गण्डकी । कास्कीको मादी गाउँपालिका–१ र माछापुच्छ्रे गाउँपालिका–२ को सङ्गमस्थल ताराहिल टप क्षेत्रमा पर्यटकको सेवा सुविधालाई लक्षित गरी क्याम्पिङ साइटको सुरूआत गरिएको छ ।
नेपालकै पहिलो पर्यापर्यटन पदमार्गको रूपमा परिचित घलेखर्क सिक्लेसको ताराहिल टप क्याम्पिङ विसं २०५१ सालदेखि २०५९ सालसम्म अति व्यस्त रहेकोमा पछिल्लो समयमा सुस्ताउन थालेपछि यसको पुन:सञ्चालन गरी पर्यटकलाई आकर्षित गर्ने अभियान थालिएको हो ।
अभियान स्वरुप नयाँ वर्षको अवसरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्ने यस क्षेत्रका वडाध्यक्षद्वय देवीजंग गुरुङ र गणेश आचार्यको उपस्थितिमा एक्याप प्रधान कार्यालयबाट ताराहिल टप क्याम्पसाईट व्यवस्थापन संयुक्त उप समिति मादी १ र माछापुच्छ्रे २ लाई क्याम्प साईट व्यवस्थापनको लागि एक वर्षे स्वीकृति अनुमति दिइएको छ । उपसमितिले वार्षिक रूपमा नविकरण गर्नुपर्ने हुन्छ ।
ताराहिल टप क्षेत्रमा निर्मित माछापुच्छ्रे २ र मादी १ का दुईवटा क्याम्पिङ साइटको लागि अस्थायी संरचना निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त क्याम्पिङ साइटको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीन बहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, मादी १ का वडाध्यक्ष देवीजंग गुरुङ, माछापुच्छ्रे २ का वडाध्यक्ष गणेश आचार्य, उपसमितिका अध्यक्ष पानबहादुर तामाङलगायतले संयुक्त रूपमा उद्घाटन गरे ।
उप–समितिले एक्याप र स्थानीय तहले तोकिएका कार्यभित्र रही वार्षिक रूपमा एक्याप कार्यालयलाई जग्गा भाडा शुल्क र सम्बन्धित गाउँपालिका दर्ता शुल्क तिरि नविकरण गर्नुपर्ने हुन्छ । माछापुच्छ्रे र मादी गाउँपालिकाबीचको समन्वयात्मक वैठकले ताराहिल टप क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि दुईटा गाउँपालिका र एक्याप त्रिपक्ष्ीाय रूपमा समन्वय गर्नेगरी थप कार्य गर्ने निर्णयसमेत गरिएको छ ।
ताराहिल टप मादी १ को सिक्लेस, पार्चे, खिलाङ, मादी ६ को चिप्ली र तप्राङ यसैगरी मादी सातको थाकहिलबाट सजिलै पुग्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्