काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । आइतबार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले तीनकुनेमा भएको व्यवस्था विरोधी घटनाका बारेमा प्रधानमन्त्रीले संसदमार्फत सम्बोधन गरेर व्यवस्थाप्रति विश्वास आर्जन गर्नुपर्ने बताए । उनले गणतन्त्रवादीहरुलाई एकताबद्ध गरी व्यवस्था सुदृढ बनाउनु पर्नेमा प्रधानमन्त्री अन्तै अल्मलिएको जिकिर गरे । उनले प्रधानमन्त्रीले उश्रृृ्खङल र अराजकतालाई मलजल गरेको आरोप लगाए ।
व्यवस्था विरोधी तीनकुने घटनामा मान्छेलाई थुनेर आगो लगाएर हत्या हुँदा समेत प्रधानमन्त्रीले कुनै सम्बोधन नगरेर लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउने अवसर गुमाएको उनको भनाइ छ ।
उनले भने, ‘आज प्रधानमन्त्रीले संसदमा आएर सबै घटनाक्रमका बारेमा देशलाई अपिल गर्ने, गणतन्त्रवादीहरुलाई एकताबद्ध गराउने र यो व्यवस्थाका बारेमा विश्वास आर्जन गर्ने एउटा ठुलो अवसर थियो । यति ठूलो कुरा संसदमा आएर नगरेर प्रधानमन्त्री कहाँ अल्मलिरहनुभएको छ ? यसले के देखाउँछ भने यो व्यवस्थालाई रक्षा गर्नका निमित्त, यो व्यवस्थालाई सुदृढ गर्नका निमित्त, विधि मूल्य मान्यतालाई सुदृढ गरेर अगाडि लैजानका लागि प्रधानमन्त्री जिम्मेबार हुनुहुन्न ।’
‘यो अराजकता बेथिति र उश्रृङ्खलतालाई थप मलजल गर्ने काम गरी राख्नुभएको छ । त्यसकारण हामीले के भन्यौ भने प्रधानमन्त्री आउनुपर्यो, हामी अझै केही घण्टा कुर्न तयार छौँ । प्रधानमन्त्री आउनुभएपछि हाम्रो कुनै अवरोध हुँदैन । र प्रधानमन्त्रीले यी सबै पछिल्ला जे अराजकता, उछृङखलता र व्यवस्थाकाविरुद्ध जुन प्रकारका लुटपाट मच्चाइयो, मान्छेहरुलाई थुनेर आगो लगाएर हत्या गर्ने स्थिति सिर्जना भयो यी सबैका बारेमा प्रधानमन्त्री त आज हामीले नबोलाए पनि आउनु पथ्र्यो’ उनले बताए ।
सांसद सापकोटाले प्रधानमन्त्री र सत्तापक्ष असहिष्णु, गैरजिम्मेवार, घटनक्रम र व्यवस्थाप्रति संवेदनशील नभएको आरोप लगाए । राजनीतिक परिस्थिति थप जटिल बन्दै गएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्