काठमाडौं । राजस्व अनुसन्धान विभागका निर्देशक प्रकाश पोख्रेल डेढ महिनाअघि कोटेश्वर स्थित नेपाल क्यान मुभ प्रालीको केन्द्रिय कार्यालय पुग्छन् । दलबल सहित कार्यालय पुगेका पोख्रेललाई ह्वाट्स एपबाट सुचना प्राप्त भइरहन्छ । प्रालीले मूल्य अभिवृद्धि कर (भ्याट) छलि गरेको भन्दै विभागका कर्मचारीहरुले कम्युटरबाट एक्सेलसिट डाउनलोड गर्छन् । निर्देशक पोख्रेललाई ह्वाटएप म्यासेजमा यो-यो विषय डाउनलोड गर्नु भनि निर्देशन प्राप्त भइरहन्छ ।
यसपछि राजस्व अनुसन्धान विभागले नेपाल क्यान मुभ प्रालीको अनुसन्धान सुरु गर्छ । प्रालीले राइडरहरुको भुक्तानीमा भ्याट छलि गरेको भन्दै थप तथ्यहरु अनुसन्धान शाखाले माग गर्दै जान्छ । अनुसन्धानले मागे बमोजिम सुचनाहरु प्रालीले उपलब्ध गराउँदै जान्छ ।
प्रालीका एक संचालकले भने, “हामी गलत उदेश्यबाट काम गर्ने मान्छे होइनौं । विभागको अनुसन्धानका लागि जति सुचना माग गरेका छन् सबै विवरण उपलब्ध गराएका छौं ।” यसपछि प्रालीले आफूले कुनै प्रकारका कर तिर्नु पर्ने भए तिर्न तयार छौं, छिटो अनुसन्धान टुङग्याइदिन अनुरोध गर्न थाल्छन् । प्राली स्रोतका अनुसार यदि कम्पनीले भुलवस कर छलि गरेको भए सबै कर तिर्न तयार रहेको र सोको असिस्मेन्ट टुङग्याउन आग्रह गर्छन् ।
यसपछि कम्पनीका संचलकहरुलाई चार्टर्ड एकाउन्टेन्ट दिपक आचार्यको फोन आउँछ । उनले प्रालीका संचालहरुलाई अनुसन्धानका निर्देशक प्रकाश पोख्रेल मेरो साथी हो । यो केस मिलाउन सकिन्छ म सक्छु भन्छन् । संचालकहरु पनि यो झमेलामा पर्नु भन्दा बरु केस मिलाउन राजी हुन्छन् । यसपछि हिसाब मिलान गर्न २० करोडको प्रस्ताव आउँछ । सो काम मिलाइदिए वापत सिए आचार्यले ५० लाख छुट्टै सर्भिज चार्ज आवश्यक पर्ने बताएको स्रोतको दाबी छ ।
सो प्रस्ताव सुनेपछि संचालकहरुले राज्यलाई जाने कर यसरी खर्च गर्न नसक्ने भन्दै आफ्नो मुद्दा अघि बढाउन भन्छन् । स्रोतका अनुसार सुरुमा २० करोडबाट सुरु भएको डिल १० करोड हुँदै ५ करोडसम्म आइपुगेको थियो । तर संचालकहरुले अनुसन्धानका लागि पुरै सघाउने र अदालतको आदेश मान्न तयार रहेको जवाफ दिए ।
स्रोतले भन्यो, “अघिल्लो दिन महानिर्देशक चण्डी घिमिरेसँगको भेटमा हामीहरु व्यवसायलाई अप्ठ्यारो पार्ने गरी कुनै काम गर्दैनौं कुनै धरपकड गर्दैनौं भनेका थिए। तर बिहानै प्रहरी परिचालन गरी कम्पनीको तीन जना कर्मचारी पक्राउ गरी थुनेको छ।”
स्रोतले थप्यो, “केश कसरी सेटल गर्ने भन्ने विषयमा महानिर्देशक घिमिरे र निर्देशक पोख्रेलबिच नै कुरा नमिलेको देखियो निर्देशक पोख्रेल सिए आचार्य मार्फत केस मिलाउन खोज्ने महानिर्देशक घिमिरे छुट्टै एजेन्ट खडा गर्न खज्ने दुई जनाको इगोको बिचमा कम्पनी फस्यो ।”
डील फाइनल नभएपछि महानिर्देशक घिमिरे आक्रामक बन्दै पक्राउ गर्न आदेश दिएको स्रोतको दाबी छ । कम्पनीका सेल्स हेड सहित तीन जना पक्राउ गर्न महानिर्देशक घिमिरेको हस्ताक्षर भएको तर नाम नाम उल्लेख नगरिएको पक्राउ पुर्जी लिएर शसस्त्र प्रहरी पुगेको थियो । कम्पनीमाथी बार्ग्रेनिङ गरेको प्रश्न गर्दा अनुसन्धानको विषयमा अहिले बोल्न नमिल्ने निर्देशक पोख्रेलले बताए । उनले सिंहदरबारसँग भने, “अहिले अनुसन्धानको विषयमा बोल्न मिल्दैन, संस्थागत धारणाका लागि सूचना अधिकारीलाई फोन गर्नु ।”
विभागका सुचना अधिकारी नवराज अधिकारीले व्यवसायीको एकतर्फी कुरा मात्रै सुन्न नहुने बताए । उनले सिंहदरबारसँग भने, “व्यवसायीहरुको एकतर्फी आरोपलाई मात्रै मान्न सकिदैन, यो विषयमा थप बुझेर मात्रै बोल्नु पर्ने हुन्छ ।”
‘राज्यलाई लाग्ने कर तिर्न तयार छौं’
नेपाल क्यान मुभ प्रालीका संचालकहरु राज्यलाई लाग्ने कर तिर्न तयार रहेको बताएका छन् । एक संचालकले भने, “हामी कानुन बमोजिम लाग्ने कर तिर्न तयार छौं, हामीले अहिले अवैध रुपमा विभागका कर्मचारीलाई पैसा बुझाएर उम्किदैनौं लाग्ने कर तिर्छौं तर राज्यलाई नै तिर्छौं । हाम्रो दाबी कर लाग्दैन भन्ने हो । यदि लाग्ने रैछ भने तिर्छौं। त्यसको वातावरण मिलाइदिन राजस्व अनुसन्धान विभागसँग धेरै अनुरोध गर्यौं, तर उहाँहरुको ध्यान ठूलो बिगो निकालेर तर्साउने पक्षमै छन्। अनुसन्धानमा सहयोग गर्दा झन् बढि दुख पाइरहेका छौं ।”
कर्पोरेट लडाई
सिए दिपक आचार्य केहि समय विदेश बसेर नेपाल फर्किएका हुन् । उनी नेपाल फर्किएपछि केहि समय नेपाल क्यान मुभ प्रालीमा कर कन्सल्टिङको काम समेत गरेका थिए । उनै सिएको सुराकीको आधारमा कम्पनीमाथि निर्देशक पोख्रेलले छापा मारेको दाबी स्रोतको छ ।
यो विषयमा सिए आचार्यसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । सिए आचार्य हाल ‘नेपाल कुरी’ नामक कुरियरमा सेवा दिइरहेका छन् । स्रोतका अनुसार नेपाल कुरीका टिम पनि पहिले नेपाल क्यान मुभमा नै आवद्ध थियो । सो कम्पनीबाट बाहिरिएका केहि व्यक्तिहरुले नयाँ कम्पनी खोलेका थिए । नेपाल क्यान मुभ अहिले नेपालमा सफल क्यारियरको काम गरिरहेको संस्था हो । नेपाल कुरीले पनि व्यवसायको रफ्तार बढाउन नसकेको दाबी स्रोतको छ । कर्पोरेट लडाईको बिचमा पर्दा कम्पनी अनुसन्धानमा परेको हो ।
के हो विवाद ?
नेपाल क्यान मुभ प्राली सन् २०१८ मा स्थापना भएको कम्पनी हो । यो कम्पनीले नेपाल तथा विदेशमा सामान ओसार पसारको काम गर्छ । कोभिडको समयमा गति लिएको कम्पनीको दाबीलाई मान्ने हो भने अहिले २ हजार जना राइडरहरुलाई जागिर दिइरहेको छ । देशभर ५०० शाखा स्थापना गरी ५५ लाख जनालाई सामान पुर्याइसकेको छ ।
पछिल्लो समय कम्पनीले वार्षिक २५ करोड रुपैयाँ कर तिर्ने भैसकेको छ । नेपाली कुरियर बजारमा विदेशी कम्पनीसँग प्रतिस्पर्धा गर्दै अब्बल व्यवसाय गरिरहेको छ । कम्पनीको संचालकहरुमा सुदिप आचार्य, गंगा बहादुर थापा र मनिस प्रसाद आचार्य छन् । यी संचालकहरु अधिकांसलाई विभागले पक्राउ गरी हिरासतमा राखेको छ । यस्तै, कम्पनीको डेपुटी सिइओमा संगम पौडेल रहेका छन् । कम्पनीले देश तथा विदेशमा विभिन्न किसिमका सामाग्रीहरु डेलिभरी गर्दै आएको छ ।
यसरी हुने डेलिभरीमा राइडरहरुको भुक्तानीमा भ्याट लाग्ने नलाग्ने विवाद लामो समयदेखि छ । कम्पनीको दाबीलाई मान्ने हो भने चालु वर्षदेखी राइडरहरुको पेमेन्टमा कम्पनीले भ्याट दाखिला गर्न थालिसकेको छ ।
तर एक पटक बुझाइएको भ्याट विवरण सच्याउन मिल्ने कानुन नेपालमा छैन । कम्पनीले भ्याट विवरण सच्याएर कर दाखिला गर्न तयार छ । तर मौजुदा कानुनले इडिटको अप्सन दिएको छैन । यसकारण विभागसँग कम्पनीले सहज रुपमा कर तिर्ने वातावरण मिलाइदिन आग्रह गरिरहेको छ । तर कम्पनीले पनि कर्मचारीहरुलाई पक्राउ गरी थुनामा राखिरहेको छ ।
आन्तरिक राजस्व कार्यालय कोटेश्वरका प्रमुख कर अधिकृत गगन बहादुर बिके राजस्व अनुसन्धान विभागले ‘ल इन्फोर्समेन्ट’को काम गर्ने हो राजस्व अनुसन्धानको गर्ने ठूलो निकाय हो उनीहरुलाई सहयोग गर्ने हाम्रो कर्तव्य भएको बताए । कार्यालय स्रोतका अनुसार यो कम्पनी असल करदातामै पर्छ । कर कार्यालयको प्रणालीमा देखिने कुनै बक्यौता रहेको छैन ।
‘२० कुन्टल तोरी छुटाउन राजस्व अनुसन्धान विभागलाई ३० लाख रुपैयाँ घुस’
इतिहासकै कमजोर महानिर्देशक बने चण्डी घिमिरे, जसको कार्यशैलीले विभाग नै खारेजीमा पर्यो
‘राजस्व अनुसन्धान विभागले प्रधानमन्त्रीको नाम लिएर करोडौं पैसा उठाइरहेको छ’-राजेन्द्र लिङदेन
प्रतिक्रिया दिनुहोस्