Shikhar Insurance
National Life

सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै

सिंहदरबार संवाददाता
२०८१ पुष २४, बुधबार १४:३३
Hyundai
NCELL
NIMB

गण्डकी । कास्कीको मादी गाउँपालिका–२ स्थित कप्रुडाँडाको पर्यटकीय सम्भावनालाई अध्ययन गरी पाँच वर्षअघि सडक सञ्जाल विस्तार भएसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र मादी गाउँपालिकाको सहकार्यमा पर्यटकीय सम्भावनाको अध्ययन गरी कप्रुडाँडालाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गर्न थालिएको हो ।

दश वर्षअघिसम्म कप्रुडाँडा भेँडीगोठ र गाईभैँसीको चरन क्षेत्र थियो । गोठालाहरूले पशुवस्तुु लिएर जाने स्थल अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको स्थानीय बताउँछन् । पर्यटकीय सम्भावना र चुनौतीबारे अध्ययन गरी पर्यटक लक्षित सुविधा सम्पन्न सडक, होटललगायत पूर्वाधार विकास गरेसँग यहाँ पुग्ने पर्यटकको सङ्ख्या बढ्दै गएको कप्रुडाँडास्थित होटल मिडनाइट क्याम्परर्सका सञ्चालक हिमाल गुरुङले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘वरपर ढपक्क ढाकिएका गुराँसे जङ्गलको बीचमा खुल्ला भूभाग, यहाँबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यसँगै मनास्लु हिमाल, अन्नपूर्ण दोस्रो, तेस्रो र चौथो, अन्नपूर्ण साउथ, माछापुच्छ्रे्र, मर्दी, बुद्ध, हर्क गुरुङलगायत हिमालको दृश्य एकसाथ नियाल्न सकिन्छ । यो ठाउँ पछिल्लो पाँच वर्षको अन्तरालमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बनेको छ’, उनले भने ।

यहाँको पर्यटकीय सम्भावनालाई दृष्टिगत गरी पाँच वर्षअघि बाटो पुुगेको थियो । महामारीले दुुई वर्ष पर्यटकीय गतिविधि प्रभावित भए पनि त्यसयता आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको होटल सञ्चालक हिमाल गुरुङले उल्लेख गरे । ‘यहाँ धेरै वर्ष अघि गोठ थिए, अहिले गोठ पनि छैनन्”, उहाँले भन्नुुभयो, ँयो पुरातात्विक ठाउँ पनि हो । क्होलोसोथारमा घले राजाको राज हुँदा कर उठाउन राजाले आफ्ना दूतलाई कप्रुडाँडासम्म पठाउँथे भन्ने इतिहास रहेको ज्येष्ठ नागरिकहरू बताउँछन् ।’

स्थानीयका अनुुसार गाउँको सिरानस्थित गोलो आकारको समथर भूभाग यस ठाउँमा पहिलेपहिले गाउँलेहरू गाईभँैसी चराउन आउँथे । ‘गाउँलेहरू घाँसदाउरा गरेर साँझमात्र घर फर्कन्थे । त्यसैले यो ठाउँ यहाँको परम्परागत जनजीविकासँग पनि जोडिएको छ । यहाँबाट करिब १० घण्टाको पैदलयात्रामा गुरुङ जातिको उद्गमस्थल क्होलासोथार पुग्न सकिन्छ’, यहाँका पर्यटन व्यवसायी भुपाल गुरुङले भने ।

पर्यटन व्यवसायी गुरुङका अनुसार कोरोना महामारीमा सामाजिक सञ्जालसहित अन्य माध्यमबाट प्रचारप्रसारका गतिविधि गरिएसँगै अहिले दैनिक एक सयदेखि एक ५० जनासम्म पर्यटक यहाँ पुग्ने गरेका छन् । वरपर जङ्गलैजङ्गलले घेरिएकाले विभिन्न प्रजातिका चराचुरुङ्गीका साथै रमणीय दृश्य, सुन्दर हिमालहरू अवलोकन गर्न पर्यटक आउने गरेका उहाँले जानकारी दिए ।

पदयात्रा र हाइकिङ रुचाउने पर्यटकहरू कास्कीको पर्यटकीय गुरुङ गाउँ ताङतिङबाट करिब चारदेखि छ घण्टाको पदयात्रा गरेर कप्रुडाँडा पुग्छन् । पछिल्लो समय यहाँ पुग्ने मोटरबाटो बनेपछि कतिपय निजी सवारीसाधन लिएर यहाँ आउने गरेका पर्यटन व्यवसायी गुरुङले जानकारी दिए । पोखराका साथै काठमाडौं, भक्तपुर, बुटबललगायत स्थानबाट पनि हिमाल हेर्न आन्तरिक पर्यटक यहाँ आउने गरेका उनले उल्लेख गरे ।

यस वर्षको क्रिसमस (पुस १० गते) बुटवलबाट १० जना युवा मोटरसाइकल लिएर यहाँ आएका थिए । यसअघि सामाजिक सञ्जालबाट जानकारी पाएको बताउँदै यहाँ आएपछि देखिएका हिमाली दृश्य, मनमोहक प्राकृतिक सुन्दरता, स्थानीय परिकारका स्वादसहितका खानालगायतले थप प्रभावित बनाएको युवा सुमन थापाले उल्लेख गरे ।

‘मोटरसाइकलबाट आउन सकिने कप्रुडाँडा हिमाल हेर्न, गुरुङ सम्पदा र रहनसहन बुझ्न, वातावरणीय सुन्दरता नियाल्न उत्कृष्ट गन्तव्य रहेछ’, अनुभव सुनाउँदै उनले भने ‘यस्ता ठाउँहरूको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनतर्फ सरोकार भएका निकाय र राज्यले ध्यान दिनु आवश्यक छ । यसले मुलुकको पर्यटन प्रवर्द्धन हुनुका साथै आर्थिक समृद्धि प्राप्त गर्न सकिन्छ ।’

विशेषत: केही वर्षयता हिउँ परेका समयमा पोखरा र आसपासका क्षेत्रबाट यहाँ आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने होटल व्यवसायी बताउँछन् । हिउँ परेपछि डाँडाका होटेलदेखि तल रहेको ताङतिङ गाउँमा पनि पर्यटकको घुइाचो अत्यधिक हुने होटल मिडनाइट क्याम्परर्सका सञ्चालक गुरुङले जानकारी दिए । हिउँ परेको समयमा ताङतिङ वा कप्रुमा बास बसेर भोलिपल्ट दिनभर हिउँ खेली पर्यटकहरू फर्कने गर्दछन् उनले भने ।

पर्यटकको आगमन बढ्न थालेपछि कप्रुडाँडामा चारवटा सुविधासम्पन्न होटेल सञ्चालनमा ल्याइएको पर्यटन व्यवसायी गुरुङले जानकारी दिए । उनका अनुसार यहाँ आएका पर्यटकलाई बेलुकाको चिया मकै, खाना, सुत्ने टेन्टको व्यवस्थासँगै भोलिपल्ट बिहानको खाजा, चियासमेत गरी एक हजार पाँच सयको प्याकेज निर्धारण गरिएको छ ।

समुद्री सतहबाट दुई हजार नौ सय मिटर उचाइमा रहेको कप्रुडाँडालाई गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्गअन्तर्गत समेट्दै यसको प्रवर्द्धनमा जोड दिएको सङ्घका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले बताए । पदयात्रा मार्गअन्तर्गत यही पुसको दोस्रो साता सिक्लेसबाट कपुचे–कोरी–ठूलोलेक–क्होलासोथार हुँदै कप्रुडाँडा र त्यहाँबाट याङ्जाकोटसम्मको प्रवर्द्धनात्मक पदयात्रा सम्पन्न गरिएको उनले जानकारी दिए ।

सङ्घका अध्यक्ष गुरुङका अनुुसार क्होलासोथार पुगेका पदयात्रीहरू त्यहाँबाट करिब चार घण्टा हिँडेर पुगिने तप्रामा बिहानको खाना खाएपछि थप पाँच घण्टा डाँडैडाँडा, पहाड, जङ्गल र हिमाल हेर्दै कप्रुडाँडा पुग्दछन् । गुराँसे जङ्गल, रङ्गीवीरङ्गी फूल, चराचुरुङ्गीको आवाजसँगै हिमालको दृश्यावलोकन गर्दै पदयात्रा गर्नु यहाँको विशेषता रहेको उनले बताए ।

भेँडीगोठ, नुन लिन जाने मार्ग, बस्तीसँगको परम्परागत सम्बन्धलगायत कारणले कप्रुडाँडालाई गुरुङ सम्पदा पदमार्गका रूपमा प्रवर्द्धन र विकास गर्न खोजिएको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष किशमकुमारी गुरुङले बताए ।

पछिल्ला समय जथाभावी बाटो खन्ने नाममा विभिन्न पदमार्गहरू छोटिएको अवस्थामा कप्रु र आसपासका क्षेत्रलाई गुरुङ सम्पदा पदमार्गसँग जोड्दै यी स्थलहरूको प्रवर्द्धन र विकासलाई सङ्घले प्राथमिकतामा राखी विविध गतिविधि गर्दै आएको सङ्घ गण्डकी प्रदेशका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । सङ्घको यस काममा स्थानीय, प्रदेश र सङ्घीय सरकारका साथै सरोकार भएका सबैले सहयोग र समन्वय गर्नुपर्नेमा उनले जोड दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्