काठमाडौं । आइएमई ग्रुप र आइएक्सआइ कर्पले संयुक्त रुपमा काठमाडौं टेक्निकल स्कुल (केटिएस) सञ्चालनमा ल्याएका छन् । रोजगार बजारमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले उक्त स्कुल सञ्चालन गरिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले धुम्बाराहीमा आज आयोजित एक समारोहबीच सो स्कुलको शुभारम्भ गरे । सो अवसरमा उनले सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी तथा गरिबीको समस्या समाधान गर्नसकिने भएकाले सरकारले निजी क्षेत्रसँगको साझेदारीलाई प्राथमिकतामा राखेको बताए ।
‘प्राविधिक जनशक्ति उत्पादन सरकारको प्राथमिकतामा छ, सीप विकास तथा प्राविधिक जनशक्ति उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ’ मन्त्री भण्डारीले भने । स्वेदशमै रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारमा पनि सीप आवश्यक पर्ने भएकाले दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गरी सरकार अगाडि बढ्ने उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो स्कुल सञ्चालनसँगै अब आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको बताए । उनले सो स्कुलले हजारौँ युवालाई रोजगार वा स्वरोजगार बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
‘नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा नयाँ युगको सुरुआत गर्ने लक्ष्यका साथ स्कुल स्थापना गरिएको हो । यस स्कुलले विशेषगरी रोजगारी, शिक्षा, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान दिने हाम्रो अपेक्षा छ’ उनले भने ।
काठमाडौं टेक्निकल स्कुलका अध्यक्ष मनोज पौडेलले आगामी १० वर्षमा एक लाखभन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्यमा स्कुलले सहयोग गर्ने बताए । उनले स्कुलले युवालाई विश्वस्तरीय तालीम तथा शिक्षा प्रदान गर्ने लक्ष्य राखेको उल्लेख गरे । केटिएसले आफ्ना विद्यार्थीलाई विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्षम बनाउन स्थानीय तथा राष्ट्रियस्तरका उद्योग व्यवसायका साथै अन्तरराष्ट्रिय साझेदारसँग पनि सहकार्य गर्ने अध्यक्ष पौडेलको भनाइ थियो ।
त्यस अवसरमा सरकार, निजी क्षेत्र, विदेशी कूटनीतिक नियोग तथा दातृ निकायका प्रतिनिधि र सरोकारवालाको उपस्थिति थियो । स्कुलले हस्पिटालिटी, कुलनिरी आर्टस, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङलगायत रोजगारमूलक तथा स्वरोजगारमूलक विधामा तालिम सञ्चालन गर्नेछ । स्कुलले आगामी एक दशकमा एक लाखभन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्