काठमाडौं । चैत्र १५ गतेको तीनकुले प्रदर्शनका क्रममा भएका घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही गर्न माग सांसदहरुले गरेका छन् । आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।
सांसदहरुले चैत्र १५ गतेको घटनामा सुरक्षाका हिसावले सरकारले कमजोरी गरेको औंल्याएका छन् । संविधानप्रदत्त हक अधिकारलाई प्रयोग गरेर शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार विपरित गइ जनधनको क्षति भएकोप्रति सरकार ग्म्भीर बन्नुपर्ने धारणा राखेका छन् ।
समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद छविलाल विश्वकर्माले तीनकुनेको घटना क्षम्य नभएको बताए । उनले घटनाको जतिसुकै निन्दा र भत्र्सना गरेपनि कम हुने बताए । सरकार र प्रहरी प्रशासनले आफ्ना संयन्त्रहरुको आधारमा आवश्यक जानकारी लिन नसक्दा क्षति व्यहोर्नुपरेको भन्दै आगामी दिनमा यसबाट शिक्षा लिएर सचेत हुनुपर्ने बताए । सरकारले विमानस्थल जस्तो संवेदनशील क्षेत्र वरपर आन्दोलन गर्न स्थान दिनु नहुनेमा सरकार चुकेको बताए ।
समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद ज्ञानु बस्नेत सुवेदीले चैत्र १५ गते तीनकुनेमा भएको घटनाप्रति खेद प्रकट गरेकी छिन । उनले घटनामा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउन आग्रह गरेकी हुन् ।
समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोषिमा कार्कीले चैत्र १५ गतेको घटनाप्रति दु:ख व्यक्त गर्दै उक्त घटनाले शिक्षा र स्वास्थ्यको वातावरण बिथोलिनुका साथै युवाहरुको देशमा बस्ने वातावरण समेत बिथोलिएको बताइन् । उनले जीवन नै सकिने गरी भएका घटनाको बिरोध गर्दै आगामी दिनमा त्यसो हुन नदिन सचेत रहनुपर्ने बताइन् ।
सांसद कार्कीले सरकारको नेतृत्व असफल भएको आशंका व्यक्त गर्दै सरकारलाई झक्झक्याउन जरुरी रहेको बताइन् । उनले घटनामा संलग्नलाई कारबाही गर्न माग गरिन् ।
प्रतिक्रिया दिनुहोस्