काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि गठन भएको स्थानीय सरकारले वास्तवमै गाउँगाउँमा सिंहदरबार पुर्याएको बताएका छन् । नेपाल नगरपालिका सङ्घको आज यहाँ आयोजित ३२औँ वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानस्वरुप राजतन्त्रको अन्त्यसँगै बलियो स्थानीय सरकार बनेकाले यसको विकल्प नभएको स्पष्ट गरेका हुन् ।
‘संविधान कार्यान्वयनका क्रममा प्रदेशको संरचनाबारे बहस भएको छ तर स्थानीय सरकारबारे कुनै प्रश्न उठेको छैन । त्यसकारण स्थानीय सरकारको कुनै विकल्प छैन । जनतालाई सेवा दिने नजिकको सरकार यही हो’, जनप्रतिनिधिमाझ प्रधानमन्त्री ओलीले भने ‘स्थानीय तहका समस्या र मागलाई उचित नीति र कानुनको निर्माण गरेर क्रमश: समाधान गरिनेछ । यसमा तीनवटै तहका सरकारबीच आवश्यक सहकार्य र समन्वय हुनेछ ।’
प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउने नाममा भइरहेका गतिविधिप्रति लक्ष्य गर्दै राजतन्त्रकालमा लादिएका निरङ्कुशतालाई जनताले नबिर्सिएकाले गणतन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्