काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर विष्टले सरकारले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सार्दा समग्र खेलाडीमाथि अन्याय भएको बताएका छन् । राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै सांसद विष्टले यस्तो बताएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बिहिबार बसेको बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । सांसद बिष्टले अझै पनि खेलकुद सारिएको मितिमा हुने कुनै ग्यारेन्टी नभएको बताए ।
उनले भने, ‘कर्णाली प्रदेशमा हुन लागेको दशौं राष्ट्रिय खेलकुदलाई पछि सारेर त्यहाँका समग्र खेलाडीमाथि अन्याय भएको छ । अझै पनि तोकिएको समयमा खेलकुद हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । दुई वटा संसदीय समितिमा आएर मन्त्री आफैँले चैत्र २३ गते गर्ने प्रतिबद्धता गर्नुभएको थियो । उहाँले त्यो प्रतिवद्धतालाई उल्लङ्घन गर्नुभएको छ ।’
उनले अब तोकिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सन्दर्भमा खेलकुद मन्त्रीले जवाफ दिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्