Skip to content
Shikhar Insurance
National Life

दाँत स्वास्थ्यबारे सामाजिक बुझाइमा परिवर्तन गरौँ: स्वास्थ्यमन्त्री

Hyundai
NCELL
NIMB

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले दाँत स्वास्थ्यका बारेमा सामाजिक बुझाई परिवर्तन गर्नुपर्ने बताएका छन् । बिहिबार काठमाडौंमा आयोजित ‘नेपालमा मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था तथा चुनौतीहरु’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले बिग्रिएका दाँतहरु कस्मेटिक पद्दतीबाट मिलाउने कार्यलाई दाँतको स्वास्थ्यसँग जोडेर आमसर्वसाधारण भ्रममा परेको बताए । उनले शरीर स्वस्थ राख्नका लागि दाँत स्वस्थ राख्नुपर्नेमा जोड दिदैँ दाँत उपचारका लागि अस्पताल, उपकरण तथा जनशक्तिको अनिवार्य आवश्यकता हुने बताए । दाँतको स्वास्थ्यसँग शरीरको स्वास्थ्य जोडिएको उनको भनाइ छ ।

उनले भने, ‘दाँतको उपचारलाई कस्मेटिक उपचार मानिन्छ, त्यो गलत छ । यो स्वास्थ्य उपचारभित्रै पर्छ । भित्र परेका दाँतहरु बाहिर ल्याउने मात्रै त्यो उपचार होइन, दाँतको सम्बन्ध शरीरसँग हुन्छ । त्यसैले स्वस्थ शरीरका निम्ति स्वस्थ दाँतको आवश्यकता पर्छ । यो कुरा हामीले बुझाउन सकिरहेका छैनौँ । यसका लागि अनिवार्य रुपमा अस्पताल र उपकरण हुनुपर्छ । त्यसअनुसार जनशक्ति हुनुपर्छ । यो गरेपनि हुने नगरेपनि हुने जस्तो सोचाइ छ यो गलत हो । शरीर स्वास्थ्य राख्नका निम्ति अभिन्न रुपमा दाँतको स्वस्थता जोडिएको हुन्छ । जुन खालको न्यारेटिभ छ त्यो बदल्नु आवश्यक छ ।’

मन्त्री पौडेलले नेपालमा दाँत सम्बन्धी जनशक्तिको उत्पादन भइरहे पनि समाजले दाँत स्वास्थ्यका बारेमा नबुझेका कारण चिकित्सकहरु विदेश पलायन हुनुपरेको बताए । उत्पादित जनशक्तिले नेपालमै सेवा दिने व्यवस्था मिलाउनका लागि समाजले उक्त विषयको आवश्यकता महशुस गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘अहिले जनशक्ति उत्पादन भइरहेको छ । सरकारी तहले पनि त्यसलाई पूर्ण प्राथमिकतामा राख्न नसकेको कारणले तथा समाजले पनि यसको उपचार पद्दतीलाई गम्भीर ढंगले जे हो त्यही रुपले नबुझेको कारणले हामीले जनशक्ति नेपालमै राख्न सकिरहेका छैनौँ । उत्पादित जनशक्तिलाई नेपालमै राख्ने स्थिति बनाउनका लागि कुनैपनि पदको कुनै पनि कामको कुनैपनि व्यवसायको सान्दर्भिकता त्यो समाजले बुझेको हुनुपर्छ । त्यो समाजलाई त्यो व्यवसायको कामको आवश्यकता महशुस हुनुपर्छ ।’

मन्त्री पौडेलले देशभरका सबै संघीय अस्पतालमा दाँतको दरबन्दीको व्यवस्था गरी उपचार इकाइ बनाउने प्रतिवद्धता जनाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्