Skip to content
Shikhar Insurance
National Life

खेलकुद क्षेत्रलाई प्रश्तावित भन्दा बढी बजेट

Hyundai
NCELL
NIMB

काठमाडौं । अघिल्लो वर्ष सम्पन्न हुन नसकेको दशौं राष्ट्रिय खेलकुद आयोजनासँगै शहरी विकास मन्त्रालयद्वारा निर्माण भइरहेको टियु क्रिकेट मैदानको स्तरोन्नती जस्ता कार्यक्रम समेटिएपछि आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि खेलकुद क्षेत्रको बजेटमा वृद्धि भएको छ ।

सरकारले आगामी वर्षको युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीवार सार्वजनिक गर्नुभएको बजेटमा युवा र खेलकुदका लागि बजेट बढेको छ ।

अघिल्लो आर्थिक वर्षमा तीन अर्ब ५० करोड बजेट विनियोजन भएको थियो । गत आर्थिक वर्षभन्दा यो दुई अर्ब ५८ लाख रुपैयाँले बढी हो । अर्थ मन्त्रालयले हरेक आयोजनाका लागि तीन करोड भन्दा कम रकम विनियोजन गर्न नपाउने प्रावधान राखेपछि खेलकुदको बजेट पनि बढ्न गयो ।

यस अघिकै कार्यक्रमले निरन्तरता पाउँदा खेलकुदका लागि बजेट बढेको छ । मन्त्रालयका लागि विनियोजन गरिएको बजेटमध्ये ८० प्रतिशत खेलकुदलाई नै जाने गर्दछ ।

तर यसपल्ट शिलिङ र प्रश्ताव कार्यक्रमभन्दा बढी बजेट विनियोजना भएकाले हचुवाका भरमा र सांसदका निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रमले प्राथमिता पाएको स्पष्ट हुन्छ । यस पटक बजेटमा दशौं राष्ट्रिय खेलकुद, त्रिवी क्रिकेट मैदान, दमकमा आधुनिक रंगशाला निर्माण, हाइ अल्टिच्यूड स्पोट्र्स रंगशाला निर्माण, मूलपानी क्रिकेट मैदानलगायत खेल पूर्वाधारलाई समेटिएको छ ।

यीमध्ये शहरी विकास मन्त्रालयले टियु मैदान निर्माणका लागि खर्च गरिने ४० करोड खेलकुदमा नै समावेश गरिएको छ । खेलकुद मन्त्रालयद्वारा प्रस्ताव गरेको कार्यक्रममा उक्त योजना उल्लेख थिएन । खेलकुद मन्त्रालयले यसपल्ट ९१ वटा आयोजना प्रस्ताव गरेको थियो । तीमध्ये अधिकांश आयोजना बजेट संवोधन भएको मन्त्रालयका एक कर्मचारीले उल्लेख गरे ।

नेपालमा सन् २०१९ मा सम्पन्न १९औं दक्षिण एसियाली खेलकुद आयोजना हुँदा सबैभन्दा ठूलो बजेट खेलकुदले पाएको थियो । तर, त्यो बजेट पूर्णतय कार्यान्वयन हुन सकेन । त्यसबेला चार अर्ब खर्च हुँदा एक अर्ब २० करोड रकम फ्रिज भएको थियो ।

यसपल्ट पनि त्यो चुनौती हुन सक्ने आँकलन गरिएको छ । खेलकुद मन्त्रालयले यसपल्ट तीन अर्ब २० करोड २० लाखको सिलिङ पाएको थियो । सोही आसपास नै बजेट प्रस्ताव गरिए पनि ठूलो रकम बिनियोजन भएको छ ।

पार्टीका सांसदहरूमा योजना बाँडिएकाले सिलिङभन्दा बढी बजेट आएको खेलकुद मन्त्रालयका एक कर्मचारी बताउँछन् । मुस्ताङ, झापा र अन्य केही क्षेत्रमा खेल पूर्वाधार निर्माणका लागि बजेट दिइएको छ । जुन प्रस्तावित योजनाभन्दा बाहिरका थिए ।

करिब चार अर्ब स्थानीय तह र दुई अर्ब केन्द्रले खर्च गर्न पाउने गरी बजेटमा तय गरिएको अनुमान छ । खेलकुदका लागि तय बजेटमध्ये नियमित तलब भत्ताका लागि ८२ करोड खर्च हुन्छ । दशौं राष्ट्रिय खेलकुदका लागि ५४ करोड, टियु मैदान स्तरोन्नतीका लागि ४० करोड, काठमाडौंको मूलपानी क्रिकेट रंगशाला, मोरङको गिरिजाप्रसाद कोइराला रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला र रूपन्देहीको सिद्धार्थ क्रिकेट स्टेडियम निर्माणका लागि ४२ करोड विनियोजन गरिएको छ ।

यी योजनाहरू पुराना हुन् भने अधिकांश सांसदका निर्वाचन केन्द्रित कार्यक्रम हुन् । गत आर्थिक वर्षमा नै हुनुपर्ने दशौं खेलकुदका लागि ६० करोड बजेट विनियोजना गरिएको थियो । जुन यसपल्ट सिलिङमा पनि निरन्तरता दिइएको थियो । तर, त्यसमा कटौती गरिएको छ ।

यो बजेटमा ३५ करोड बराबरको अन्य नयाँ कार्यक्रम परेको हुन सक्ने मन्त्रालयका एक कर्मचारी बताउँछन् । यद्यपि, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले भने बजेट वृद्धि हुनु नेपाली खेलकुदका लागि सकारात्मक पक्ष रहेको बताएका छन् ।

यो बजेट कार्यान्वयन सबै सरोकार पक्ष र विभिन्न निकाय मिलेर काम हुँदा खेलकुदले नयाँ फड्का मार्ने उनको विश्वास छ । यद्यपि, सरकारले खेल पूर्वाधार निर्माण तथा खेलाडीको व्यावसायिकता विकासका लागि लगानी बढाउँदै लगिने दाबीसहित बजेटमा बढाइएको उल्लेख गरेको छ । साथै निजी क्षेत्रलाई खेल पुर्वाधारमा लगानी गर्न आकर्षित गरिने सरकारको योजना छ ।

खेलाडीमा ‘म जित्न सक्छु’ भन्ने उच्च मनोवल विकास गर्न निरन्तर प्रशिक्षण र प्रतियोगिता सञ्चालन गरिने सरकारको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्