Shikhar Insurance
National Life

गुल्मीमा करोडौँ मूल्य पर्ने सरकारी सवारी अलपत्र

सिंहदरबार संवाददाता
२०८१ चैत्र ७, बिहीबार १८:०२
Hyundai
NCELL
NIMB

तम्घास । गुल्मीमा करोडौँ मूल्य पर्ने सरकारी सवारी अलपत्र परेका छन् । जिल्ला समन्वय समिति, नेपाल टेलिकम, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री आधुनिकीकरण परियोजना, वन कार्यालय, गुल्मी अस्पताल लगायतका कार्यलयमा सरकारी सवारी साधन अलपत्र अवस्थामा रहेका हुन् ।

मोटरसाइकल, डोजर, चारपाङ्ग्रे सवारी, एम्बुलेन्स लगायतका सवारी प्रयोगविहिन अवस्थामा छन् । तीमध्ये कतिपयको सरकारी कार्यालयमा अभिलेख छैन । २०६८ सालदेखि नेपाल टेलिकम, गुल्मीको कार्यालय अगाडि चेनवाला बुल्डोजर अलपत्र छ । डोजरका अधिकांश काम लाग्ने सामग्रीहरु भने चोरी भएका छन भने बाँकी भाग पनि झारपातले पुरिएको अवस्थामा रहेको टेलिकमका निमित्त प्रमुख शङ्कर मरासिनीले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै जिल्ला समन्वय समितिको प्राङ्गणमा चारवटा सवारी निकै जीर्ण र अलपत्र अवस्थामा थन्किएका छन् । समन्वय समितिको कुनामा बा १ झ ६६० र बा १ झ ६६८१ नम्बरको ल्यान्डरोभर कम्पनीका गाडी थन्किएका छन् । दुवै गाडीको मूल्य तत्कालीन समयमा रु ८० लाखको अनुमान गरिए पनि हालको मूल्य भने करिब तीन करोड पर्ने बताइएको छ ।

समन्वय समितिकै अगाडिपट्टि बा १ झ ६६० नम्बरको गाडी पनि प्रयोगविहीन अवस्थामा छ । करिब नौ लाख खर्चिए सो गाडीलाई पुन: सञ्चालनमा ल्याउन सकिने बताइन्छ । सो गाडी हालको मूल्य करिब एक करोड ५० लाखभन्दा बढी पर्ने अनुमान गरिएको छ । समन्वय समितिकै प्राङ्गणमा नम्बर प्लेट नै नभएको कालो रङको अर्को गाडी पनि मिल्किएको अवस्थामा छ । ल्यान्डरोभर कम्पनीको उक्त गाडीको हालको नयाँ मूल्य डेढ करोड परे पनि खरिद मूल्यको अभिलेख भने कतै भेटिँदैन ।

गुल्मीमा डोजर र चारपाङ्ग्रे सवारी मात्र होइन्, सरकारी मोटरसाइकलको पनि उस्तै अवस्था छ । समन्वय समितिमै यमाहा कम्पनीको दुई लाख ५० हजार मूल्यको मोटरसाइकल प्रयोगविहीन अवस्थामा छ । जिल्ला वन कार्यालयमा बा १ ब ७६४५ नम्बरको होन्डा कम्पनीको मोटरसाइकल थन्किएर बसेको छ । उक्त मोटरसाइकलको मूल्य हालको अवस्थामा करिब छ लाख पर्छ ।

कृषि ज्ञान केन्द्रका पाँच र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका तीन मोटरसाइकल अलपत्र छन् । ज्ञान केन्द्रको नाममा रहेको लु १ ब ९४७, बा २ ख १६७७, लु १ ब ९४७, लु १ ब २७८ र लु १ ब २७९ नम्बरका मोटरसाइकल एकदमै जीर्ण अवस्थामा छन् । अधिकांश यामाहा कम्पनीका मोटरसाइकलको हालको मूल्य तीन/तीन लाखका दरले हिसाब गर्दा करिब १५ लाखका मोटरसाइकल ज्ञान केन्द्रका नाममा अलपत्र रहेको ज्ञान केन्द्रका सूचना अधिकारी शिव बन्जाडेले जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका नाममा बा २ ख ६२८८, लु १ ब ९०० र बा १ ब ९३९९ नम्बरका यमाहा कम्पनीका मोटरसाइकल प्रयोगविहीन छन् ।

गुल्मी अस्पतालका दुई एम्बुलेन्समा घाँस उम्रिएको छ । सिमिचौरमा सात वर्षपहिले दुर्घटनामा परेको लु १ झ २७९ नम्बरको एम्बलेन्सलाई मर्मत गर्नुको सट्टा चौरमा राखिएको छ । अस्पतालमै रहेको लु १ झ २३५ नम्बरको एम्बलेन्सको थप विवरण कतै छैन । दुवै एम्बुलेन्सको हालको मूल्य भन्सार छुट गर्दा करिब २५ लाख पर्छ । उक्त एम्बुलेन्सको व्यवस्थापनबारे कसैले चासो नदिँदा अलपत्र जस्तै छन् । गुल्मीको मदाने गाउँपालिका सिर्सेनी र पुर्कोट दहमा पनि सरकारी नम्बर प्लेटका दुई एम्बुलेन्स प्रयोगविहीन अवस्थामा छन् । पुर्कोट दहमा दुई बर्ष र सिर्सेनीमा चार महिनादेखि एम्बलेन्स प्रयोगविहीन अवस्थामा पुगेको स्वास्थ्य शाखा प्रमुख तीर्थ पन्थीले बताए । यसरी हेर्दा पनि गुल्मीमा करिब आठ करोड ५० लाख मूल्यभन्दा बढीका सरकारी सवारीसाधन अलपत्र अवस्थामा छन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार हाल जिल्लामा लिलाम गर्नुपर्ने अवस्थामा चारवटा गाडी र ३८ वटा मोटरसाइकल छन् । जिल्लामा ल्यापटप, कम्प्युटरलगायत सामग्री पनि लिलाम गर्नुपर्ने अवस्थाका भएकाले तिनीहरुको लिलामी प्रक्रिया अगाडि बढिसकेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए । आर्थिक कार्यविधि नियमावली २०६४ को परिच्छेद ७ मा लिलाम बिक्रीसम्बन्धी व्यवस्था गरिएको छ । ‘लिलामी प्रक्रिया सुरु गर्न हाम्रो कानूनले नदिँदो रहेछ,’ उनले भने । जिल्लाका सवारीको लिलामी गर्न सङ्घीय सरकारले नै कानून बनाउनुपर्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्