काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निराशाजनक र कर्मकाण्डी भएको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
उनले नीति तथा कार्यक्रममा अलमल रहेको र यसको औचित्य नभएको समेत बताउँदै विगतको सरकारले नीति तथा कार्यक्रममाथि छलफल गराउँदा नेपाली जनताको भावनालाई बुझेर गराउने गरे पनि वर्तमान सरकारले त्यसो गर्न नसकेको आरोप लगाए ।
उनले अहिलेको सरकारले ल्याएको नीति विभेदकारी भएको समेत टिप्पणी गरे । उनले विभिन्न आधारहरू तय गर्न नसक्दा समाजवादको यात्रालाई कसरी अगाडी बढाउन सकिन्छ ? भन्दै प्रश्न गरे । अध्यक्ष यादवले वर्तमान सरकार अप्राकृतिक र बिचौलियाको आधारमा बनेको आरोप दोहोर्याए ।
उनले भने, ‘यो नीति तथा कार्यक्रम निराशाजनक छ । यो अलमलमा छ । यो कर्मकाण्डी हो । यसको औचित्य छैन । विगतको सरकारले छलफल गराउँदा सम्पूर्ण नेपाली जनताको भावनालाई संघीय लोकतान्त्रिक गणतन्त्रको विधि र प्रक्रियाबाट गर्ने गरेको थियो । यो पालि सरकारले त्यसो गर्न सकेन । यो नीति विभेदकारी हो ।’
‘विगतको सरकारले मानव सूचकाङ्कको आधारमा नीति तथा कार्यक्रम बनाउने र बजेटलाई विनियोजन गर्ने गरिएका थियो, यसपालि यो नीतिले सम्बोधन गरेको देखिँदैन । यी आधारहरू तय गर्न सकिएन भने समाजवादको यात्रालाई कसरी अगाडी बढाउन सकिन्छ ? मलाई लाग्छ, यो सरकार अप्राकृतिक छ । त्यति खेर दुई दलको सरकार बन्दा खेरी संविधानको धारा ७६ (२) अनुसार बनेको थियो, दुई दलको सरकार असफल भइसकेपछि दफा ३ को हिसाबले सरकार बन्नुपर्ने नेपाली कांग्रेसको अवस्था थियो । यो विचौलियाहरूको आधारमा सरकार बनेको हो’ उनले थपे ।
उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले नागरिकमा उत्साह थप्न नसकेको टिप्पणी समेत गरे ।
प्रतिक्रिया दिनुहोस्