काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषिलाई आधुनिक प्रविधि प्रयोग गरेर व्यवसायिकरण गर्नुपर्ने बताएका छन् । सोमबार सिंहदरबारमा आयोजित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा उहाँले यस्तो बताएका हुन् ।
उनले अहिले भइरहेको पुरातन खेती प्रणालीले कृषिमा आत्मनिर्भर बन्न नसकिने बताउँदै वर्षभरी माटोसँगै खेल्ने किसानकै घरमा ६ महिना पनि खान नपुग्ने अवस्था रहेको बताए । उनले कृषिलाई व्यवसायिकरण गर्नका लागि विभिन्न चरणमा नीति निर्माण गरी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।
खाद्यवस्तु आयात गरेर सधैँ गुजारा नचल्ने भन्दै उनले मन्त्रालयले ठोस नीति निर्माणका लागि मन्त्रालयले गम्भीरतापूर्वक सोचेको बताए ।
उनले भने, ‘जमिन छैन मल बीउ पनि किन्न सक्दैन, तर उ गरिबीमा बाँचेको छ, वर्षभरी माटोमा खेल्छ ६ महिनाभन्दा बढी खान पुग्दैन । नम्बर एक यसका विषयमा सोचौँ, दोस्रो नम्बर मध्यम खालको जसले वर्षभरी खेती गर्छ र उ बाँच्नसक्छ । त्यसका विषयमा सोचौँ र तेस्रो व्यवसायिक किसान । हामीले यसको पेरिफेरिमा रहेर यो नीति बनाउन सक्यौँ भने हामी दौडेर जहाँ पुग्न खोजेको हो पुग्न नसकौँला तर यस्लाई कार्यान्वयन चरणमा लैजान र व्यवस्थापन गर्नसक्यौँ भने नेपालले यति कल्पना गरे पुग्छ अहिलेका लागि । तर हामीसँग अर्को चुनौती के छ भने हामी के सधैँ आयातले मात्रै बाँच्ने ? आयातको भरले बाँच्न सकिँदैन सिङ्गो नेपाली बाँच्नुपर्यो । मैले गरेको खेतीले १० जनालाई पुगोस्, मैले गरेको व्यवसायले लाख मान्छेलाई पुगोस् । त्यो ढंगबाट सोच बनाए अगाडि बढौँ ।’
मन्त्री अधिकारीले किसानलाई गरिबीबाट मुक्त दिलाउने गरी तल्लो तहका किसानलाई अगाडि बढाउन नीति निर्माणका लागि सुझाव पेश गर्न समिति सदस्यहरुलाई आग्रह गरे । मन्त्रालयमा आएको सुझावहरु एकीकृत गरी नीति निर्माण तहमा पुर्याउने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्