काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले राष्ट्र बैंकसँग वैदेशिक मुद्रा व्यवस्थापनका लागि अनुमति मागेको छ । आइएमएफले अहिलेको भन्दा धेरै आम्दानी राष्ट्र बैंकलाई दिनेगरी डलर मागेको हो ।
अहिले राष्ट्र बैंकले विश्वका विभिन्न देशहरुमा देशलाई आवश्यक नपर्ने विदेशी मुद्रा डलरको रुपमा लगानी गर्ने गरेको छ । देशको आयातको लागि पुग्ने डलर राखेर बढि भएको डलर राष्ट्र बैंकले लगानी गर् गरेको छ । आइएमएफले राष्ट्र बैंकसँग अनौपचारिक रुपमा डलर लगानीका लागि अनुमति मागेको राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले बताए । ती निर्देशकले सिंहदरबारसँग भने, “आइएमएफले राष्ट्र बैंकसँग डलर व्यवस्थापनका लागि अनौपचनरिक प्रस्ताव गरेको छ, यसको लागि उसले अहिले भैरहेको आम्दानी भन्दा बढि प्रतिफल दिने समेत प्रतिबद्धता जनाएको छ। आइएमएफको यो प्रस्तावमा हामीले राष्ट्र बैंकमा छलफल गरिरहेका छौं ।”
डलर लगानीका लागि आइएमएफसँग राष्ट्र बैंकले आइएमएफसँग सम्झौता गर्न सक्छ । भन्सार विभागको तथ्यांक अनुसार चालु वर्षको ९ महिनामा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको आयात भएको छ । यसरी हेर्दा प्रति महिना सरदर १ खर्ब ४५ बराबरको आयात हुने गरेको छ । राष्ट्र बैंकले न्युनतम ७ महिनाको आयात धान्न पुग्ने डलर संचिति गरेर अन्य डलर लगानी गर्ने गरेको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार चैत मशान्तसम्ममा १७ अर्ब ६३ करोड अमेरिकी डलर संचिति छ । यसलाई नेपाली रुपैयाँमा परिमार्जन गर्दा २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ हुन आउँछ । देशलाई आवश्यक पर्ने विदेशी मुद्राको जोहो गरी बाँकी रहेको रकम राष्ट्र बैंकले अमेरिका सिंगाहापुर लगायत देशमा लगानी गर्ने गर्छ ।
राष्ट्र बैंकले डलर लगानी गर्ने एक कार्यविधि बनाएको छ । सो कार्यविधि आन्तरिक प्रयोजनका लागि मात्रै प्रयोग हुन्छ । सो कार्यविधि अनुसार राष्ट्र बैंकमा रहेको ६० प्रतिशत डलर लगानी गर्न पाउनेछ । यसरी डलर लगानी गर्दा कम जोखिम भएको मुलुकमा मात्रै प्रयोग गर्नुपर्छ । यसरी डलर लगानी गर्नका लागि राष्ट्र बैंकले छुट्टै युनिट खडा गरेको छ । जसमा २४ सै घण्टा कर्मचारीहरुले काम गरिरहेका हुन्छन् ।
राष्ट्र बैंकका अनुसार यसरी डलर लगानी गर्न २/३ सिफ्टमा कर्मचारी राखेर रियल टाइम लगानी गर्ने गरिन्छ । यसरी लगानी गर्दा सर्ट टर्म, मिड टर्म र लङ टर्मका लागि लगानी गर्ने गरिन्छ । दीर्घकालिन लगानीबाट धेरै आम्दानी गर्न सकिने राष्ट्र बैंकको भनाई छ ।
डलर लगानी गर्ने कर्मचारीहरुलाई लगानीको लागि मापदण्ड तोकिएको छ । थोरै डलर गर्नका लागि कर्मचारीले नै निर्णय गरी लगानी गर्न सक्छ । यस्तै, लगानीको आकार बढ्दै जादा अनुमति लिनुपर्ने ओहोदा पनि बढ्दै जान्छ । राष्ट्र बैंकको निर्देशक, डेपुटी गभर्नर हुँदै गभर्नरसम्म निर्णयका लागि पुग्ने गर्छ ।
ती निर्देशकका अनुसार मापदण्डले नै डलरको लगानी उच्च सुरक्षित हुने स्थानमा मात्रै लगानी गर्न भनेको छ । राष्ट्र बैंकले गर्ने डलर लगानीमा भने महालेखा परिक्षकको कार्यालयले समेत प्रश्न उठाएको छ । महालेखाले राष्ट्र बैंकले धेरै डलर लगानी गरेर थोरै मात्रै आम्दानी गरेको भन्दै प्रश्न गरेको हो ।
प्रतिक्रिया दिनुहोस्