Skip to content
Shikhar Insurance
National Life

विगत ११ वर्षदेखि व्यावसायिक कृषिखेतीमा सक्रिय खत्री, बर्सेनि १२ लाख बढी आम्दानी

Hyundai
NCELL
NIMB

पर्वत । जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छन् । कृषि पेसाबाट गाउँमै केही गर्न सकिन्छ भनेर विगत ११ वर्षदेखि व्यावसायिक कृषिखेतीमा सक्रिय खत्रीले च्याउ र तरकारीखेतीबाट बर्सेनि रु १२ लाखभन्दा बढी आम्दानी गर्न थालेकी छन् ।

चारवटा गुम्बज टनेलमा कन्ये र गोब्रे च्याउखेती उत्पादन गरी छिमेकी जिल्ला बागलुङ, म्याग्दी र पर्वतको कुश्मा बजारमा खपत गर्ने गरेको अगुवा कृषक खत्रीको भनाइ छ । यस वर्ष च्याउबाट मात्रै रु सात लाखभन्दा बढी आम्दानी भएको उनले बताइन् । ‘च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छु, उत्पादित च्याउको बिक्रीका लागि कुनै समस्या छैन’ कृषक खत्रीले भनिन् ।

गोब्रे च्याउको प्रतिकिलो रु ५०० र कन्येलाई रु २०० मा बिक्री गर्ने गरेका उनले गोब्रे च्याउबाट यस वर्ष रु पाँच लाख र कन्ये च्याउबाट रु दुई लाख आम्दानी भएको बताइन् । कच्चापदार्थसहितका साम्रगीसमेत तयार गर्ने गरेकी कृषक खत्रीले सात रोपनी जमिनमा उत्पादन हुने अन्य तरकारीबाट रु पाँच लाखको बिक्री गर्छिन् ।

च्याउबाहेक मौसमअनुसार काँक्रो, घिरौँला, बोडी, सिमी, करेला, भन्टा, खुर्सानी, धनियाँ, गाजरलगायतका तरकारी उत्पादन गर्दै आएको बताइन् । तीनवटै जिल्लाका सदरमुकाम नजिकै रहेको र कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक नजिकै रहेकाले उत्पादित च्याउ र तरकारी बजारीकरणमा समस्या नरहेको उनले बताइन् ।

खत्रीले यस वर्ष उच्च प्रविधिको टनेल थपेर बाह्रै महिना च्याउखेती गर्न थालेकी छन् । उनले वातानूकुलित टनेलमा जाडो तथा गर्मी दुवै याममा च्याउ उत्पादन हुने बताइन् । अब च्याउखेतीबाट निरन्तर आम्दानी हुने उनले बताइन् ।

सामाजिक एवं राजनीतिक रुपमा सक्रिय रहेकी खत्रीले राम्रो उत्पादन दिने र श्रमिक पनि कम लाग्ने हुँदा च्याउखेतीलाई विस्तार गर्दै गइकी छन् । वैदेशिक रोजगारीबाट फर्किएका श्रीमान् भीमबहादुर केसीले च्याउ र अन्य तरकारीखेतीको उत्पादन तथा बजारीकरणमा सघाइरहेका छन् ।

अहिले दम्पतीका अलावा समय–समयमा ज्यालादारी मजदुर खोजेर तरकारीखेती गर्ने गरेको उनको भनाइ छ । खेती गर्नलाई धेरै ठूलो ठाउँ, समय पनि नचाहिने र बेच्नलाई सजिलो भएकाले यसप्रति श्रीमान्ले विदेश नगई सघाउन थालेको खत्रीले बताइन् ।

मेहनत गर्ने हो श्रीमान्ले विदेशमा कमाउने पैसा दुवै मिलेर यहीँ दु:ख गरी कमाउन सकिने खत्रीको अनुभव छ । खत्रीले च्याउखेतीबाट भएको कमाईले छोरीलाई उच्च शिक्षाका लागि विदेश पठाउन सफल भएकी छन् भने छोरालाई समेत निजी विद्यालयमा पढाएकी छन् ।

यसका अलावा बैैकमा बचत गर्न सफल भएको उनले बताइन् । मेहनत र परिश्रम गर्ने हो भने पैसा कमाउन विदेश जान पर्दो रहेनछ भन्ने आफ्नो अनुभवले देखाएको उनले बताइन् । पछिल्लो समय गाउँपालिकामा व्यावसायिक रुपमा लाग्ने कृषकको आकर्षण बढेको रहेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।

‘गाउँपालिकाले पनि प्रोत्साहन गरिरहेको छ, अबका दिनमा च्याउखेतीमा अनुदान समेत बढाउँछौँ’ आचार्यले भने । च्याउ एक बहुउपयोगी खाद्य पदार्थ हो । च्याउमा तरकारी तथा मासुमा पाइने सबै प्रकारका प्रोटिन तत्व पाइने र सजिलैसँग पचाउन सकिने भएकाले बच्चादेखि वृद्धवृद्धाका लागि अति उपयोगी छ ।

च्याउमा पानीको मात्रा ९० प्रतिशत पाइने हुनाले यो एकदम महत्त्वपूर्ण मानिन्छ । च्याउले क्यान्सर, मुटुरोगजस्ता रोग लाग्नबाट बचाउँछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्