काठमाडौं । राष्ट्रिय सभा सदस्य गोमादेवी तिमिल्सनाले समाजवादउन्मुख देशहरुमा औद्योगिक विकास हुँदै गइरहेको भएपनि नेपालमा दातृ देशहरुले बनाइदिएका उद्योगहरु धमाधम बन्द हुन थालेको बताएकी छन् ।
राष्ट्रिय सभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले सरकारले लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग बेवारिसे अवस्थामा छोडेको आरोप लगाइन् । उनले उद्योग सञ्चालन नहुँदा त्यहाँ कार्यरत कर्मचारीहरुले पारिश्रमिक पाउन नसकेको बताइन् ।
उनले भनिन्, ‘समाजवादीउन्मुख देशहरुमा औद्योगिक विकास हुँदै जान्छ । तर हाम्रो देशमा दातृ मुलुकहरुले बनाइदिएका उद्योगहरु धमाधम बन्द हुँदै गइरहेका छन् । लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग बेवारिसे भएको छ । कामदार र कर्मचारी महिनौंदेखि भोकभोकै मरिरहेका छन् । अध्यक्षमार्फत तुरुन्त उद्योग सञ्चालन गरी कर्मचारीमाथि खेलवाड गर्न रोकियोस् भनेर आदेश दिनको लागि आग्रह गर्न चाहन्छु ।’
उनले तुरुन्त उद्योग सञ्चालन गरी कर्मचारीमाथिको खेलवाड बन्द गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
प्रतिक्रिया दिनुहोस्