्याता छ । विभागमा प्रत्येक सरकार परिवर्तन गर्दा कर्मचारी पनि परिवर्तन गर्ने प्रचलन छ । पछिल्लो समय विभागमा असल नियतका कर्मचारीहरु सरुवा हुन नै डराउन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्