Shikhar Insurance
National Life

विश्वसनियता गुमाउँदै एलआईसी नेपाल, बीमा किन्ने भन्दा छाड्ने धेरै

प्रमिला भट्ट
२०८१ पुष २४, बुधबार ११:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) ले बीमीतहरुको विश्वास क्रमश: गुमाउँदै गएको छ । दाबी भुक्तानीमा ढिलाई, अभिकर्ताहरुको गिर्दो मनोबल र नेतृत्वको अक्षमताका कारण एलआईसी नेपालप्रति बीमितहरुको विश्वास घट्दै गएको हो ।

अहिले एलआईसी नेपाल इतिहासकै कठिनतम अवस्थाबाट गुज्रिरहेको छ भन्ने तथ्य बुझ्नका लागि कम्पनीले संकलन गरेको प्रथम बीमा शुल्क र सरेण्डरको तथ्यांक हेर्नुपर्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा कम्पनीले जम्मा एक अर्ब २ करोड ७० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । जीवन बीमा कम्पनीहरुका लागि प्रथम बीमा शुल्क नै नयाँ बीमा व्यवसाय हो र त्यसले नै कम्पनीको बिजनेश ग्रोथ पनि देखाउँछ । तर पाँच महिनामा १ अर्ब २ करोड ७० लाख रुपैयाँ प्रथम बीमा संकलन गर्न सकेको कम्पनीमा सरेण्डरको आँकडा भने एक अर्ब ९३ करोड ३५ लाख रुपैयाँ पुगेको छ । मंसिर मसान्त सम्ममा आईपुग्दा ११ हजार ७ सय ९३ जना बीमितले एलआईसी नेपाल छाडेका छन् । अर्थात यी ति बीमित हुन्, जसले एलआईसी नेपालमा रहेको आफ्नो बीमा पोलिसी सरेण्डर (समर्पण) गरेर पैसा निकाले ।

एलआईसीमा बीमा गराउने भन्दा छाड्नेहरुको संख्या बढेसँगै कम्पनीको संस्थागत सुशासनमै पनि प्रश्न उठ्न थालेको छ । जीवन बीमा कम्पनीको व्यापारको साइकल हेर्ने हो भने कम्पनीको बिजनेश घटेको देखिन्छ । अर्थात एलआईसी नेपालमा नयाँ बीमा थपिने भन्दा पोलिसी सरेण्डरको आकार १८८.२६ प्रतिशतले बढेको छ ।

एलआईसी नेपालका सूचना अधिकारी सुदर्शन गिरीले आर्थिक गतिविधिमा सुस्तता आउँदा नयाँ बिजनेश ग्रोथ कम देखिएको र त्यो स्वभाविक पनि भएको बताए ।

उनले सिंहदरबारसँग भने –‘इकोनमिक क्राइसिसको करणले गर्दा पनि समस्या आएको हो, बीमा गर्ने पनि नियम अनुसार हो र लिने पनि बीमा नियम अनुसार हो । बीमीतले पैसा झिक्ने पनि नियम अनुसार नै हो, बीमीतले आफ्नो पैसा झिक्छु भन्दा दिनुपर्छ।’

 किन बढ्यो बीमा सरेण्डर?

पछिल्लो समयमा बिमा पोलिसी सरेन्डर गर्ने क्रम बढेको छ । बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को ५ महिनामा १४ जीवन बीमा कम्पनीका ४५ हजार ६० बीमितले ६ अर्ब १० करोड ७६ लाख ४२ हजारको बीमा सरेण्डर गरेका छन् ।

प्रधिकरणका एक कर्मचारीले सिंहदरबारसँग भने, ‘बीमा सरेण्डर  हुनुमा ठूलो इष्यू हुन सक्छ । बीमा किन्न नसक्ने असक्षम व्यक्तिहरुलाई एजेन्टहरुले प्रलोभ (उचालेर)  किन्न लगाए भने पनि सरेण्डर हुन्छ ।’उनले थपे ‘बीमा एउटा बचत हो जसअनुसार सट्रेन समयपछि पैसा फिर्ता गर्ने सक्छन्, बीमीतको कमजोर आयस्रोत भएको कारणले बीमा रेगुलर गर्ने नसकेपछि सरेण्डर हुन्छ। सरेण्डर हुनु भनेको कुनै पनि कम्पनीको लागी राम्रो कुरा होइन । सरेण्डर भयो भने कम्पनीको बिजनेश रेगुलर हुँदैन । कम्पनीहरुको बिजनेश रेगुलर हुँदा २० वर्षे योजना गरेको प्रोडक्ट बीचमा नै कटअफ भएर जादा बिजनेश फण्ड जान्छ । एजेन्टहरु कमिशनको बेसमा अघि बढेको कारणले गर्दा धेरै बीमा सरेण्डर गर्नेको संख्या बढेको हो । कम्पनीहरुले विभिन्न स्किीमहरुको प्रचार- प्रसार गरेका हुन्छन् र लोभमा सबैले गर्छन पछि कम्पनीले प्रचार गरेको सुविधा दिन सक्दैनन् त्यस कारणले गर्दा पनि सरेण्डर बढेको हो ।’

 कुन कम्पनीको कति छ बीमा सरेण्डर ?

आर्थिक वर्षको मंसिरमसान्तसम्म जीवन बीमा कम्पनीहरुको पोलिसी सरेण्डर बढेको छ । पोलिसी सरेण्डरमा धेरै हुनेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) परेको छ । नेपाल बीमा प्राधिरकणको तथ्याङ्क अनुसार एलआइसीको १ अर्ब ९३ करोड ३५ लाख रुपैयाँ बराबरको ११ हजार ७ सय ९३ वटा बीमा पोलिसी सरेण्डर भएको छ ।

यसैगरी, राष्ट्रिय जीवन बीमा कम्पनीको ५१ करोड ३२ लाख बराबरको ५ हजार ४ सय १० वटा बीमालेख सरेन्डर भएको छ । मेट लाइफको १७ करोड २३ लाख रुपैयाँ बराबरको १ हजार ५ सय १६ वटा बीमा सरेण्डर भएको छन् भने सानीमा रिलायन्स इन्स्योरेन्सको १० करोड ९५ लाख रुपैयाँ बराबरको ७ सय ८७ वटा सरेण्डर भएको छ ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको ४० करोड १४ लाख बराबरको ३ हजार ७ सय ५२ रहेको छ भने नेशनल लाइफ इन्स्योरेन्सको ३७ करोड ११ लाख बराबरको २ हजार ५ सय ४१ वटा बीमालेख सरेण्डर भएको छ ।

नेपाल लाइफको १ अर्ब ६७ करोड ९६ लाख रुपैयाँ बराबरको १० हजार ३१७ बीमितले बीमालेख सरेन्डर गरेका छन् । सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३२ करोड ६४ लाख रुपैयाँ बराबरको २ हजार ४ सय ८८ वटा बीमालेख बन्द भएको छ । हिमालन लाइफको २८ करोड ३० लाख रुपैयाँ बराबरको ३ हजार ३३ वटा बीमालेख सरेण्डर भएका छन् भने आइएमई लाइफ इन्स्योरेन्सको ८ करोड ४३ लाख रुपैयाँ बराबरको ७ सय ६३ वटा सरेण्डर भएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सको ८ करोड रुपैयाँ बराबरको १ हजार १ सय ८ वटा सरेन्डर भएको छ भने प्रभू महालक्ष्मी लाइफको ७ करोड ८० लाख रुपैयाँ बराबरको ५ सय ४९ वटा बीमालेख सरेण्डर भएको छ । रिलायबल लाइफ इन्स्योरेन्सको ४ करोड ४६ लाख रुपैयाँ बराबरको ७ सय ८ वटा बीमा सरेण्डर भएको छ ।

साथै, सन नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ९४ लाख रुपैयाँ बराबर २ सय ९७ वटा बीमा सरेण्डर भएको छ । गत आर्थिक वर्ष २०७९/०८० को मंसिरसम्म ४४ हजार ७ सय ४४ बीमितले ५ अर्ब ४७ करोड ७१ लाख रुपैयाँ बराबरको बीमालेख सरेण्डर गरेका थिए ।

 १४ बीमा कम्पनीहरुको कति छ बीमाशुल्क ?

चालु आर्थिक वर्षको मंसिर महिनासम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले कुल ६५ अर्ब रुपैयाँ बढीको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले पाँच महिनामा ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

पाँचमहिनामा सबैभन्दा धेरै बीमा बीमाशुल्क उठाउनेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले पाँच महिनामा १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यसैगरी, सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्नेमा दोस्रो नम्बरमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले ७ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले ७ अर्ब ६६ करोड ३६ लाख रुपैयाँ उठाएको छ भने हिमालयन लाइफ इन्स्योरेन्सले ६ अर्ब ७९ करोड १४ लाख रुपैयाँ उठाएको छ । सूर्य ज्योति लाइफ इन्स्योरेन्सले ३ अर्ब ९९ करोड ६८ लाख रुपैयाँ उठाएको छ भने एशियन लाइफ इन्स्योरेन्सले ३ अर्ब ३६ करोड ४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सले २ अर्ब ६५ करोड ५४ लाख, सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सले २ अर्ब ५९ करोड ७५ लाख रुपैयाँ, मेट लाइफ इन्स्योरेन्सले २ अर्ब ३३ करोड २० लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमाले २ अर्ब २५ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको छ ।

पाँच महिनामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको कुल बीमा शुल्क १ अर्ब ९४ करोड २५ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १ अर्ब ९२ करोड १५ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सको १ अर्ब ८९ करोड ४९ लाख रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सको १ अर्ब ५७ करोड ५६ लाख रुपैयाँ रहेको बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्