तेह्रथुम । जिल्लाको म्याङ्लुङमा अपाङ्गता रोकथाम तथा पुन:स्थापनासम्बन्धी जिल्लाका सरोकार भएका व्यक्तिसँग एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
करुणा फाउण्डेसन नेपालको आयोजनामा सोमबार स्थानीय जनप्रतिनिधि, राजनीतिक दल तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिलगायत सरोकार भएकासँग अन्तरक्रिया भएको हो ।
प्रदेश र स्थानीय सरकार तथा करुणा फाउण्डेसनको साझदारीमा तेह्रथुममा अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रम सञ्चालन भइरहेको छ । सोही सन्दर्भमा अन्तरक्रिया कार्यक्रम गरिएको करुणा फाउण्डेसन नेपालका वरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोइरालाले बताए ।
उनले जिल्लामा अहिलेसम्म अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रमअन्तर्गत भएका कामहरूकाबारेमा अन्तरक्रियामा जानकारी गराएका थिए ।
उनका अनुसार हालसम्म उक्त कार्यक्रममार्फत स्थानीय तहहरूले जिल्लास्तरीय अभिमुखीकरण, पालिकास्तरीय अभिमुखीकरण, पालिका र करुणा नेपालबीच सम्झौता, सिविआर सहजकर्ता नियुक्ति तथा तालिम, अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क सङ्कलनलगायत कार्य भएका छन् ।
साथै, अपाङ्गता भएका व्यक्तिको स्वास्थ परीक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर सञ्चालन गरी एक हजार दुई सय १२ को पहिचान गरी अपाङगता परिचयपत्र वितरण गरिएको कार्यक्रम व्यवस्थापक कोइरालाले जानकारी दिए।
उनका अनुसार स्वास्थ्यकर्मीलाई जन्मदोष पहिचानसम्बन्धी तालिम, बालबालिकामा हुने कार्यगत सीमितता तथा अपाङ्गताको अवस्था पहिचानबारे शिक्षक तथा विद्यालय नर्सलाई तालिम प्रदान गरिएको छ ।
विद्यालय स्वास्थ्य परीक्षण प्रारम्भ, जन्मदोष पहिचान प्रारम्भ, जन्मेको २९ दिनदेखि पाँच वर्ष मुनिका बालबालिकाको परीक्षण प्रारम्भ, मिलिजुली समूह गठन तथा परिचालनलगायत कार्यक्रम गरिएको छ ।
प्रदेश सरकार, स्थानीय सरकार र करुणा फाउण्डेसनको साझेदारीमा सञ्चालित उक्त कार्यक्रम पछि भने अपाङ्गता भएकाहरूको सेवासुविधामा पहुँच विस्तार हुने आशा गरिएको करुणा फाउण्डेसका संयोजक केदार भण्डारीले बताए ।
उनले भने, ‘कार्यक्रम पछि २० प्रतिशत जन्मदोष दर र ४० प्रतिशतले जन्मजात हुने अपाङ्गताको दर घट्ने, ७० प्रतिशत अपाङ्गता भएका बालबालिका र २० प्रतिशत अपाङ्गता भएका वयस्क व्यक्तिको जीवन गुणस्तरमा सुधार हुने, ४० प्रतिशत सार्वजनिक भौतिक संरचना (स्थानीय तहभित्र रहेका) पहुँचयुक्त हुने, स्थानीय तहहरूले प्रदेश सरकारसँगको सहकार्यमा ८० प्रतिशत अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रमलाई निरन्तरता दिने विश्वास लिएका छौँ ।’
तीन वर्षसम्म सञ्चालन हुने उक्त कार्यक्रमको कूल लागतमा प्रदेश सरकारको १ करोड ८८ लाख, पालिकाको एक करोड ८८ लाख र करुणा फाउण्डेसनको एक करोड ८८ लाख रहेको भण्डारीले जानकारी दिए । उनका अनुसार हालसम्म रु ४६ लाख ५५ हजार खर्च गरिसकिएको छ ।
अन्तरक्रिया कार्यक्रमका सहभागी देउराली सोसाइटी तेह्रथुमका कार्यक्रम संयोजक कपिलदेव सिङ्घकले जिल्लामा सञ्चालन भइरहेको अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रम प्रभावकारी रहेको बताए ।
लामो समयदेखि गैरसरकारी संस्थामा रहेर सामाजिक काम गरे पनि यसरी अपाङ्गताका क्षेत्रमा सुक्ष्म ढङ्गले अहिलेसम्म काम गर्न नसकिएको उनले सुनाए । प्रदेश र स्थानीय सरकार तथा फाउण्डेसनको त्रिपक्षीय साझेदारीमा सञ्चालित उक्त कार्यक्रमले समुदायलाई दीर्घकालीन रूपमा लाभ पुग्ने उनले विश्वास व्यक्त गरे ।
प्रदेशसभाका सांसद किशोरचन्द्र दुलालले यो कार्यक्रमले अपाङ्गता रोकथाम तथा पुन: स्थापनामा सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
उनले यस कार्यक्रमलाई सफल बनाउन सबै पक्षहरूले सहकार्य र समन्वय गर्नुपर्ने भन्दै आफ्नोतर्फ आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस्