काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले तीनकुने भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको कानून, न्याय, तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद प्रधानले यस्तो बताएका हुन् ।
उनले तीनकुनेको घटना सरकारले नियोजित रुपमा गराएको आरोप समेत लगाँदै प्रधानमन्त्री केपी शर्मा ओलीले युवा संघलाई उक्साएर घटना गराएको आरोप लगाए । उनले सरकार आफैंले नियोजित रुपमा घटना घटाएर पार्टीका नेताहरुमाथि झुटो मुद्दा लगाउने काम गरिएको टिप्पणी गरे ।
उनले भने, ‘तीनकुने घटनामा सबै खालको उत्तेजित गर्ने काम सरकारले गरेको भनेर आक्षेप लाइरहेको अवस्था हो । हामीले त्यही भनिरहेका छौं । यो सरकारले नियोजित ढंगले गरेको छ । युवा संघहरु जसलाई प्रधानमन्त्रीले भन्नुपर्छ त्यस किसिमको उक्साहट किन लगाइयो ? पार्टी आफ्नो कार्यक्रमहरु गर्न सक्छ तर यहाँ कसैको आस्थालाई कसैले मार्न सक्ने कुरा होइन नि । अब त्यसमा पनि अस्पतालका बिरामी हेर्न गएका सांसद धवल समशेरलाई पक्राउ गरियो, उपाध्यक्ष रविन्द्र मिश्रलाई पक्राउ गरेर संगठित अपराध, राष्ट्रद्रोहका मुद्दाहरु लगाउने काम गरिँदै छ । यो सबै सुरक्षाकर्मीले गर्दैन । यो सबैले निर्देशित हो ।’
देशमा अशान्ती निम्त्याउनको लागि सरकार लागि परेको समेत उनको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्