काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै पनि हालतमा राजिनामा नदिने बताएका छन् । प्रतिनिधि सभामा भिजिट भिषाको विषयमा आफ्नो भनाई राख्दै मन्त्री लेखकले आफ्नो पालामा भन्दा अरु मन्त्रीका पालामा धेरै जना भिजिट भिषामा गएकाले राजिनामा दिनु नपर्ने बताएका हुन् ।
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको र हुन नसक्ने दाबी गरे । उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रमुलक ढंगले राजनीतिक रुपमा आक्रमण गर्ने प्रयास गरिएको भन्दै आपत्ति जनाए । आफूलाई जोडेर सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएका विषयमा समेत कुनै सत्यता नरहेको जिकिर गर्दै खेद प्रकट गरे । मन्त्री लेखकले अख्तियारले गरिरहेको छानबिनमा सहयोग गर्ने बताउँदै आवश्यक परेमा उपस्थित हुन तयार रहेको पनि बताए । उनले कर्मचारी जोडिँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने कुरा अनुचित रहेको पनि जिकिर गरे।
उनले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धानले आयोगले अनुसन्धान थालेको विषयमा मेरो संलग्नता छ भनि गरिएको प्रचार प्रसार समाज र सामाजिक सञ्जालमा अभिव्यक्त विचारमा कुनै सत्यता छैन । उक्त कार्यमा मेरो संलग्नता छैन, हुन सक्दैन भन्ने कुरा सम्मानित सदनमा जानकारी गराउन चाहान्छु ।
मेरा विरुद्धमा नियोजित ढंगले, षड्यन्त्रमूलक ढंगले, राजनीतिक रुपमा आक्रमण गर्ने प्रयत्न भएको छ । जसको म यो सम्मानित सदनबाट खेद प्रकट गर्न चाहान्छु । र म साथिहरुलाई आग्रह गर्न चाहन्छु–संवैधानिक निकायले छानविन गरिराखेको विषयलाई कुनैपनि मन्त्रीसँग जोड्ने वा सरकारसँग जोड्ने र जवाफ दिने हो भने हिजो कति मन्त्रीहरुले जवाफ दिएका थिए । त्यसको ताकत साथिहरुसँग छ ?’
सभाको बैठकमा रास्वपा र राप्रपाको विरोध र नाराबाजीकै बीचमा मन्त्री लेखकले आफ्नो धारणा राखेका थिए । माओवादी संसदको गतिरोध अन्त्य गर्न तयार भएपनि रास्वपा र राप्रपा अझै सहमत छैनन् । उनीहरुले भिजिट भिसा प्रकरणको छानविनको लागि संसदीय छानविन समिति गठन गर्नुपर्ने अडान कायमै राखेका छन् । दुई दलको विरोधका बीच सभामुखले सभालाई अगाडि बढाएका थिए ।
प्रतिक्रिया दिनुहोस्