काठमाडौं । शिक्षा क्षेत्रको शुद्धिकरण र सुदृढीकरणमा संवेदनशील भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलनप्रति ध्यानाकर्षण गराएको छ ।
शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि माइतीघर–बानेश्वर सडकखण्डमा निरन्तर जारी आन्दोलनले विद्यालय शिक्षामा असर पारिरहेको भन्दै एन–प्याब्सनले शिक्षासँग प्रत्यक्ष सरोकार राख्ने सबै पक्षलाई यस विषयप्रति गम्भीर बन्न आग्रह गरेको छ ।
शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, सेवा सुरक्षा सुनिश्चित हुनुपर्ने लगायतका माग राख्दै आन्दोलन चर्काएका छन् । यसका कारण सामुदायिक विद्यालयहरूमा पठनपाठन ठप्प भएको र त्यसले विद्यार्थीहरूको सिकाइमा दीर्घकालीन असर पार्न सक्ने भन्दै एन–प्याब्सनले चिन्ता व्यक्त गरेको छ । संगठनले यस्तो अवस्था नेपालको समग्र शैक्षिक विकासका लागि प्रतिकूल भएको स्पष्ट पारेको छ ।
एन–प्याब्सनका अध्यक्ष गीत राणा क्षेत्रीले जारी गरेको विज्ञप्तिमा शिक्षकमाथिको कुनै अवहेलना स्वीकार्य नहुने जनाउँदै शिक्षकहरूको योगदानप्रति सम्मान व्यक्त गरिएको छ । साथै, जायज मागहरूबारे गम्भीर छलफल र वार्ताबाट समाधान खोजिनुपर्नेमा जोड दिइएको छ ।
सरकारलाई आन्दोलनरत शिक्षकहरूसँग तत्काल संवादको वातावरण सिर्जना गर्न र समस्याहरू समाधान गर्न इच्छाशक्ति देखाउन आग्रह गर्दै विज्ञप्तिमा सबै सरोकारवाला पक्षहरूलाई संयमित, जिम्मेवार र समाधानमुखी दृष्टिकोण अवलम्बन गर्न अपिल गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्