काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले कम्तिमा एक हप्ता काठमाडौंमै बसेर आन्दोलन गर्नेगरी तयारीमा रहन आह्वान गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आह्वान गरेका हुन् ।
जेठ १५ गतेदेखि राजावादीहरुले राजसंस्था पुन:स्थापना र हिन्दु राष्ट्र कायम नभएसम्म आन्दोलन जारी राख्ने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सरकारले दमनबाटै ठिक लगाउने भन्ने हिसावले र कार्यक्रम अवरोध गर्नेतर्फ सरकार अघि बढ्यो भने प्रतिकार जरुरी हुने बताए ।
सरकारबाट आन्दोलनमा अवरोध गरेको खण्डमा हातमा दही जमाएर नबस्ने चेतावनी दिए । जेठ १५ को आन्दोलन मुल आन्दोलन भएकाले कम्तिमा एक हप्ता काठमाडौं बस्नुपर्छ भन्ने सोचका साथ तयारी गर्न आग्रह गरे ।
अध्यक्ष लिङदेनले भने, ‘हामीले पहिला पहिला गरेका आन्दोलनहरु मुल आन्दोलनको बाटो निर्माणका लागि गरेको आन्दोलन थियो । भोलिको आन्दोलन मुल आन्दोलन हो । भोलि शुरु मात्रै हो । हाम्रो आन्दोलन निरन्तर रुपमा रहन्छ । बाहिरबाट आउनुभएका साथीहरुलाई भोलि बेलुका फर्किने गरी पहिलाको जस्तो बसको, प्लेनको टिकटको व्यवस्था नगर्नुहोला । कम्तिमा एक हप्ता काठमाडौं बस्नुपर्छ भन्ने सोचका साथ तयारीका साथ यहाँ रहनु होला । बस्ने क्रममा कुनै प्रकारका असुविधा नहोस् भन्नेमा हामी सचेत छौँ ।’
अध्यक्ष लिङदेनले जेठ १५ गतेको प्रदर्शन पूर्ण रुपमा शान्तिपूर्ण हुने बताउँदै प्रदर्शनमा हुनसक्ने घुसपैठप्रति सचेत रहनुपर्ने बताए । आन्दोलन हिंसात्मक बनाउन सरकार, सरकारबाट सञ्चालित संयन्त्रहरु क्रियाशिल हुनसक्ने भन्दै सचेत रहन आग्रह गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति हार्ने बेलामा आत्तिएर आएको बोली जस्तो आइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्