काठमाडौं । अन्तर–व्यवस्थापिका सङ्घ (आइपीयु)को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट राष्ट्रियसभा सदस्य डा अञ्जान शाक्य निर्वाचित भएकी छिन् । उज्वेकिस्तानको राजधानी तास्केन्टमा भएको सम्मेलनका क्रममा उनी विजयी भएकी हुन् । सांसद डा शाक्यसँगै माल्दिभ्स र इरानबाट पनि उम्मेदवारी परेको थियो । अन्तरव्यवस्थापिका सङ्घको १५०औँ वार्षिकसभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सभामुख देवराज घिमिरेसहितको टोलीले भाग लिइरहेको छ । सभामुख घिमिरेले आइपीयुको दिगो विकास स्थायी समितिका ३६ देशका सभामुखलाई पत्र लेख्दै डा शाक्यको समर्थनका लागि आग्रह गरेका थिए ।
सांसद डा शाक्यले दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट उम्मेदवारी प्रस्तुत गरेकी थिइन । नेपालले पहिलोपटक यो मञ्चमा आफ्नो उपस्थिति जनाएको हो । सांसद डा शाक्यले आफ्नो जितसँगै यसले नेपालको प्रतिष्ठा अन्तरराष्ट्रिय मञ्चमा पनि बढाउन सहयोग पुर्याएको महसुस आफूले गरेको बताइन । ँसभामुखज्यूले पत्र लेखेर नै मेरो समर्थनका लागि आग्रह गर्नुभएको थियो”, उनले भननिन्, ँमैले पनि व्यक्तिगत रूपमा मेरो समर्थनका लागि आग्रह गरेको थिएँ । हामी सबैको प्रयासले सफलता प्राप्त भयो ।”
उनले प्रधानमन्त्री, सभामुख, संसद् सचिवालयको अन्तरराष्ट्रिय महाशाखालगायतलाई पनि धन्यवाद दिइन । सांसद डा शाक्य राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति सदस्य तथा सोही समितिको दिगो विकास उपसमिति संयोजक छिन् । उनकै नेतृत्वमा ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ प्रतिवेदन तयार गरी राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिलाई बुझाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्