कर्णाली । उमेरका हिसाबले सुष्मा हमाल भर्खर १७ वर्षकी भइन् । सानो उमेर भए पनि क्षमता र विश्वासका दृष्टिले एउटा परिपक्व युवाभन्दा कम छिन । हिमाली जिल्ला जुम्ला तिला गाउँपालिका–४ जुम्लास्थित साँपुल्ली गाउँ निवासी उनी अहिले सरस्वती प्राविधिक माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छिन ।
अलि चञ्चले र खुला स्वभावकी सुष्माको पारिवारिक, आर्थिक एवं शैक्षिक हिसाबले अवस्था निकै कमजोर छ । प्रौढ शिक्षा पढेर सामान्य आफ्नो नाम लेख्न बाहेक अरु खासै आउँदैन सुष्माको आमा कमला शाहीलाई । मेलापात र नानीहरुलाई दैनिक खानाको जोहो गर्ने दिनचर्याले माथि उठ्न नदिदा उनलाई सरकारी विद्यालयमा पढ्ने उनीहरुको प्रगति र दुर्गति दुवैका बारेमा बुझ्ने समय हुँदैन ।
मजदुरीका लागि बर्सेनि कालापहाड जाने सुष्माका बुबा खड्गबहादुर हमालको पनि सामान्य लेखपढभन्दा बढी छैन । घरमा तीन महिना पुग्ने अन्न उब्जिदैन । गिट्टी कुटेर वा बालुवा बोकेर कमाएको पैसाले हातमुख जोड्नुपर्ने बाध्यता छ, उनको परिवालाई । बुबा मजदुरीका लागि कालापहाड (भारत) र आमा सुष्मालगायत उनका भाइबहिनीको स्याहार गर्दै आएक छन् । खड्गबहादुर कालापहाड गएको करिब वर्ष दिन पुग्न थाल्यो, अहिलेसम्म घर फर्केका छैन ।
निम्नवर्गीय परिवारकी सन्तानका रुपमा जन्मेकी सुष्माको सोच र सपना भने उच्च कोटीको छ तथापि कहिले कापी, किताब र कलम किन्न पैसाको निकै अभाव खट्किन्छ । विद्यालयमा आफ्नै साथीहरुबीच उनी फरक धारणा र प्रस्ताव प्रस्तुत गर्छिन् । अलि खरो स्वभाव भएकी सुष्मा यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बन्दै आएक्ी छिन । यसमा श्री ज्योति फाउण्डेसनद्वारा यही बैशाख २७ देखि २९ गतेसम्म सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली छोरी सम्मेलन’ महत्त्वपूर्ण अवसर बन्यो ।
सम्मेलनमा उनले खस भाषामा आफ्नो एकल नाटक प्रस्तुत गरिन् । कुनै तयारी बिना नै पहिलोपटक मञ्चमा उक्लेकी उहाँले एकल नाटकबाट दर्शकलाई क्षणभरमै प्रभावित बनाइन् । दर्शकदीर्घामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल, मन्त्रीहरु, प्रदेशसभा सदस्यहरुसहित विशेष व्यक्तिहरुको उल्लेख्य सहभागिता थियो ।
मञ्चमा पुगेर खस भाषामै उनले भनिन् ‘आइगइ कर्णालीकी छोरी खस भाषा लिएर, गरिबहरुका कुडा सुन्दिने आखिर को थिए र ? हाम्रा कुडा सुन्दिने कोइनाइ, नापा नापा (थोरै) सुन्दिया पुनि भुन्दिन्या कोही नाई । यसबाट उदेक मात्र होइन, कर्णाली अनि आफ्नै अवस्था हेरेर रुने मन लाग्यो । तथापि सम्मेलनका सहभागीहरुलाई उहाँले सके उड, उड्न सक्दैनौँ दौड, दौड्न सक्दैनौँ हिँड, हिँड्न सक्दैनौँ घिस्र, जीवनमा कहिले नहार तर प्रयास गर एकदिन अवश्यक लक्ष्यबिन्दुमा पुग्नेछौँ भन्ने ऊर्जा पनि दिइन् ।
मञ्चमा सुष्माले नेपालको संविधानले व्यवस्था गरेका मौलिक हकलगायतका विभिन्न अधिकार, सङ्घीय संरचनाअनुरुप गठित तीनै तहका सरकारमा रहेर काम गर्ने जनप्रतिनिधिको कार्यक्षमता र शैली, शिक्षक शिक्षिकहरुको भूमिका र सिङ्गो नेपालको राजनीतिक प्रणालीमाथि व्यङ्ग्य गरिन । न्यायिक समितिको संयोजकमा रहेर काम गर्दै आएका पालिकाका उपाध्यक्षहरुको न्याय सम्पादन कमजोर रहेको र कति त आफैँ अन्यायमा परेको सवाल समेत उनले उठान गरिन् ।
सुष्माको अभिव्यक्तिको आशय थियो, सरकार प्रमुखहरुको जिम्मेवारी र उत्तरदायित्व, विभिन्न निकायमा काम गर्नेहरुको कार्यशैलीकै कारण आज समाजका बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सिङ्गो नागरिकले दु:ख पाउँदै आएका छन् । गाउँबाट राजधानी सुर्खेत वीरेन्द्रनगरमा पहिलोपटक पुगेकी बालिकाको उक्त प्रस्तुतिले सबैलाई आश्चर्यचकित पारेको थियो ।
मञ्चमा उभिएकी सुष्माले निर्धक्कका साथ भन्दै थिइन्, ‘भाषणले देश बन्दैन, असल नियत राखेर काम गर्नुपर्दछ । जातीय विभेद आजसम्म पनि अन्त्य भएको छैन । कुर्सीमा बस्नेहरुले नै नागरिकलाई अपमान गर्दै आएका छन् । कृषि क्षेत्रलाई नीति, कार्यक्रम र बजेटमा राखे पनि कार्यान्वयन प्रभावकारी छैन ।’
उनको अभिव्यक्ति र अभिनय राष्ट्रियस्तरमा आफ्नो क्षमता देखाई पर्याप्त अनुभव लिइसकेका कलाकारहरुभन्दा कम थिएन । सुष्माको कलात्मक प्रस्तुतिले कुनै पनि क्षमता र प्रतिभावान व्यक्तिहरुको गतिशीलतालाई गरिबी र विकटताले छेक्न सक्दैन भन्ने उक्तिलाई चरितार्थ पार्दै सूचना, सञ्चार र प्रविधिको युगमा हरेकले आफूलाई सिर्जनशील र सकारात्मक बनाउँदै लैजानुमा नै ठूलो हित हुन्छ भन्ने सन्देश प्रवाह गरेको थियो ।
दलहरुका घोषणा, सङ्कल्प, प्रतिबद्धता जप्ने मन्त्रजस्तै भएकाले अब प्रतिफल र कार्यान्वयनमुखी विकासमा जोड दिनुपर्ने उहाँको सुझाव थियो । सुष्माका अनुसार अधिकार खोज्नेले पनि कर्तव्य पालना गर्नुपर्दछ । स्वर नभए पनि भविश्यमा गीत रेकर्ड गर्ने र देउडा गायिका बन्ने धोको राखेकी उहाँले गरिब, निमुखाहरुको हितमा काम गर्ने र समाजमा व्याप्त भ्रष्टाचार, बेथिति, विकृति एवं कुरीतिविरुद्ध बोलिरहने बताइन् ।
सरस्वती प्राविधिक माध्यमिक विद्यालयका प्रधानाध्यापक मानबहादुर सिंह हमाल अन्य विद्यार्थीभन्दा फरक भएको बताए । उनले भने ‘सुष्मा अत्यन्तै उत्सुक र जिज्ञासु छन् । समाजका विभिन्न खाले विषयमा विशेष सरोकार राख्छिन् । समाज बुझ्ने र बोल्ने कला उनीमा राम्रो छ । गीत, कविता रचना गर्ने र देउडा गाउनेतर्फ उनको बढी रुचि देखिन्छ । यसलाई निरन्तरता दिँदै अगाडि बढे उनी राष्ट्रको एउटा राम्रो कलाकार बन्ने सम्भावना छ ।’
सुष्माले आर्थिकरुपले परिवारिक अवस्था कमजोर भएकाले आफूले चाहेजस्तो गर्न नसकेको बताए । उनले भने ‘बाबा धेरैजसो समय घरमा नहुँदा आमालाई बढी दु:ख छ । हामीलाई खाना, लत्ताकपडा, कपी, किताब, कलमलगायतका आधारभूत आवश्यकता पूरा गर्न आर्थिक अभाव धेरै छ । त्यही दु:ख एवं सङ्घर्ष गरेर अभावभित्रै मेरो सुन्दर भविष्य निर्माण गर्ने यात्रामा लाग्नेछु ।’
प्रतिक्रिया दिनुहोस्