Skip to content
Shikhar Insurance
National Life

सिर्सिया नदीमा औद्योगिक फोहर मिसाउनेलाई स्थानीय प्रशासनले कारबाहीको दायरामा ल्याउने

Hyundai
NCELL
NIMB

पर्सा । बारा–पर्साको औद्योगिक कलकारखानाबाट निस्कने केमिकलजन्य प्रदूषित फोहरमैला सिर्सिया नदीमा फ्याँक्ने उद्योगलाई कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासन तयार भएका छन् । स्थानीय सरकार र प्रशासनले पटकपटक वीरगञ्जको सभ्यताका रूपमा रहेको सिर्सिया नदीमा उद्योगबाट निस्कने फोहरमैला सोझै नफ्याँक्न गरेको अनुरोधलाई उद्योग कलकारखानाले आलटाल गरेपछि उपचारात्मक तथा दण्डात्मक कारबाही गर्नुपर्ने माग उठेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बारा–पर्सा औद्योगिक करिडोरका उद्योगले उद्योग स्थापना गर्दाको बखतमा गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिबद्धताविपरीत नदीमा फोहरमैला मिसाउँदै आइरहेका छन् । सिर्सिया नदी प्रदूषण गर्र्ने उद्योगको २०६७ सालमै पहिचान भइसकेको रहेछ, आर्थिक मन्दीको बाहानाबाजी गरेर वेष्ट ट्रिटमेन्ट प्लान्ट जडान नगर्ने उद्योगलाई अब कानूनी दायरामा ल्याएर छाड्नेछौँ ।

प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष जसपाल सिंहले विगतमा कलकल बग्ने सिर्सिया नदी पछिल्लो समय प्रदुषित भएर कालो लेदो बग्ने अवस्थामा आइपुगेको गुनासो गरे । ‘हामीले बाल्यकालमा सिर्सिया नदीमा धेरैपटक पौडी खेल्यौँ । छठपर्वमा सिर्सिया नदीको पानीले सूर्यलाई अघ्र्य पनि चढाउने गरिन्थ्यो’, उनले भने,‘अहिले त सिर्सिया नदीको पानी छुनसमेत डराउनुपर्ने अवस्था आइपुगेको छ । पानीमा हुने जलचरको जीवनचक्र नै बिग्रिसकेको छ । त्यसैले उद्योगी–व्यवसायीले नदी आफू र आफ्नो भविष्यको पुस्ताका लागि जोगाउनका पनि आवश्यक कदम चाल्न आवश्यक भइसकेको छ ।’

ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले सिर्सिया नदी अत्यधिक फोहरमैलाको कारणले नालीमा सीमित भएको गुनासो गरे । वीरगञ्ज महानगरका वातावरण महाशाखाका प्रमुख राकेश साहका अनुसार उद्योगधन्दाबाट निस्कने फोहरमैलालाई सोझे नदीमा फ्याँक्दा सिर्सिया नदी झनै प्रदूषित भएको छ । वीरगञ्ज महानगरका वातावरण निरीक्षक प्रकाशबहादुर ऐरले बारा–पर्सा औद्योगिक करिडोरमा रहेका एक सय २२ उद्योगको सर्वेक्षण गर्दा २१ वटाले मात्र सामान्य खालको ट्रिटमेन्ट प्लान्ट जडान गरेका छन् ।

एक्काइस ट्रिटमेन्ट प्लान्टमध्ये १३ वटा सञ्चालनमा छन्भने बाँकी आठवटा त अझैसम्म पनि सञ्चालनमा आएका छैनन् । महानगरले तीन वर्षमा उद्योगबाट सोझै नदीमा फोहर फ्याँक्ने उद्योगलाई १५ लाख जरिवाना पनि तिराएका छौँ । मधेस प्रदेश उद्योग विभागका महानिर्देशक सुशीलकुमार साहले विभागले उद्योग सञ्चालनका लागि अनुमति लिँदा गरेका प्रतिबद्धतालाई कडाइपूर्वक कार्यान्वयन गर्न निर्देशन दिए । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले सिर्सिया नदीमा फोहर फ्याँक्ने उद्योगले ट्रिटमेन्ट प्लान्ट जडान गरेको खण्डमा सिर्सिया नदीको ७५ प्रतिशत फोहर न्युनीकरण हुने बताए ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले सबै निकायको समन्वय र सहकार्यबाट मात्र सिर्सिया नदी सरसफाइ गर्न सकिने बताउनुभयो । जीतपुर सिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेलले जिल्लाका सुरक्षा र स्थानीय प्रशासनसँगको समन्वयमा नदीमा फोहरमैला फ्याँक्ने उद्योगलाई कारबाहीको दायरामा ल्याउने बताए ।

बाराका प्रजिअ वसन्त अधिकारीले पनि उपचारात्मक र दण्डात्मक सजायले मात्र फोहरमैला मिसाउने उद्योगलाई निरुत्साहित गर्न सकिने बताए । जीतपुरसिमरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन शर्माले तीनवटै सरकारले व्यवस्थित खालको वेष्ट ट्रिटमेन्ट प्लान्ट सञ्चालन गर्न बजेट विनियोजन गर्नुपर्ने जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE