Shikhar Insurance
National Life

‘चिसोमा सरुवा रोग र दीर्घकालीन रोगहरु बढी हुन्छन्’ डा सुवास पन्त

सिंहदरबार संवाददाता
२०८१ पुष १५, सोमबार १२:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । देशभर चिसो बढेको छ । चिसोमा सबै उमेर समूह र शारीरिक अवस्था कमजोर भएका व्यक्ति बिरामी पर्ने र अस्वस्थ महशुस गरिरहेका हुन्छन् । कतिपय अवस्थामा यो सामान्य रुघाखोकी लागेर दुई/तीन दिनमा निको हुन्छ ।

कतिपय अस्पताल नै पुगेर उपचार गराउनुपर्ने अवस्थामा पुग्छन् । कस्तो लक्षण देखिए घरेलु उपचार गर्ने र कस्तो लक्षण देखिए अस्पतालमा गएर जाँच गराउने भन्ने दुविधा हुन्छ । हामी यसै दुविधामा परेर सिकिस्त हुन्छौँ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

काठमाडौं मेडिकल कलेज सिनामंगलमा कार्यरत फिजिसियन डा सुवास पन्तले भाइरल ज्वरो र इन्फ्ल्एन्जा ज्वरो छुट्याउन नसक्दा जटिल अवस्थामा पुग्ने गरेको बताए । इन्फ्ल्एन्जा ज्वरोलाई भाइरल ज्वरोको उपचारले नपुग्ने कुरा बुझ्नुपर्ने बताए ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा डा पन्तले रुघाखोकीसहित खान मन नलाग्ने, टाउको दुख्ने, श्वास फेर्न अफ्ठ्यारो महशुस भयो भने अस्पताल गएर उपचार गराउन सुझाव दिए ।

प्रस्तुत छ, काठमाडौं मेडिकल कलेजका फिजिसियन डा सुवास पपन्तसँग गरिएको कुराकानीको सम्पादित अंश ।

देशभर चिसो बढेको छ, चिसोसँगै प्रदुषण पनि बढेको हो ?

प्रायजसो चिसो महिनामा प्रदुषण पनि बढी हुन्छ । चिसोले धुवाँलाई अलिकति बाँधेर राखेको हुन्छ । जाडो महिनामा पानी पर्ने सम्भावना पनि कम हुने भएकाले पनि प्रदुषण उच्च हुने हो ।

चिसो महिनाहरुमा बिहानको समय प्रदुषण उच्च हुने गरेको छ । प्रदुषणको मात्रा पानि कम भएर पनि बढ्छ नै । दोस्र्रो, धुलोहरुलाई ट्रयाप गर्ने सिस्टम भएर बिहानको समयमा प्रदुषण बढ्ने गरेको छ ।

यो समयमा कस्तो खालको संक्रमणको जोखिम रहन्छ ?

जवाफ: संक्रमणबारे प्राय: सबै जनालाई थाहा नै होला । रुघाखोकीको बिरामी अलिकति बढ्ने समय हो यो । रुघाखोकीमा पनि धेरै मान्छेहरु (क्न्फ्युज) अलमल भइरहेका हुन्छन्, कुन रुघाखोकी सामान्य र कुन रुघाखोकी गम्भिर खालको भनेर । मेडिकलको भाषामा भन्दा सामान्य रुघाखोकी हुन्छन्,जसलाई हामीले राइनो भइरस भनेर भन्ने गर्दछौं ।

अर्को रुघाखोकी चाहीँ अलिकति घाँटी पनि दुख्ने, आँखा पनि रातो हुने हुन्छ । त्यसलाई हामी आइडिनो भाइरस भन्ने गर्छौं । तेस्रो रुघाखोकी अलिकति जटिल हुन्छ । त्यसलाई हामी इन्फ्ल्युएन्जा भन्ने गर्छौं । यसले रुघाखोकी पनि ल्याउने, ज्वरो धेरै आउने टाउको दुख्ने र कसैकसैलाई त निमोनिया समेत हुने गरेको छ ।

यो सबै कुरा जाडो महिनामा अलिकति बढी हुने गर्दछ । जाडो महिनामा प्रेसर बढ्ने, मुटुको रोगीको मुटुको धड्कनको गति पनि बढ्ने, पक्षघातको दर पनि बढ्ने हुन्छ । एउटा सरुवा रोग अर्को दीर्घकालीन रोगहरु पनि यही समयमा बढी हुने गर्दछ ।

चिसोको समयमा अस्पतालहरुमा कस्ता खालका बिरामीहरुको चाप बढी हुन्छ ?

जाडो महिनामा हुने भनेकै रुघाखोकी हो । अनि दम र श्वासप्रश्वासका बिरामीहरुको अस्पताल आउने दर बढी हुने गर्दछ । दमको बिरामी नहुनेहरुमा चाहीँ रुघाखोकी बढ्ने, रुघाखोकी ज्वरोमा परिणत हुने, ज्वरो आएपछि खोकी लाग्ने, त्यही रुघाखोकी निमोनियामा परिणत हुने लगायत बिरामीहरु नै यो जाडो महिनामा अस्पताल आउने दर उच्च हुन्छ ।

रुघाखोकीका संक्रमणहरु कसरी छुट्याउने ?

साधारण रुघाखोकीलाई राइनो भाइरस भन्ने गरिन्छ । यो संक्रमण भएपछि खान मन नलाग्ने, नाकबाट पानी आउने हाच्छिउँहरु हुन्छ । अर्को एडिनो भाइरस हुन्छ । यो सबैभन्दा धेरै विद्यार्थीलाई हुने गर्दछ । यसमा विद्यार्थीका आँखा रातो हुने, घाँटी दुख्ने, कसैलाई एकदमै धेरै ज्वरो आउने हुन्छ । तेस्रो इन्फ्ल्युएन्जा ।

साधारण रुघाखोकी र इन्फ्लुन्जामा के फरक हुन्छ भन्दाखेरि यसमा ज्वरो धेरै आउने, ज्वरो आएपछि टाउको पनि दुख्ने, खान पनि मन नलाग्ने, खोकी पनि लाग्ने, खोकी बढ्दा निमोनिया हुने हुन्छ । यो दुई वटामा हामीले छुट्याउनुपर्छ । साधारण रुघाखोकी के हो ?

इन्फ्लुएन्जाका विभिन्न प्रकारहरु हुन्छ । कुनैपनि रुघाखोकी लाग्दा खान मन लागेन, टाउको दुख्यो, धेरै श्वास फेर्न गाह्रो भयो भने यो सामान्य खालको रुघाखोकी होइन भन्ने बुझेर चिकित्सकसँग परामर्श लिने र अस्पताल गएर आवश्यक जाँच गर्ने कुरा चाहीँ बुझ्नुपर्‍यो मान्छेहरुले ।

रुघाखोकीको पहिचान गर्न नसक्दा ठूला स्वास्थ्य समस्याको शिकार हुनुपरेको हो ?

इन्फ्लुन्जाका पनि धेरै प्रकारहरु हुन्छन् । हामी छुट्याउनुपर्ने चाहीँ साधारण भाइरल ज्वरो र इन्फ्लुन्जा ज्वरो हो । इन्फ्लुएन्जा ज्वरोमा अन्य समस्याहरु पनि थपिने गरेका छन् । जस्तै रुघाखोकीमा मानछेलाई खान मन लागिरहेको हुन्छ । खोकी लागेपनि मान्छे सक्रिय नै हुन्छ । टाउको दुख्ने समस्याहरु हुँदैन ।

इन्फ्लुन्जामा यो सबै कुराहरु थपिन्छ । टाउको पनि दुखिराको हुन्छ । मुख नमिठो भइरहेको हुन्छ । खान मन पनि लागिरहेको हुँदैन । जटिल हुँदै जाँदा निमोनियाहरु हुने चाहीँ इन्फ्लुन्जामा हुन्छ । कुन बिरामीलाई कस्तो भएको छ भन्ने कुरामा पनि भर पर्ने गर्दछ ।

जस्तै मुटुको बिरामी, किड्नीको बिरामी, दमको बिरामीलाई चाहीँ साधारण कुराहरु पनि जटिल भइसकेको हुन्छ । अरुलाई घरमै ज्वरो र खोकी आएपनि कुर्न सकिन्छ । तर ति ग्रुपका प्यासेन्टहरुलाई कहिले काँही आजको भोलि नै गाह्रो भइसकेको हुन्छ ।

तपाईलाई कस्तो खालको रुघा लागेको छ ? कस्तो खालको ज्वरो आएको छ ? तपाई कस्तो खालको बिरामी हो त्यसमा पनि भर पर्छ । यदी रुघाखोकी लागेकै अवस्थामा श्वासप्रश्वासमा समस्या आयो, दम बढ्दै गएको छ भने त्यस्तो अवस्थामा कुर्न हुँदैन । अस्पताल गइहाल्नुपर्छ ।

केही नभएको बिरामी सामान्य रुघाखोकी मात्र आएको छ भने त्यस्तो अवस्थामा दुई,तीन दिन कुर्न सकिन्छ । आफूमा कस्तो खालको रुघाखोकी लागिरहेको छ । त्यसमा खान मन छ कि छैन ? कति दिनदेखि ज्वरो आइ रहेको छ ? ज्वरो र खोकी बढेको छ कि छैन ? त्यसले असर पारेको छ कि छैन ? यो सबै छुट्याएर अस्पताल जाने कि घरमै बस्ने भनेर छुट्याउन सकिन्छ ।

हामीले रुघाखोकी संक्रमण भएकै अवस्थामा पनि नियमित कामहरु गरिरहेका हुन्छौं, यसले कस्तो खालको जोखिम निम्त्याउँछ, कसरी सजग हुने ?

रुघाखोकी प्रायजसो सर्छ नै । यो सर्ने माध्यम भनेको खोकी र हाच्छिउँ नै हो । मास्क लगाउन सकेको अवस्थामा त्यो एक अर्कामा सर्ने क्रम कम हुन्छ । हातहरु नाक र मुखमा लगाउँदा स्यानिटाइज गरेको छ भने संक्रमण एक अर्कामा सर्दैन । नत्र सर्ने सम्भावना धेरै नै हुन्छ ।

तपाईले याद गर्नुभएको होला घरमा पनि एकलाई रुघाखोकी लाग्दा प्राय: सबैलाई हुने गर्दछ । त्यहि चिज विद्यालयमा हुँदा चाहीँ हामी सतर्क हुन्छौं । हात धुन्छौं । विद्यालयमा पनि असावधानीका कारण प्राय: सबैमा सरको हुन्छ । अलिकति बच्न पाए यसको जोखिम पनि कम हुन्छ र सर्ने सम्भावना पनि कम हुन्छ ।

यसबाट बच्नको लागि हातधुने, हात धुन सकिँदैन भने स्यानिटाइजर प्रयोग गर्ने गर्नुपर्दछ । मास्क लगाउन त सम्भव नै छैन विद्यालयहरुमा । हामीले मास्क लगाउन नसकेपनि हामी सम्भवत: दूरी कायम गर्नसक्यो भने पनि यो चिजका सर्ने जोखिम पनि कम हुन्छ ।

अरु दीर्घकालीन बिरामीहरुलाई पनि बचाउन सकिन्छ । वृद्धवद्धा र बिरामी मान्छेहरुको इम्युनिटी पावर कम हुने भएका कारण रुघाखोकी लागेको खण्डमा उनीहरु रुघाखोकी मै सिमित हुन पाउँदैन । त्यहि कुरा जटिल भइदिन्छ ।

जाडो याममा वृद्धवृद्धा, गर्भवती महिला, बालबालिकाहरु अलि बढी बिरामी हुन्छन् नि ?

इम्युनिटी कम भएका मान्छेलाई संक्रमणले अलि छिटो समात्ने गर्दछ । साधारण रुघाखोकीमा ब्याक्टेरिया थपिएर फेरि निमोनिया हुने डर पनि हुन्छ । अन्य मान्छेमा साधारण रुखाखोकी भएपनि यी समूहका मान्छेहरुमा संक्रमण बढी हुने चान्स हुन्छ ।

यसरी रुघाखोकी लागेका मान्छेले घरमै बसेर गर्नुपर्ने उपचार विधिहरु के-के हुन सक्छन् ?

मैले कुनैपनि रोगको घरायसी उपचारमा त नलाग्न नै सल्लाह दिन्छु । गाह्रो भयो अथवा ज्वरो बढ्ने बित्तिकै चिकित्सकसँग सल्लाह र परामर्श लिनुपर्छ । हामीले बेलैमा डाक्टरसँग परामर्श लियो भने त्यो चिज बढ्दैन ।

त्यो चिज निमोनियामा परिणत हुँदैन । त्यस्ता खतराबाट बच्नको लागि सल्लाह र परामर्श लिनुपर्छ भन्छु म चाहीँ । हामीसँग एउटा परम्परा जस्तै छ । सामान्य रुघाखोकी लाग्यो भने नजिकैको मेडिकलमा गएर औषधिहरु लिने हुन्छ । त्यस्तो अवस्थामा रुघा र ज्वरो मात्र छ भने केही समस्या भएन । यदि बढेको छ भने एकचोटि चिकित्सकसँग परामर्श त लिनैपर्छ ।

चिसो याममा हाम्रा आनिबानी तथा खानपानमा कस्तो ध्यान दिनुपर्छ रु तपाईको सल्लाह के छ ?

चिसो मौसममा दुई वटा कुरामा एकदमै ध्यान दिन जरुरी छ । चिसो मौसममा बिहान धेरै नै चिसो हुने भएका कारण यस्तो अवस्थामा प्रेसर भएका र दीर्घकालीन रोग लागेका मान्छेहरुले ध्यान दिनुपर्छ ।

पक्षघात, मुटुका बिरामी, दमका बिरामीहरुमा मुख्यत: यो समयमा स्वास्थ्य समस्याहरु बढ्छ नै । बिहान त धेरै नै चिसो हुन्छ । त्यो समयमा त प्रदुषणको समस्या हुने भएका कारणले पनि नहिँड्नु भन्छु बिरामीलाई ।

मिल्छ भने अलिकति घाम लागेको समयमा जहाँ प्रदुषण कम छ त्यो ठाउँमा एक घण्टाजति हिँड्न सल्लाह दिन चाहन्छु । बिहान चिसो धेरै र प्रदुषण बढी हुने भएका कारण जटिल समस्या भएका बिरामीमा झन जटिल समस्या आउने भो । अनि त्यो समयमा रुघाखोकी बढ्ने सम्भावना पनि हुन्छ ।

खानपानका सन्दर्भमा सकेसम्म चिसो हुने खानेकुराहरु खानुभएन । फलफूलहरु खायो भने अलिकति छिटो रोग निको हुने र अलिकति तागत आउने फाइदा हुन्छन् । जाडो महिनामा फलफूलहरु घाममा बसेर खानुपर्‍यो ।

फलफूलमा पनि भिटामिन सीयुक्त खायो भने फाइदा हुन्छ । मौसम र केरा जस्ता खानेकुरा खानु फाइदा जनक हुन्छ । तर बिरामी हेरेर पनि हुन्छ । समग्रमा जे फलफूल खाएपनि घाममा राखेर खानुपर्‍यो र भिटामिन सियुक्त फलफूलहरु खानुपर्‍यो ।

घाँटी दुख्ने भन्ने बित्तिकै टन्सिल भयो भन्ने बुझाई हुन्छ नि, रुघाखोकीको कारण हो कि टन्सिलकै कारण हो भनेर कसरि छुट्याउने ?

घाँटी दुखाईको टन्सिल पनि एउटा कारण त हो । टन्सिलको कारण आएको ज्वरो र अरु ज्वरोमा फरक छुट्याउनु चाहीँ पर्छ । टन्सिल भएर पनि घाँटी दुख्छ नै । टन्सिलमा एकदमै धेरै ज्वरो आउँछ । खानेकुरा निल्नै सकिँदैन । अरु घाँटी दुख्ने समस्यालाई फायर इन्जाटिस भन्छौं ।

निल्न गाह्रो हुन्छ । एकदम धेरै ज्वरो चाहीँ आउँदैन । कुनैपनि घाँटी दुखाई टन्सिल हुँदैन । धेरै ज्वरो आउने, घाँटी दुख्ने, खान मन नलाग्ने टन्सिलमा हुन्छ भने ज्वरो पनि ठिकठिकै आउने तर खान मन लाग्नेलाई चाहीँ सामान्य घाँटी दुखाईको रुपमा लिनुपर्दछ । यसमा मुख्यगरी छुट्याउने कुरा चाहीँ भाइरल ज्वरो र सामान्य ज्वरो नै हो ।

चिसाबाट जोगिन नागरिकलाई तपाईको सुझाव के छ ?

मैले सन्देश दिनुपर्दा चिसो याममा हुने रुघाखोकी छुट्याउनुपर्‍यो । त्यसलाई छुट्याउने एउटा मात्रै तरिका छ । खान मन लागेन र उच्च ज्वरो आयो भने त्यो इन्फ्लुन्जातिर गयो । यदि ज्वरो पनि ठिक्क आएको छ र खान मन पनि लागेको छ भने त्यो भाइरल खोकी भनेर बुझ्नुपर्‍यो ।

अनि अर्को कुरा, खासगरि मर्निङ वाक गर्नेहरुले बिहानको समयमा मर्निङ वाक नगरिदिनु होला । अलिकति घाम लागेको बेला र सडकमा गाडीको चाप कम भएको बेला मात्र मर्निङ वाक गर्नुहोला । बिहान उठेर वाक गर्नैपर्छ भन्ने कन्सेप्ट छ ।

चिसो महिनामा नगर्नको लागि आग्रह गर्दछु । मर्निङ वाक घरमा पनि गर्न सकिन्छ । मनोरञ्जनका क्रियाकलाप पनि घरमा गर्न सकिन्छ । यसका लागि माइण्ड पनि फ्रेस हुनुपर्दछ । मर्निङ वाकमा प्रयोग हुने मुख्य कुरा नै माइण्न फ्रेस हो ।

त्यसका लागि बाहिर गर्नु बढी उपयुक्त हुन्छ । घरमा त एउटै चिजहरु देखिइरहेको हुन्छ । त्यसैले मर्निङ वाकमा फ्रेसनेस पनि जरुरी छ । कसैकसैले घर र अफिसमा हिँड्ने गरेको बताउनु हुन्छ । त्यो हिँडाईले मर्निङ वाकमा फरक नपर्ला । जुन हिँडाई फ्रेस छ, काम बिनाको छ त्यो नै महत्त्वूर्ण छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्