Skip to content
Shikhar Insurance
National Life

हिमालहरुको हेरचाहबाट नै मानवताको भविष्य निर्भर छ: वनमन्त्री ठकुरी

Hyundai
NCELL
NIMB

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालहरुको हेरचाहबाट नै मानवताको भविष्य निर्भर हुने बताएका छन् । शुक्रबारबाट काठमाडौंमा शुरु भएको सगरमाथा संवाद कार्यक्रममा बोल्दै वनमन्त्री ठकुरीले कठिन चुनौतिका बाबजुद पनि नेपाल आफ्नो जलवायु नेतृत्वमा दृढ रहेको उल्लेख गरेका हुन् ।

उनले हिममण्डल पृथ्वीको पूर्व चेतावनी प्रणाली भएको उल्लेख गर्दै हिमालमा जति हिउँ पग्लिन्छ त्यसले नै सम्पूर्ण मानवताको भविष्य निर्धारण गर्ने बताए । हमनदीहरूको संरक्षण गर्ने तथा विश्वव्यापी तापक्रमलाई १।५ डिग्री सेल्सियसमा सिमित गर्ने कार्य छनौटको विषय नभइ अनिवार्यताको विषय भएको बताए ।

जलवायु परिवर्तन केवल प्राविधिक चुनौती मात्र नभइ गहन नैतिक परीक्षा भएको बताउँदै ढिलासुस्तिले विपत्तिलाई मात्र निम्तो दिने भन्दै वनमन्त्री ठकुरीले संरक्षण गर्न चाहेका भव्य हिमालहरू जस्तै संकल्पका साथ यस निर्णायक घडीमा उभिने समय भएको जनाए ।

वनमन्त्री ठकुरीले भने, ‘आज हामीले हाम्रा हिमालहरूको हेरचाह कसरी गर्छौं भन्ने कुरामा मानवताको भविष्य निर्भर गर्दछ । हिममण्डल पृथ्वीको पूर्व चेतावनी प्रणाली हो । अहिले यहाँ जे जति हिउँ पग्लन्छ त्यसले सम्पूर्ण मानवताको भविष्य निर्धारण गर्दछ । हिमनदीहरूको संरक्षण गर्ने तथा विश्वव्यापी तापक्रमलाई १।५ डिग्री सेल्सियसमा सिमित गर्ने कार्य छनौटको विषय होइन । यो त पृथ्वीका लागि अनिवार्यता नै हो । यस निर्णायक घडीमा जलवायु परिवर्तन केवल प्राविधिक चुनौती मात्र नभएर हाम्रा लागि एक गहन नैतिक परीक्षा हो ।’

‘विश्वव्यापी तापक्रमलाई १।५ डिग्री सेल्सियसमा सिमित गर्न अझै पनि सम्भव छ – तर सामूहिक, निर्णायक र द्रुत कार्यबाट मात्र । सगरमाथा संवाद केवल विचार विमर्शमात्र होइन । यसले कार्यलाई प्रज्वलित गर्नुपर्नेछ । समय बगिरहेको छ । ढिलासुस्तिले विपत्तिलाई मात्र निम्तो दिनेछ । हामीले संरक्षण गर्न चाहेका भव्य हिमालहरू जस्तै संकल्पका साथ यस निर्णायक घडीमा हामी उभिने बेला आएको छ । सगरमाथा र सबै हिमालहरूको रक्षा गरेर हामीले पृथ्वीको प्राकृतिक धरोहरहरूको मात्र होइन सोको आत्मा र भावी पुस्ताहरूको आशाको पनि रक्षा गर्नसक्छौं । सगरमाथाले हामीलाई यसको उचाइले मात्र नभई यसले प्रतिकात्मक रुपमा प्रश्तुत गर्ने भावनाले समेत प्रेरित गरोस् । एकसाथ रहेर हामी निर्णायक एवं समावेशी तवरले अविलम्व कार्य गरौं’ उनले बताए ।

मन्त्री ठकुरीले हिमालहरूको रक्षा गरेर पृथ्वीको प्राकृतिक धरोहरहरूको मात्र नभइ सोको आत्मा र भावी पुस्ताहरूको आशाको पनि रक्षा गर्न सकिने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्