काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियराले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले दुई बुँदे सहमतिको नाममा प्रतिपक्षी दलहरुलाई धोका दिएको बताएका छन् । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले रास्वपाले भिजिट भिसा र अध्यागमनको विषयलाई लिएर आन्दोलन गरिरहेको र प्रतिपक्षको तर्फबाट माओवादीले गरेको सहमति झारो टार्ने काम भएको बताए । सरकारले मानव बेचबिखनको मुद्दालाई गम्भीरताका साथ नलिएको बताए ।
सुशासनमा एउटा कदम अघि बढौँ भन्दा कुनै सुनुवाई नभएको गुनासो रास्वपाको छ ।
उनले भने, ‘रास्वपा भिजिट भिसा र अध्यागमनको प्रकरणमा आन्दोलनमा छ । हामीले लामो प्रयास गरेका छौँ, निकै दिन संवाद गरेका छौँ । र पनि सरकारले त्यो मुद्दा गम्भीरताका साथ मुद्दा लिएन । सुशासनमा एउटा कदम अघि बढौँ भन्दा कुनै सुनुवाई भएन । प्रमुख प्रतिपक्षले गरेको सहमति ठोस र कार्यान्वयन गर्ने र न्याय दिने हिसावमा भएन । जुन तहको छानविन हुनुपर्ने हो त्यो अनुसार हुन सकेन । झारो टार्ने काम र हामीलाई झुक्याउने काम भयो । रास्वपाले सहमति गरेन । सभामा विवेक चाहिन्छ ।’
उनले गृहमन्त्रीको राजीनामाबाट आफूहरु पछि नहटेको बताउँँदै सदनको काम कारबाहीमा रास्वपा जिम्मेवार रहेको जनाए । आफूहरुले बुझाएका पाँच बुँदामा सहमति र उच्चस्तरीय छानविन समिति नबनाएसम्म सदन चल्न नसक्ने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्