काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म भएकाले राष्ट्र बैंकको गभर्नर नियुक्ति समेत विचौलियाकै क्यान्डिडेट हुने बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । उनले निजी क्षेत्र र विचौलिया फरक कुरा भएको बताउँदै अहिलेको अर्थतन्त्रमा समस्या विचौलियाका कारणले आएको जिकिर गरे ।
विचौलियाहरुको पहुँच नेतृत्व तहको शयन कक्षसम्म हुने गरेकाले अहिलेको समस्या सिर्जना भइरहेको बताउँदै पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदा यो बन्ला की त्यो बन्ला भन्ने कौतुहलता हुने गरेको भएपनि अहिले विचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस र छलफल हुने अवस्था देखिएको बताए ।
थापाले भने “विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदै गर्दा गभर्नर यो बन्ला की त्यो बन्ला की । गभर्नर यसले बनाउला की त्यसले बनाउला की ? भन्नेकुरा हुन्थ्यो । अब अहिले विचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस हुने गरेको छ । हामी कहाँनेर पुग्यौँ ?”
आसेपासेलाई पोस्ने व्यवस्था पुँजीवादी व्यवस्था नै नभएको जिकिर गर्दै नागरिक बलियो भएमात्रै राज्य बलियो हुने बताए ।
उनले भने,”हामी कहाँनिर अलमलियौं भने हामी डिफेन्सिभ भयौं । खासगरी पुँजीवादी अर्थ व्यवस्था क्रोनिजहरु हामी जसलाई भन्छौं । आसेपासे जसलाई भन्छौं । आसेपासेलाई पोस्ने व्यवस्था पुँजीवादी व्यवस्था होइन । पुँजीवादी व्यवस्थाले न्यायको विषय हेर्छ । सबैलाई बराबर अवसर दिन्छ । सिमित व्यक्तिलाई पोस्न नीति नियम नै परिवर्तन गर्ने गरिएको छ । यो व्यवस्था पुँजीवादी व्यवस्था होइन् ।”
प्रतिक्रिया दिनुहोस्