काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठमाथि छानविन गरि कारवाही गर्न सांसदहरुले माग गरेका छन् । मंगलबार प्रतिनिधी सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै माओवादी केन्द्र र राप्रपा सांसदहरुले बोर्ड अध्यक्षमाथि छानविन गरि कारवाही गर्न माग गरेका हुन् ।
भरपर्दाे संयन्त्र मार्फत छानविनका लागि सभामुख मार्फत रुलिङ गर्न पनि सांसदहरुले माग गरेका छन् ।
माओवादी केन्द्रका सांसद माधव सापकोटाले बोर्ड अध्यक्ष श्रेष्ठमाथि भरपर्दाे संयन्त्र बनाएर छानविनका लागि सरकारलाई रुलिङ गर्न माग गरे । जलविद्युत परियोजनाका प्रवद्र्धकहरुलाई निरुत्साहित गरेको र सरकार भन्दा बिचौलिया शक्तिशाली देखिएकाले तत्काल छानविन हुनुपर्ने माग उनले राखे । ‘धितोपत्र बोर्डले साना परियोजनाहरुसँग ५ प्रतिशत र ठूला परियोजनाहरुसँग ७ प्रतिशतसम्म कमिसनको बार्गेनिङ गर्यो, यो निकै गम्भिर र दु:खदायी कुरा हो, म हाम्रो दल माओवादी केन्द्रका तर्फबाट गम्भिर ध्यानाकर्षण भएको कुरा सम्मानीय सभामुख मार्फत नेपाल सरकारका प्रति ध्यानाकर्षण गराउन चाहान्छु । सम्मानीय सभामुख मार्फत यो घट्नाको छानविनका लागि रुलिङको माग गर्दछु ।’, माओवादी केन्द्रका सांसद सापकोटाले संसदमा भने ।
राप्रपा सांसद रोशन कार्कीले पनि धितोपत्र बोर्ड अध्यक्षमाथि तत्काल छानविन गरि कारवाही गर्न माग गरिन् । उनले पुँजी बजारलाई अर्थतन्त्रको ऐना भन्ने गरिएको तर त्यो ऐनामा अहिले कुरुप कमिसनखोरको अनुहार देखिएको आरोप पनि लगाइन् ।
‘भनिन्छ पुँजी बजार देशको अर्थतन्त्रको ऐना हो, तर त्यो ऐनामा पनि अहिले एउटा कुरुप कमिसनखोरको अनुहार देखिएको छ । आइपीओ निष्काशनका लागि धितोपत्र बोर्डका प्रमुखले पाँच देखि सात प्रतिशत कमिसन मागेको बिषय आईरहेको छ । बोर्डले राम्रो काम गर्न सकिरहेको छैन् । मान्छेहरुको लाखौं करोडौं रकम फसिरहेको छ । अध्यक्षले कमिसन मागेको बिषय छ, प्रधानमन्त्री नेतृत्वको सुशासन आयोगले तत्कालै कामअघि बढाओस र कमिसनखोर बोर्ड अध्यक्ष माथि कारवाही होस् ।’, सांसद कार्कीले भनिन् ।
प्रतिक्रिया दिनुहोस्