काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले माघ २१ गतेदेखि अवितरित ४ लाख ९२ हजार ५ सय ७७ कित्ता हकप्रद सेयर लिलाम मार्फत बिक्री गर्ने भएको छ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। सेयर खरिदको लागि आवेदन पेश गर्दा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिने व्यवस्था गरेको एक सूचनामार्फत कम्पनीले जानकारी दिएको छ ।
उक्त सेयर खरिदको लागि जोकोही व्यक्ति वा संस्थाहरुले फागुन ५ गते कम्पनीको प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, ठमेल काठमाडौं वा एलआईसीका विराटनगर, वीरगंज, पुतलीसडक, पोखरा, नेपालगञ्ज, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने सक्नेछन् ।
कम्पनीले कात्तिक ९ गतेसम्म कायम सेयरधनीका लागि गत मंसिर १२ देखि पुस १७ गतेसम्म ८८.४५ प्रतिशतका दरले २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको थियो।
बिक्री अवधिभर रितपूर्वक आवेदन दिएका ११ हजार ४६८ जनालाई २ करोड २९ लाख ७५ हजार ४२३ कित्ता सेयर बाँडफाँड गरेको थियो। यसरी बाँडफाँडपछि बाँकी रहेको सेयर अब लिलाम मार्फत् बिक्री गर्न लागेको हो।
प्रतिक्रिया दिनुहोस्