काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेकी छन् । मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गृहमन्त्री लेखकको राजीनामा माग गरेकी हुन् ।
उनले चैत्र १५ गतेको प्रदर्शनका क्रममा प्रशासनले आवश्यक कामहरु पनि पूरा नगरेको र सरकारले लापरवाही गर्दा युवकको ज्यान गएको बताइन् । गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन नसक्नुभएको भन्दै मार्ग प्रशस्त गर्नुपर्ने बताइन् । उनले प्रहरीको गोलीबाट मारिएका सविन महर्जनको बारेमा सरकारले एउटा भनेको र भिडियोको वास्तविकता अर्कै रहेको बताइन् ।
उनले आगजनी भइरहेको बेलामा नियन्त्रण गर्नका लागि प्रहरी प्रशासन उपस्थित भइ नियन्त्रण गर्नुपर्नेमा त्यसो हुन नसकेको बताइन् ।
उनले भनिन्, ‘आगो नलाग्नुपर्ने ठाउँहरुमा पनि लागेको छ, प्रशासन हुनुपर्ने ठाउँमा उपस्थित भएको छैन, त्यहाँ सरकार चुकेको छ । गोली लागेको कुरा छ । सविन महर्जनको कुरा छ । भिडियो नआउँदासम्म तपाईं हामीलाई थाहा थिएन । उहाँहरुले त दुईतर्फ झडप भएर गोली लागेको भन्ने किसिमको थियो । अहिले भिडियो फुटेजमा रियालिटी अर्कै छ । यसबाटै रियालिटी एउटा र भनिएको अर्को रहेछ भन्ने स्पष्ट हुन्छ । उहाँले सुरक्षा संयन्त्रको जिम्मा लिन नसक्नुभएको स्पष्ट देखिन्छ । उहाँले मार्ग प्रशस्त गर्नुभए हुन्छ, राजीनामा दिए हुन्छ । अरु सक्ने मान्छेलाई जिम्मेवारी दिनुभए हुन्छ । यो सरकारकै पनि मन्त्रीहरु फेरबदल गर्ने, नेतृत्व बदल्ने बेला भए जस्तो हुन्छ ।’
सांसद गौतमले गठबन्धन सरकारले पनि मन्त्री र नेतृत्व परिवर्तन गर्ने बेला भएको बताइन् ।
प्रतिक्रिया दिनुहोस्