भोजपुर । भोजपुर नगरपालिका ९ ले नयाँ प्रशासनिक भवनबाट सेवा थालेको छ । वडाले स्थानीयवासीलाई पायक पर्ने स्थान पानीट्याङ्की नजिक ३४ लाख लागतमा कार्यालय भवन निर्माण गरेर सेवा प्रवाह थालनी गरेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिएका हुन् ।
भवन निर्माणको लागि स्थानीयवासी ललित तामाङले नि:शुल्क एक रोपनी जग्गा प्रदान गरेका थिए । ‘आफ्नै कार्यालय भवनबाट सेवा प्रवाह गरिरहेका छौँ’ वडाध्यक्ष तामाङले भने ‘यहाँ कार्यालय सञ्चालनको लागि भवन नहुँदा धेरै समस्या थिए । नगरपालिकामा एक वटा कोठाबाट लामो समयसम्म सेवा प्रवाह गरियो । अहिले आफ्नै कार्यालय भवन हुँदा सेवा प्रवाहमा सहजता भएको छ ।’
आफ्नै वडामा कार्यालय भवन निर्माण भएर सेवा प्रवाह भएपछि सहजता भएको स्थानीयवासी धनबहादुर तामाङले बताए । ‘वडामा नै कार्यालय नहुँदा हामीलाई वडाको सेवा लिन समस्या थियो’ उनले भने ‘माथिल्लो क्षेत्रका नागरिक सेवा लिन सदरमुकामसम्म जान धेरै समय लाग्यो । अहिले वडाबाट सेवा शुरु भएपछि हामीलाई सहजता छ ।’
वडाको सेवा सवैलाई सहज हुने तथा पायक पर्ने स्थानबाट सेवा प्रवाह भएपछि स्थानीयबासी खुसी भएका छन् । वडा भवन नहुँदा माथिल्लो भेगका नागरिकलाई एकदेखी डेढ घण्टा धाएर सेवा लिनु पर्ने अवस्था थियो ।
प्रतिक्रिया दिनुहोस्