कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बन्न लागेको ‘तरल नाइट्रोजन प्लान्ट’ भवनको आज शिलान्यास गरेका छन् । कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको पशुपन्छी विकास निर्देशनालयको परिसरमा उक्त भवन निर्माण गर्न लागिएको हो ।
४ करोड ८५ लाखको लागतमा सो भवन निर्माण गर्न लागिएको हो । भवन शिलान्यास गर्दै मुख्यमन्त्री कँडेलले उन्नत जातका पशुपन्छी उत्पादन गर्न प्लान्ट भवन निर्माणले सहज हुने बताए । यस्तै तरल नाइट्रोजन प्लान्ट स्थापनाले प्रदेशलाई दूधमा समेत आत्मनिर्भर बनाउन मद्दत पुग्ने उनको भनाइ छ ।
प्लान्ट स्थापनापछि गाई, भैँसीको नस्ल सुधार, उच्च गुणस्तरका पाडा र बाच्छा उत्पादन गर्ने लक्ष्य छ । मन्त्रालयले गत आर्थिक वर्षमा ४० लाखको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर काम अगाडि बढाएको थियो । यसबाट पशुको वीर्य भण्डारण र कृत्रिम गर्भाधान नस्ल सुधार गर्न सहज हुने छ ।
प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले बाहिरबाट खरिद गरेर ल्याइएका उच्च जातका राँगा र साँढेको वीर्यलाई सुरक्षित राख्न र कृत्रिम गर्भाधान प्रक्रियामा प्रयोग गर्न भवन सहयोगी हुने बताए ।
प्रतिक्रिया दिनुहोस्