काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विदेशबाट कालोधन नेपाल भित्र्याउनका लागि विचौलियाहरुले आफ्नो मान्छेलाई गभर्नर बनाउन चलखेल गरिरहेको आरोप लगाएका छन् । शनिबार राजधानीमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा. कोइरालाले रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको शंका गर्दै यही कारण गभर्नर नियुक्तिमा पनि चलखेल भइरहेको हुनसक्ने आशंका व्यक्त गरेका हुन् ।
‘विप्रेषणका नाममा आइरहेको रकम के हो ? सरकारले अध्ययन गर्नुपर्ने समय भयो । ‘फाइनान्सियल एक्सन टास्क फोर्सको खैरो सूची (ग्रे लिस्ट) मा नेपाल परेको छ, यो विषयमा सरकार गम्भीर हुनुपर्छ ।’, डा. कोइरालाले भने ।
गत महिना मात्रै करिब २ खर्ब रेमिटेन्स भित्रिएको तथ्याङ्क रहेको र बैदेशिक रोजगारमा जाने व्यक्तिले पठाउँदा पनि उक्त रेमिट्यान्स सम्भव नदेखिएको भन्दै रेमिटेन्सका नाममा अवैध पैसा नेपालमा भित्रिरहेको आशंका उनको थियो ।
उनले मुलुक ग्रे लिस्टमा परिसकेको तर सरकार त्यहाँबाट बाहिर ल्याउने योजना बनाउन भन्दा पनि बिचौलिया खुसी पार्न लागिपरेको आरोप पनि लगाए ।
‘मलाई डरलाग्न थाल्यो, कतै राष्ट्र बैंकको गभर्नर नियुक्तिमा पनि त्यो चलखेल त भएको छैन ? मेरो चिन्ता त्यहाँ छ, म भन्न सक्दिनँ, मलाई थाहा छैन त्यो राष्ट्र बैंकको कुरा । सभापतिजीसँग कुरा गर्दा राम्रै मान्छे हुन्छ, ‘डेमोक्रेट नै हुन्छ भनेर आश्वस्त पार्नुभएको छ । म त्यसमा आश्वस्त छु । मलाई ढुक्क छ । तर, यो कुरा सोच्दा कतै कहीँ गडबड त भइरहेको छैन भन्ने चिन्ता छ ।’, डा. कोइरालाले भने ।
गभर्नर नियुक्तिका विषयमा संविधान र कानुन मिचिएको भन्दै नेता कोइरालाले कुशासन, दण्डहीनता, बेरोजगारी वृद्धि भइरहँदा सरकारले यसको न्यूनीकरण गर्नेगरी नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।
‘संविधानलाई मिचियो, यही गभर्नरको केसमा । संविधानमा गभर्नर नियुक्तिको टर्म सकिनुभन्दा एक महिना अघि नै हुनुपर्छ भनेर लेखेको छ । उहाँ (निवर्तमान गभर्नर महाप्रसाद अधिकारी)को कार्यकाल चैत २७ गते नै सकिएको रहेछ । वैशाख बितिसक्यो, जेठमा यो हाल छ । यसरी कति दिन चल्छ देश ?,’ नेता कोइरालाको प्रश्न थियो ।
त्यस्तै, कोइरालाले सुशासन र भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा देशमा दण्डहीनता बढ्दै गएकाले जनतामा असन्तुष्टि देखिएको बताए ।
प्रतिक्रिया दिनुहोस्