काठमाडौं । नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले नयाँ टिम सेट गर्ने क्रमलाई तिब्रता दिएका छन् । केहि कार्यकारी निर्देशकसहितका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका डा. पौडेलले प्रवक्ताको जिम्मेवारी पनि फेरेका छन् ।
जेठ ६ गते राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त भएका डा. पौडेलले महत्त्वपूर्ण विभागका प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका हुन्् ।
उनले पछिल्लो पटक जेठ २० गते मंगलबारका दिन कार्यकारी निर्देशकद्धय रामु पौडेल र दिर्घ रावलको जिम्मेवारी हेरफेर गरे । राष्ट्र भित्र शक्तिशाली मानिने बैंक सुपरिवेक्षण विभाग प्रमुखको जिम्मेवारीमा कार्यकारी निर्देशक दिर्घ रावललाई ल्याईएको छ । उनी केहि दिन अघि मात्रै कार्यकारी निर्देशकमा बढुवा भएका थिए । सो विभागको नेतृत्व गरिरहेका कार्यकारी निर्देशक रामु पौडेललाई भने मुद्रा व्यवस्थापन विभागमा लगिएको छ । डा. पौडेलले रामु पौडेल र दिर्घ रावलको जिम्मेवारी साटासाट गरेका हुन् ।
कार्यकारी निर्देशक प्रदिप पौडेललाई सूचना प्रबिधि विभागमा लगिएको छ, उनी केहि दिनभित्रै अवकासमा जाँदै छन् ।
त्यस अघि नै उनले मानव संसाधन विभागबाट डा. रामशरण खरेललाई अनुसन्धान विभागको जिम्मेवारीमा लगेका थिए भने अनुसन्धान विभागका डा. गुणाकर भट्टलाई गभर्नर कार्यालय तानेका थिए । गभर्नरको दौडमा रहेका कार्यकारी निर्देशक डा. भट्टले दिएको राजीनामा अस्विकृत गर्दै डा. पौडेलले भट्टलाई आफ्नो कोर टिममा भित्र्याएका हुन् ।
डा. खरेलले सम्हालेको मानव संसाधन विभागमा बिश्रुत थापालाई लगिएको छ । थापाले सम्हाल्दै आएको बैंकिङ विभागकमा भने भर्खरै कार्यकारी निर्देशक बनेका डा. डिल्ली पोखरेललाई लगिएको छ ।
यसैबिच, जेठ २१ गते बुधबारका दिन गभर्नर पौडेलले राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक किरण पण्डितलाई दिएका छन् ।
गभर्नरले डा. पौडेलले गरेको यो जिम्मेवारी बाडफाँटलाई आगामी डेपुटी गभर्नरको दौड व्यवस्थापनका रुपमा हेरिएको छ । यहि बर्ष हालका डेपुटी गभर्नरद्धय निलम ढुंगाना र बम बहादुर मिश्रले अवकास पाउनेछन् । र उनीहरुका ठाउँमा नयाँ डेपुटी गभर्नर नियुक्त हुनेछन् । राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकहरुमध्येबाट दुई जना डेपुटी गभर्नर बन्नेछन् । शक्तिशाली एंव महत्त्वपूर्ण विभागको जिम्मेवारी दिईएका कार्यकारी निर्देशकहरुलाई डेपुटी गभर्नरको दौडमा बलियो प्रतिष्पर्धी मानिन्छ ।
गभर्नर डा. पौडेलले डेपुटी गभर्नरको दौडलाई सहज हुने गरि अहिले कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्